काठमाडौं : पेट्रोलपम्प, अस्पताल, जग्गा प्लटिङ लगायतका क्षेत्रमा नेपाली सेनाले व्यापार नगरेको दावी गरेको छ।
बुधवार पत्रकार सम्मेलन गर्दै सेनाले व्यापार नगरेको बताउँदै सैनिकको कल्याणकारी काम गरेको दावी गरेको हो। पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले भने, 'पेट्रोल पम्प वा अस्पतालका नाममा सेनाले कुनै पनि व्यापार/व्यवसाय गरेको छैन। सेनाले विपद् र संकटको अवस्थामा सरकारबाट नै स्वीकृत लिएर नै पम्प संचालनमा ल्याएका हो।'
नेपाली सेनालाई सरकारले देशभर १० वटा पेट्रोल पम्प खोल्न अनुमति दिएको प्रवक्ता भण्डारीले जानकारी दिए। सेनाले काठमाडौं, ललितपुर, बुटवल र खैरेनीटारमा पेट्रोलपम्प संचालन गर्दै आएको छ।
सैनिक कल्याणकारी कोषले अहिले पेट्रोल पम्प, अस्पताल, सैनिक विद्यालय सञ्चालन गर्दै आएको छ। कल्याणकारी कोषमा २०७५ आसार मसान्तसम्म ४१ अर्ब २९ करोड ७९ लाख ६७ हजार मौज्दात रहेको सेनाले जनाएको छ। मौज्दातमध्ये ३५ अर्ब ७७ करोड २४ लाख ५९ नगद रहेको छ भने बाँकी ५ अर्ब ५२ करोड ५७ लाख ८७ हजार भने सेनाले लगानी गरेको छ।
सेनाले गत आर्थिक वर्षमात्र व्याज आम्दानीको कर मात्रै ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ।
सेनाले कीर्तिपुर र दुवाकोटमा जग्गा खरिद गरेको छ। यसरी लिएको जग्गा सेनाले प्लटिङ गरेको हो। सुनसरीको इटहरीमा पनि सेनाले यसैगरी प्लटिङ गरिसकेको छ। कोषका निर्देशक सहायक रथी तथा निर्देशक रघु भण्डारीले सेनाले जग्गा व्यापारका लागि नभएर सैनिकको आवासका लागि लिएको दावी गरे। निर्देशक भण्डारीले भने, ‘अवकाशपछि सैनिकहरुले टाउको लुकाउन टिनको छानोमात्र बनोस् भनेर यो योजना ल्याएका हौं। यसलाई व्यापार भन्न मिल्दैन।'