
काठमाडौँ : यही अगष्ट २९ (भदौ १३ गते) मलेसियामा हुने एसिया कप छनोटको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलंकामा तयारी गर्ने भएको छ।
नेपाली टोली आगामी सोमवार श्रीलंका प्रस्थान गर्दैछ। श्रीलंकामा एक साता रहँदा नेपालले त्यहाँको क्लबसँग तीन अभ्यास खेल खेल्ने तालिका छ।
नेपालले अगष्ट २२ मा पानागोडामा आर्मी क्रिकेट टिमसँग खेल्नेछ। यस्तै अगष्ट २४ मा ब्लुमफिल्डसँग उसैको मैदानमा खेल्नेछ भने अगष्ट २६ मा कोल्टसँग अन्तिम अभ्यास खेल खेल्नेछ।
नेपाली क्रिकेट टोली तीन अभ्यास खेलपछि श्रीलंकाबाटै अगष्ट २७ मा मलेसिया प्रस्थान गर्नेछ।
एसियाका टेष्ट खेल्ने बाहेक उत्कृष्ट ६ एसोसिएट टोलीले खेल्ने एसिया कप छनोट मलेसियामा अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म हुनेछ।
जहाँ ओडिआई मान्यता प्राप्त नेपाल र युएईसहित हङकङ, ओमान, सिंगापुर र आयोजक मलेसियाबीच राउण्ड रोविनमा प्रतिस्पर्धा हुनेछ। लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच फाइनल हुनेछ र त्यस खेलको विजेता सेप्टेम्वरमा युएईमा हुने एसिया कपको लागि छनोट हुनेछ। छनोटको विजेताले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने अवसर पाउनेछ।
एसिया कप छनोटको लागि पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा भइसकेको छ। जसमा ब्याट्सम्यान विनोद भण्डारी र अलराउण्डर सागर पुनले झण्डै ८ महिनापछि राष्ट्रिय टिममा कमब्याक गरेका छन्। क्याम्पमा रहेका १९ खेलाडीबाट अन्तिम १५ खेलाडी छनोट गरिएको हो। अगष्ट १ र ३ मा नेदरल्याण्ड्ससँग ओडिआई सिरिज खेलेको टिममा रहेका १५ मध्ये शरद भेषावकर र शक्ति गौचन छनोट खेल्ने टिममा छैनन्। शक्तिले सन्यास घोषणा गरिसकेका छन् भने शरद चोटका कारण क्याम्पमै परेका थिएनन्।
नेपालले अगष्ट २९ मा ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ।
श्रीलंकामा नेपालको अभ्यास खेल तालिका:
अगष्ट २२ : नेपाल vs आर्मी क्रिकेट टिम (पानगोडा मैदान)
अगष्ट २४ : नेपाल vs ब्लुमफिल्ड (ब्लुमफिल्ड मैदान)
अगष्ट २६ : नेपाल vs कोल्ट (कोल्ट मैदान)
एसिया कपमा नेपालको खेल तालिका:
अगस्ट २९ : नेपाल Vs ओमान (बायुमास ओभल मैदान)
अगस्ट ३० : नेपाल Vs युएई (किनरारा ओभल मैदान)
सेप्टेम्बर १ : नेपाल Vs मलेसिया (बायुमास ओभल मैदान)
सेप्टेम्बर २ : नेपाल Vs सिंगापुर (युकेएम ओभल मैदान)
सेप्टेम्बर ४ : नेपाल Vs हङकङ (युकेएम ओभल मैदान)
सेप्टेम्बर ६ : फाइनल ( किनरारा ओभल मैदान )