
काठमाडौँ : इन्डोनेसियामा भोलीबाट सुरु हुने १८औँ एसियन गेम्समा नेपालले पदकको आश गरेको खेलमध्ये एक हो, प्याराग्लाइडिङ।
एसियन खेल मेलामा पहिलो पटक समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ।
जसमा एसियाका २० राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने तय थियो। तर भारत र फिलिपिन्सले 'विथड्र' गरेपछि अब प्याराग्लाइडिङमा १८ राष्ट्रका खेलाडीहरुले मात्र प्रतिस्पर्धा गर्नेछन्।
'उनीहरुको ओलम्पिक कमिटीले मान्यता नदिएपछि भारत र फिलिपिन्सले एसियाड प्याराग्लाइडिङ नखेल्ने निर्णय गरेको छ।' इन्डोनेसिया एरो स्पोर्ट्स फेडेरेसन (एपएएसआई) का पव्लिक रिलेसन म्यानेजर टागोर सिएगोनले भने।
एसियाडमा प्याराग्लाइडिङतर्फ अफगानिस्तान, चीन, कुवेत, इन्डोनेसिया, हङकङ, इरान, जापान, कोरिया, मलेसिया, थाइल्याण्ड, लाओस, मंगोलिया, नेपाल, पाकिस्तान, सिंगापुर, चाइनिज ताइपेई, कतार र साउदी अरेबियाका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्याराग्लाइडिङमा महिला र पुरुष दुवैतर्फ इन्डिभिजुएल अक्कुरेसी, टिम एक्कुरेसी र टिम क्रसकन्ट्री विधामा प्रतिस्पर्धा हुनेछ। नेपालले पनि यी सबै विधामा प्रतिस्पर्धा गर्नेछ।
प्याराग्लाइडिङमा नेपालबाट ५ पुरुष र ३ महिलासहित ८ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। यस खेल अगष्ट २२ देखि २९ सम्म इन्डोनेसियाको वेष्ट जाभास्थित गुनुङ मासमा हुनेछ।