PahiloPost

Mar 4, 2025 | २० फागुन २०८१

'खाँदै नखाएको बिषले ज्युँदै मार्‍यो...'



सविन ढकाल

'खाँदै नखाएको बिषले ज्युँदै मार्‍यो...'
प्रतीकात्मक तस्बिर

काठमाडौं : शिवराम (नाम गोप्य राख्न चाहेकाले) यतिखेर धेरै खुसी छन्। उनको खुसीसँगै दुखेसो पनि उत्तिकै लुकेको छ। कोरियामा रोजगारीका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा पास हुनु उनका लागि चानचुने खुसीको कुरा थिएन। धेरै मेहनतपछि उनको कोरिया जाने सपना पूरा हुँदै थियो। ५० हजारले परीक्षा दिएकोमा पास गर्ने जम्मा पाँच हजारभित्र पर्नु चानचुने मेहनतको कुरा थिएन। देश, परिवार र आफन्तलाई छोड्नु परेकाले कता कता दु:खी पनि। सुख र दुख सिक्काका दुई पाटा थिए उनका लागि।

शिवरामको सिक्काको सुखद् पाटो धेरै समय टिक्न सकेन। अनि देश, परिवार, साथीभाइ छोड्नुपर्ला भनेर दु:खी पनि हुनु परेन। उनीमाथि एकाएक बज्रपात आइलाग्यो। ‘खाँदै नखाएको बिषले ज्युँदै मार्‍यो…’ भने झै। जब विदेश जानका लागि उनी चारित्रिक प्रमाणपत्र बनाउन प्रहरीकहाँ पुगे, उनको होस ठाउँमा रहेन। शिवरामको भागमा राम्रो चारित्रिक प्रमाणपत्र होइन, एकाएक अपराधीको मुखडा देखा पर्‍यो। कानुनत् शिवराम माथि बैङ्किङ कसुर गरेको आरोप लागेको रहेछ। 

शिवरामले कुनै पनि बैंकमा कारोबार समेत गरेका थिएनन्। ऋण लिनु त परैको कुरा, कसुर भएको बैकमा खाता समेत थिएन। 'एपेक्स बैंक घोटाला काण्डमा' उनको नाम रहेछ। शिवरामको नाममा १० लाख रुपैयाँ ऋण! 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले बैक घोटाला प्रकरणमा अनुसन्धान गरिरहेको थियो। उनी प्रहरीकोमा पुगे। आफूले ऋण नलिएको कुरा सुनाए। शिवरामको कुरा प्रहरीले सुन्यो। तर, प्रहरीले उनलाई सुनेकै भरमा उन्मुक्ति दिन सक्ने थिएन। प्रमाणले शिवरामलाई तल पारिसकेको थियो। बैकमा ऋण लिन दिएका सबै कागजपत्र शिवरामकै थिए। शिवरामले आफ्नो कागजात नभएको नकार्न सकेनन्।

प्रहरीले अनुसन्धान गर्‌यो। हेर्दै जाँदा के देखियो भने शिवरामको कागजपत्र प्रयोग गरेर अरूले नै ऋण लिएका रहेछन्। व्यूरोका डिआइजी नारायणसिंह खड्का शिवरामको कागजपत्र प्रयोग गरेर ऋण लिएको प्रस्टै देखिएको बताउँछन्। 'अरू नै प्रयोजनका लागि बुझाएको कागजपत्र र फोटोका कारण उनी ‘फेक ऋणी’ बने,' खड्काले सुनाए। 

कागजपत्र शिवरामको भएकाले प्रहरीले अनुसन्धान फाइल जिल्ला अदालतमा पेस गर्‍यो। अदालतले शिवरामसँग ३ लाख घरौटी मागेर तारिकमा छोडेको छ। शिवरामलाई खाँदै नखाएको बिषले मार्‌यो। उनको कोरिया जाने र कमाउने सपनामाथि निषेधाज्ञा जारी भयो। 

एपेक्स बैक घोटला प्रकरणमा १३७ अझै फरार रहेका छन्। थाहा छैन ती मध्ये कति सक्कली छन्, कति नक्कली? उनको अवस्थालाई नजिकबाट नियालेका डिआइजी खड्का सुझाउँछन् - आफ्ना महत्त्वपूर्ण कागजपत्र सुरक्षित राख्नुस्, सबैलाई विश्वास नगर्नुस्। 

यही काण्डका दुई समाचार पनि पढ्नुस्: 
 

आफन्तै-आफन्त मिलेर डुबाए एपेक्स बैंकः यसरी भयो परिवारकै नेटवर्किङ, २१ समातिँदा १३७ अझै फरार

खोलाको बगर र नक्कली ऋणीबाट अर्बौंको कमाइ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell