PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड: यस्तो रह्यो आइतबार नेपालको प्रदर्शन



पहिलोपोस्ट

एसियाड: यस्तो रह्यो आइतबार नेपालको प्रदर्शन

१८ औं एसियाली खेलकुद अन्तर्गत पुरुष ब्याडमिन्टनको टिम स्पर्धामा नेपाल आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ।

नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्‍यो। नेपालबाट रत्नजित तामाङ, दिपेश धामी, नवीन श्रेष्ठ र विकास श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए। नेपालले क्वाटरफाइनलमा मंगलबार चाइनिज ताइपेईंविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

महिला टिम इभेन्टमा भने नेपाल चुक्यो। माल्दिभ्सले नेपाललाई ३–२ को सेटमा हरायो। नेपालबाट नङशल तामाङ, जेशिका गुरुङ, रशिका महर्जन र अमिता गिरीले खेलेका थिए।

 

कुस्तीमा नेपालको चुनौती समाप्त

कुस्तीमा नेपालको चुनौती समाप्त भएको छ। कुस्तीमा नेपालबाट ३ पुरुष खेलाडीले भाग लिएका थिए। आइतबार तीनै खेलाडीको पराजयसँगै नेपालको चुनौती समाप्त भएको हो।

५७ केजीमा भागवत शाह तेली इरान, ७५ केजीमा सुरेश चुनारा जापान तथा ६५ केजीमा सरोज यादव मंगोलियाका खेलाडीसँग पहिलो चरणमै पराजित भए। तीनै खेलाडी १०–० ले पराजित भए।

 

तेक्वान्दो: तेक्वान्दोको व्यक्तिगत पुम्सेतर्फ पुरुषमा नेपालका कमल श्रेष्ठ र महिलामा पार्वती गुरुङ पराजित भएका छन्। कमल र पार्वती दुबै चाइनिज ताईपेईका खेलाडीसँग चुके।

महिला टिम पुम्सेको क्वाटरफाइनलमा पनि नेपाल चाइनिज ताइपेईसँ पछि पर्‍यो। त्यसअघि उज्वेकिस्तान टोली डिस्क्वालिफाई घोषित भएपछि नेपाल क्वाटरफाइनलमा सिधै प्रवेश गरेको थियो।

सोमबार महिला ५३ केजीमुनि निमा गुरुङ, ६७ केजीमुनि संगीता बस्याल र पुरुष ५८ केजीमुनि सागर गुभाजुले प्रतिस्पर्धा गर्नेछन्।

सुटिङ: नेपालले मिक्स टिम इभेन्टमा समग्रमा २२ औँ स्थान हासिल गरेको छ। २२ राष्ट्रका खेलाडी सहभागी मिक्स टिम इभेन्टमा सुस्मिता नेपाल र सुशे चौधरीले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेका थिए।

४३६ पुर्णाङ्कमा सुस्मिताले ४०३.५ र सुशे चौधरीले ३७२.९ अंकको प्रदर्शन गरे। अब सुस्मिता र सुशेसहित कल्पना परियारले व्यक्तिगत १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछन्।

कबड्डी: पुरुष कबड्डीको समूह ‘बी’ को लिग खेलमा आयोजक राष्ट्र इन्डोनेसियाले नेपाललाई ३३–२९ ले हरायो। ११ राष्ट्र सहभागी पुरुष कबड्डीको समूह ‘बी’ मा नेपाल, इन्डोनेसियासहित जापान, इरान, मलेसिया र पाकिस्तान छन्। नेपालले मंगलबार जापान, बुधबार इरान र मलेसिया तथा अगष्ट २३ तारिखमा पाकिस्तानविरुद्ध खेल्ने कबड्डी मुख्य प्रशिक्षक तारासिंह भाटले जानकारी दिए।

फुटबल: पुरुष फुटबलमा नेपाल समूह चरणबाटै बाहिरिएको छ। समूह ‘डि’ को आफ्नो अन्तिम खेलमा नेपाली यु–२३ टोली पाकिस्तानको यु–२३ टोलीसंग २–१ गोलले पराजित भयो। चार राष्ट्र रहेको उक्त समूहमा नेपाल यसअघि जापानसंग १–० र भियतनामसंग २–० गोलले पराजित भएको थियो।

फेन्सिङ: फेन्सिङमा आइतबार दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए। महिलाको साबर स्पर्धामा कमला श्रेष्ठ र रविना थापा पराजित भए।

लनटेनिस: लनटेनिसको पुरुष सिंगल्समा नेपालका संरक्षकभूषण वज्राचार्य आयोजक इन्डोनेसियासंग २–६ र २–६ तथा अभिषेक बाँस्तोला भियतनामसंग ६–१, ३–६ र ३–६ को सोझो सेटमा पराजित भए। महिला सिंगल्समा भियतनामले माहिका राणालाई ६–० र ६–१ त्था हङकङले मायांका राणालाई ६–० र ६–१ को सोझो सेटमा पाखा लगाए।

मिक्स डबल्समा पनि माहिका राणा र प्रणव खनालको जोडी ६–० र ६–१ तथा संरक्षक र एनी माथेमाको जोडी ६–१ र ६–० को सीधा सेटमा पराजित भए। दुबै जोडी हङकङका खेलाडीसँग चुके।

उसु: पुरुष थाउलोको छान् छ्वानमा नेपालका विजयी सिन्जालीले ८।२५ अंक जोड्दै समग्रमा १५ औं स्थान हासिल गरे। यो स्पर्धामा १८ खेलाडी सहभागी थिए।

निमा घर्ती मगर १२ खेलाडी सहभागी नान् छ्वानमा १० औं स्थानमा आइन्। निमाले नान् ताउ भने सोमबार प्रतिस्पर्धा गर्नेछिन्।

महिला सान्सौँको ५२ केजीमा नेपालकी जुनी राई भियतनाम, पुरुष ६० केजीमा नेपालका मंगलप्रसाद थारु इन्डोनेसिया तथा पुरुष ७० केजीमा नेपालका चित्रसिंह ठकुरी दक्षिण कोरियाका खेलाडीसँग पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell