PahiloPost

May 16, 2026 | २ जेठ २०८३

नेपाल टुर इन श्रीलंका : पहिलो अभ्यास खेलमा आरिफ र बलरले जिताए नेपाललाई



पहिलोपोस्ट

नेपाल टुर इन श्रीलंका : पहिलो अभ्यास खेलमा आरिफ र बलरले जिताए नेपाललाई
८९ रन बनाएका आरिफ शेख, फोटो : रमन शिवाकोटी

काठमाडौँ : मलेसियामा अगष्ट २९ बाट हुने एसिया कप छनोटको तयारीका लागि हाल श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलो अभ्यास खेल जितेको छ।

कप्तान पारसलाई आराम दिइएको खेलमा नेपालले श्रीलंकाको आर्मी क्रिकेट क्लबलाई ६७ रनले हरायो। नेपालको जितमा आरिफ शेखले ब्याटिङमा ८९ रन बनाए। यस्तै १९४ रन डिफेण्ड गर्ने क्रममा सोमपाल कामी र बसन्त रेग्मीले ३-३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए।

पानगोडामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेपनि आरिफको ८९ रनको मद्दतमा ४८.४ ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो।

५७-५, ९१-७ मा रहेको नेपालको स्कोर उकास्न आरिफले एक छेउबाट सम्हालियर खेले। ११८ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे।

यस्तै कप्तान ज्ञानेन्द्र मल्ले २१ तथा विनोद भण्डारी र बसन्त रेग्मीले समान १६ रन जोडे।

श्रीलंकन टिमका मदुसान फर्नान्डोले ३ तथा सन्जिव कुमारास्वामी र जगत राजापाक्षले २-२ विकेट लिए। जवाफमा १९५ रनको लक्ष्य पछ्याएको आर्मी क्रिकेट क्लबलाई नेपालले ३६.१ ओभरमा १२७ रनमै अलआउट गर्‍यो। उसका लागि जगत राजापाक्षले सर्वाधिक ४६, लहिरु चामराले २६ तथा प्रदिप रत्ननायकाले १८ रन बनाए। अन्यले दोहोरो अंक छुन सकेनन्। बलिङमा नेपालका सोमपाल र बसन्तले ३-३, दीपेन्द्रले २ तथा ललित भण्डारी र ललित राजवंशीले समान १ विकेट लिए।

नेपालले दोस्रो अभ्यास खेल शुक्रवार ब्लुमफिल्ड क्लबसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell