PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

मोडलिङमा लाग्दा समाज र संस्कृति बिगारेको आरोप खेपेका प्रशान्त भन्छन् 'फेसन अब कल्चर बन्दैछ'



रीना मोक्तान

मोडलिङमा लाग्दा समाज र संस्कृति बिगारेको आरोप खेपेका प्रशान्त भन्छन् 'फेसन अब कल्चर बन्दैछ'

'आज नेपाली फेसनमा हजारौँ छन्। तर, नेपालको सिङ्गो फेसन इतिहासलाई मैले बोकेको छु। सिइओ हुन्थेँ होला, त्यो मेरो रुचि थिएन।'

दाबीसहित कुराकानी अघि बढाउँछन् प्रशान्त ताम्राकार। २५ वर्ष फेसनकै दुनियाँमा बिताएका उनले फिल्मको यात्रा सुरु गरेको धेरै भएको छैन। रमेश उप्रेतीको फिल्म 'ऐश्यर्य'मा अभिनय गरेपछि उनको चर्चा चुलियो। एकपछि अर्को फिल्महरूमा अनुबन्धित हुन थाले। प्रशान्त अहिले फिल्ममै व्यस्त छन्।  

डेब्यु ५ वर्षअघि 'मुखौटा'बाट गरेका थिए। तर सफल भएन। फिल्म क्षेत्रमा डेब्यू त्यसपछि उनले 'सम्बोधन'मा पनि काम गरे। दोस्रो फिल्म पनि नचलेपछि उनले फिल्म क्षेत्रमा समय दिने जाँगर गरेनन्। 

लामो अन्तरालपछि गरेको 'ऐश्वर्य' भने उनको फिल्मी करियरको कोशेढुङ्गा बन्यो।

यो वर्ष मात्र उनी अभिनीत चार फिल्म रिलिजको लाइनमा छन्।  'क्याप्टेन', 'रणवीर', 'कस्मिक लभ', 'मिस्टर मयंक'।

'मैले काम गरेको फिल्महरू व्यावसायिक हिसाबले असफल भए होलान् तर समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाए। निरन्तरता दिएको भए अझै केही हुन्थ्यो होला तर म फेसनमै रमाएँ', उनी भन्छन्।

'नेपालको फेसन इतिहास मैले बोकेको छु'

सन् १९९१, मोडलिङ नेपाली समाजको लागि उस्तो सहज, सामान्य र व्यावसायिक बनेको अवस्था थिएन। प्रशान्त १९ वर्षको थिए जब उनले मोडलिङको बाटो रोजे। अडिटर रहेका बुवाले सधैँ सिइओ बन्नुपर्छ भने। उनी पनि बुवाले आफ्नो लागि देखिदिएको सपनालाई नै मान्न तयार थिए। तर रुचि मोडलिङतिरै मोडियो।

'अधिकांश नेपालीलाई फेसन भनेको के हो थाह नै थिएन। त्यसैले बुवा खुसी हुनु भएन', पुराना कुरा सम्झँदै भन्छन्,'म आफैंलाई पनि आफू कुन बाटो हिँड्दै छु भन्ने त थाहा थियो तर कहाँ पुग्छु त्यो थाहा थिएन।'

बाटो सजिलो थिएन। वर्षमा तीन चारपटक मात्र आयोजना हुने र्‍याम्प सो, 'जिरो पारिश्रमिक'- यो सब भोगेर पनि मोडलिङमै लागेँ। भन्छन्, 'मैले नेपालको फेसन इतिहासलाई बोकेको छु।'

मोडलिङ गरिरहँदा उनलाई फिल्महरूको अफर नआएका होइनन्। तर त्यतिखेर फिल्म क्षेत्र पनि व्यावसायिक नहुनुले उनलाई आकर्षित गरेन।

'फाइट, एक्टिङ सिक्न आफैंले रकम खर्च गर्नुपर्ने समय थियो। फिल्मकर्मी ट्याक्सी भाडा दिने कुरा मात्र गर्थे। शून्य आम्दानी। आस मर्‍यो।'

अहिले फिल्मसँगै फेसन क्षेत्रमा आएको व्यावसायिक परिवर्तन देखेर भने उनी दङ्ग छन्।

फेसन क्षेत्रमा आएको परिवर्तनको हिस्सा भने आफूलाई पनि मान्छन्। भने 'आज फेसन क्षेत्रमा हजारौँ मानिस आवद्ध छन्। एक्लै हुँदाबाट सुरु गरेँ। अहिले हजारौँको ट्रेनर, फेसन इभेन्ट म्यानेजर, कोरियोग्राफरको रुपमा काम गरिरहेको छु।' उनी आफूले फेसन क्षेत्रमा निरन्तरता दिनुलाई पनि सफलता मान्छन्।

मोडल बन्ने पागलनपनका कारण अप्ठ्याराहरू भोगे। नेपालको मोडलिङ र मोडलिङमा उनी सँगसँगै जस्तो हुर्किए। परिवारबाट समर्थन थिएन। अरूका लागि पनि नौलो विषय थियो। जब १९९३ मा 'खुब सुरत' नामक  भारतीय टिभी कार्यक्रम उनको फोटो आयो तब एक किसिमको तरङ्ग फैलियो। उनलाई 'मोडल अफ द विक' सेक्सनमा 'प्रशान्त ताम्राकार, नेपाली मोडल' भनेर देखाइएको थियो। मोबाइलको प्रचलन थिएन। विदेशमा भएका नेपालीको लागि उनी गर्वको विषय बने। नेपालमै पनि स्क्रिनमा उनलाई देख्नेहरूले वाहवाही गरे। 'ल्यान्डलाइनमा फोनबाट बधाईको ओइरा आउँदा पहिलोपटक मोडलिङप्रति परिवार सकारात्मक देखिए।' 

त्यसपछि भारतको 'ग्रेभिएरा म्यान अफ १९९४'मा पनि उनी सहभागी भए। भारतको स्थापित मोडलिङ बजारबाट धेरै सिकेर फर्किएको बताउँछन् उनी। 'अनुभव बटुलेर नेपाल फर्किएँ र कोरियोग्राफी सुरु गरेँ।'

प्रशान्तले म्यान हन्ट सिंगापुर ११९५ मा पहिलोपटक अन्तर्राष्ट्रिय कन्टेस्टमा सहभागी जनाए। सिंगापुर जानका लागि साथीहरुसँग लुगा मागे, जुत्ता मागे। 'लाज पनि लाग्यो। तर के गर्ने?  पैसा थिएन।'

३६ प्रतिस्पर्धीमध्ये टप २० सम्म पुगे।

'कन्टेस्टेन्ट त्यहाँको हरेक पार्टीमा फरक अनि नयाँ कोट लगाउँथे। म मागेको कोट, कत्ति कार्यक्रममा एउटै कोट दोहोरियो। कत्ति लुगा त म्याच नै भएन', नोस्टाल्जिक हुँदै अभावको कथा सुनाउँछन्,'स्टेजमा पनि अवस्था त्यस्तै। तर जित्नुभन्दा ठूलो कुरा १९ वर्षको ठिटो मञ्चमा नेपाली झण्डा बोकेर उभिनु हो भन्ने सोचेर चित्त बुझाएँ।'

अब कुनै नेपालीले विदेशी प्रतियोगितामा आफूले पाएजस्तै लाज, दु:ख नपाउन् भन्ने लागेर कोरियोग्रोफी थालेको बताए।

उनले फेसन सुरु गर्दा उनीसँगै धेरै जनाले सुरु गरेका थिए। तर ती सबैले निरन्तरता दिएनन्। भने, 'म थाकिनँ। सायद त्यसैले लामो रेसको घोडा बनेँ।' उनीसँगै मोडलिङ सुरु गरेर निरन्तरता दिने रचना गुरुङ शर्मा पनि अहिले मिस नेपालकी कोरियोग्राफर हुन्।

प्रशान्तले १९९७ मा मिस नेपालमा पहिलोपटक कोरियोग्राफर भएर काम गरे। त्यस्तै १९९८ मा रेखा थापा मिस कोशी हुँदा उनले नै प्रतियोगीहरूको कोरियोग्राफ गरेका थिए। त्यस्तै २०१२ र २०१३ को मिस नेपालमा पनि उनले नै कोरियोग्राफी गरे।

मोडल हुँदा होस् वा प्रशिक्षक आर्थिक रुपमा चित्त बुझाउने ठाउँ निकै पछिसम्म नरहेको बताउँछन्। जसका कारण उनले इन्डस्ट्री छोड्ने योजना समेत नबनाएका होइनन्।

'सुरुवातमा चुनौतीभन्दा पनि खतरा धेरै थिए। जीवन चलाउन गाह्रो तर आफूले रोजेको बाटो मोडेर अन्त कता हिँड्नु?', उनी सोध्छन्।

छिमेकीले सोध्थे के गर्छौ भनेर?

मोडलिङ जवाफ हुने गर्थ्यो।

प्रश्न बढ्थ्यो, मोडलिङ भनेको?

'मोडलिङबारे समाजलाई थाहा नै थिएन। कति वर्ष त समाजलाई मोडलिङ भनेर बुझाउन नै लाग्यो।'

समाज फेसनबारे उदार थिएन। कत्तिका अभिभावकलाई फेसनबारे बताएर कन्भिन्स गरेर उनीहरुका छोराछोरीलाई फेसनमा ल्याएको पनि सुनाउँछन्।

मिडियाले समेत 'तिघ्रा देखाएर हिँडे'जस्तो हेडलाइन दिन्थ्यो। अनि कसले पठाउँछन् इन्डस्ट्रीमा आफ्ना छोराछोरीलाई?

समाज, संस्कृति बिगारे भन्नेजस्ता आरोपहरू पनि खेपेर आएका उनी अहिले ढुक्क छन्। 'फेसन कल्चर' नै बढ्दो छ।

उनले सुरु गरेको क्षेत्रलाई समाज, मिडिया र व्यक्तिले सकारात्मक रूपमा लिन थालेका छन्। यस्तो परिवर्तन आउला भनेर उनले त्यतिखेर सोचेका पनि थिएनन्।

भने- 'सायद मेरो जीवन नेपालको फेसन क्षेत्रमा योगदान दिने थियो। त्यतिखेर मलाई विदेश जाने मौका पनि नआएको होइन। सिए पढ्ने अवसर नभएको होइन। आज बैंकको सिइओ हुन्थेँ होला। विदेशको नागरिक भएर बस्थेँ होला।

तर नेपालको फेसनको संरचना देख्दा खुशी छु। आज यो क्षेत्रमा हजारौँ छन्। एकदम खुशी लाग्छ।'

आज उनको उमेर अनि अनुभवसँगै कालो कपाल सेता भएको छ। तर पनि उनको सेतो कपाल नै फिल्म क्षेत्रमा फेसन बनेको छ।

उनलाई बलिउडबाट कोरियोग्राफीको अफर पनि आएको थियो। तर उनले नेपालकै लागि सोचे। भने 'फर्केर ती दिनलाई हेर्दा खुशी लाग्छ। मैले कोरेको बाटोमा आज कत्ति जना हिँड्दछन्। कुद्दैछन्। म साथ दिन तयार छु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell