PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

३२ वर्षपछि एसियाड खेलेको नेपाल भलिबलमा किन हार्‍यो? यस्तो छ प्रशिक्षक कपिल श्रेष्ठको विश्लेषण



पहिलोपोस्ट

३२ वर्षपछि एसियाड खेलेको नेपाल भलिबलमा किन हार्‍यो? यस्तो छ प्रशिक्षक कपिल श्रेष्ठको विश्लेषण
फोटो : राजकुमार गुरुङ/फेसबुक

नेपालको पुरुष भलिबल टोलीले ३२ वर्षपछि १८औँ एसियन गेम्स (एसियाड) खेल्यो। इन्डोनेसियामा भइरहेको एसियाडमा नेपाल दुई बलिया टिम दक्षिण कोरिया र चाइनिज ताइपेई रहेको समूहमा छ। ताइपेईसँग बुधवार भएको पहिलो खेलमा नेपाल ३-० ले सहजै पराजित भयो। पहिलो सेटमा २३ अंक जोडेको नेपालले दोस्रो र तेस्रो सेटमा १९ र १५ अंक मात्र जोड्न सक्यो।

एसियाड खेल्नुअघि नेपालले कुनै पनि मैत्रीपूर्ण खेल नखेली गएको थियो।

इन्डोनेसियामा भएको खेलको भिडियो पुरै हेरेपछि नेपालका प्रशिक्षक कपिल किशोर श्रेष्ठले गरेको विश्लेषण यस्तो छ।

चाइनिज ताइपेई चार वर्षअघिको टप १० मा परेको टिम हो। २०१४ को एसियन गेम्समा ताइपेई नवौँ स्थानमा थियो। यस पटक नेपाल त्यही टिमसँग ३-० को सेटमा पराजित भयो।

हाम्रो टोलीले राम्रै खेल खेल्यो तर यो भन्दा अझ बेटर खेल्न सक्थ्यो। खेलाडीहरुले आफूले सक्दो खेलका हुन्। तर हामी आफ्नै ट्याक्टिसमा चुक्यौँ। हामीले ट्याक्टिकल मुभहरुमा ध्यान दिन सकेको भए अझै राम्रो हुन्थ्यो।

विशेषगरी हामी विपक्षीलाई नेगेटिभ पोइन्ट धेरै दियौँ।

पहिलो सेटमा हाम्रो स्पाइक राम्रो थियो। तर दोस्रो र तेस्रो सेटमा हाम्रो स्पाइक पनि घट्दै गयो। ब्लक कुनै पनि सेटमा राम्रो हुन सकेन। यस्तै हामीलाई विपक्षीले बिगार्दा पनि केही फाइदा भएको थियो।

तीन वटै सेटको तथ्याङ्क यस्तो छ।

 

पहिलो सेट : नेपाल २३-२५ चाइनिज ताइपेई

नेपालले लिएको अंक

सर्भिसबाट १

स्पाइकबाट १२

ब्ल्कबाट १

विपक्षीबाट पाएको ९

 

नेपालले बिगारेको अंक

सर्भिसमा २

स्पाइकमा २

ब्लक १६

रिसिभ २

डिफेन्समा ३

 

पहिलो सेटमा नेपालको स्पाइक राम्रो भयो। स्पाइकबाट मात्र १२ अंक आएको थियो भने विपक्षीले ९ अंक दियो। तर ब्लक हाम्रो एकदमै कमजोर रह्यो।

 

दोस्रो सेट : नेपाल १९-२५ चाइनिज ताइपेई

नेपालले लिएको अंक

सर्भिसबाट २

स्पाइकबाट ८

ब्लकबाट १

विपक्षीबाट पाएको ८

 

नेपालले बिगारेको अंक

सर्भिसमा ४

स्पाइकमा ६

ब्लक ९

रिसिभ २

डिफेन्समा ३

सेटरमा १

दोस्रो सेटमा नेपाल १९-२४ ले पछाडी हुँदा नेपालको हेड कोचले टाइम आउट लिए। जुन आत्मघाती जस्तै थियो। कम्तीमा नेपाल २ अंकले मात्र पछि पर्दा टाइम आउट लिएको भए राम्रो हुन्थ्यो। यसमा ट्याक्टिकल रुपमा डिसिजन हुन सकेन।

पहिलो सेटमा नेपालको ब्लक कमजोर थियो तर दोस्रो सेटमा नेपालको सबै कमजोरी देखियो।

 

तेस्रो सेट : नेपाल १५-२५ चाइनिज ताइपेई

नेपालले लिएको अंक

सर्भिसबाट २

स्पाइकबाट ६

ब्ल्कबाट १

विपक्षीबाट पाएको ६

 

नेपालले बिगारेको अंक

सर्भिसमा १

स्पाइकमा ५

ब्लक ८

रिसिभ ३

डिफेन्समा ७

सेटरमा १

 

तेस्रो सेटमा नेपाल झनै कमजोर भयो। ब्लकमा सुधार हुन सकेन। यस सेटमा पनि नेपालको सबै पक्ष कमजोर देखियो।

..............

तीन वटै सेट सरसर्ती हेर्दा नेपालको बलियो पक्ष घट्दै गयो। नेपालले सुधार गर्न सकेन। तर विपक्षीले गल्ती कमजोरी सुधार्दै गए। उनीहरुले कम गल्ती गर्दा नेपालले धेरै अंक जोड्न सकेन।

नेपाली टिममा यसपटक केही नयाँ खेलाडी भएपनि प्लेइङ सेटमा भने पुरानै खेलाडीहरु थियो। सेटमै भएका खेलाडीहरु नै खेलेका हुन्। खेलाडीले आफ्नो पक्षबाट राम्रै खेले। मुख्य कुरा भनेकै नेपाल ब्लकमा कमजोर देखियो।

यस पटक नेपालको हेड कोच विदेशी छन्। तर मलाई उनको अनुभव पनि कमजोर जस्तो लाग्यो। जस्तो की दोस्रो सेटमा उनले ट्याक्टिकल डिसिजन लिन सकेनन्। उनको अनुभव र निर्णय लिन सक्ने क्षमता कमजोर जस्तो लाग्यो।

नेपाललाई कोर्टभित्र पनि उनले राम्रोसँग खेलाउन सकेनन्। ब्याककोर्टमा नेपालले जम्मा २ वटा बल मात्र खेल्यो जसमा १ अंक लियो। त्यो क्षेत्रमा खासै प्रयोग हुन सकेन। यस्तै नेपालले क्विक बल पनि धेरै खेल्न सकेन। ३ वटा सेटमा जम्मा ७ वटा मात्र क्विक बल खेल्यो।

ट्याक्सिक्मै कमजोर देखियो नेपाल। ओपन स्पाइकमा बढी फोकस भयो। मान बहादुर र राजु धेरै ओपनमा प्रयोग भए।

समग्रमा भन्दा नेपालले एकदमै सिम्पल गेम खेल्यो। एसियाड जानुअघि कुनै फ्रेण्ड्ली गेमहरु पनि भएन। तैपनी खेलाडीले आफ्नो तर्फबाट राम्रो खेल्यो। तर कोचले राम्रोसँग खेलाउन सकेको भए नेपालले अझै राम्रो गर्न सक्थ्यो। यो भन्दा बेटर नतिजा आउन सक्यो। नेपाली खेलाडीहरुले पनि हामीसँग क्वालिटी छ है भनेर देखाउन भने सफल भएको छ।

प्रशिक्षक श्रेष्ठसँग पहिलोपोस्टका गोविन्दराज नेपालले गरेको कुराकानीमा आधारित



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell