PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाडमा बुधवार नेपालको प्रदर्शन : कमलद्वारा राष्ट्रिय कीर्तिमान सुधार, प्याराग्लाइडिङमा पदक आएन



पहिलोपोस्ट

एसियाडमा बुधवार नेपालको प्रदर्शन : कमलद्वारा राष्ट्रिय कीर्तिमान सुधार, प्याराग्लाइडिङमा पदक आएन
पौडीमा प्रतिस्पर्धा गर्दै नेपालका शुभम, श्रेष्ठ फोटो : लोकेन्द्र बस्नेत

१८औं एसियाडअन्तर्गत बुधवार भारोत्तोलनमा नेपालका कमलबहादुर अधिकारीले कीर्तिमान बनाएका छन्। उनले पुरुष ६९ केजीको स्न्याच, क्लिन एन्ड र कुलमा गरी आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरेका हुन्।

कमलले स्न्याचमा ११९ केजी र क्लिन एन्ड जर्कमा १६० गरी कुल २७९ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे। स्न्याचमा कमलकै नाममा ११८ केजीको कीर्तिमान थियो जुन उनले २०७१ सालमा ललितपुरमा भएको तेश्रो ग्राँ पिमा बनाएका थिए।

क्लिन एन्ड जर्कमा कमलले बेइजिङ ओलम्पिकमा बनाएको १५५ केजीको कीर्तिमानलाई सुधार गर्ने क्रममा दोश्रो लिफ्टमै १५६ केजी उचालेका थिए। लगातार चौथो एसियाड खेलीरहेका कमल तेश्रो लिफ्टमा १६० केजी भार वहन गर्दै पुनः १५६ केजीको कीर्तिमानलाई सुधारे। कमल समग्रमा १४औं भए। बिहीबार नेपालका विकास थापाले पुरुष ७७ केजीमा प्रतिस्पर्धा गर्नेछन्।

 

बास्केटबल : ताइपेइद्वारा नेपाल पराजित

महिला थ्री अन थ्री बास्केटबलमा चाइनिज ताइपेईले नेपाललाई १९-८ ले पराजित गर्‍यो। नेपालका भावना लामा र अनुषा मल्लले समान ३-३ अंक जोडे। एलिना गुरुङ र श्रेया खड्काले १–१ अंक बटुले।

नेपाली महिला टोलीले अब शुक्रबार जापान र मंगोलियाको सामना गर्नेछ। त्यसअघि बिहीबार नेपाली पुरुष टोलीले सिरिया र जोर्डन विरुद्ध खेल्नेछ।

 

पौडी : गौरिका १९ औं

एसियाली खेलकुदको पौडीतर्फ महिला २ सय मिटर फ्रिस्टायलमा नेपालकी गौरिका सिंहले १९औं स्थान हात पारिन्। २४ खेलाडी सहभागी उक्त स्पर्धाको दूरी तय गर्न गौरिकले २ मिनेट १२.५३ सेकेन्ड समय खर्चिन्। यो स्पर्धामा गौरिककै नाममा २ मिनेट ११.९४ सेकेन्डको राष्ट्रिय कीर्तिमान छ।

पुरुष १ सय मिटर ब्रेस्टस्ट्रोकमा शुभम् श्रेष्ठ २७ औं स्थानमा रहे। ३२ खेलाडीले सहभागी थिए। शुभमले १ मिनेट ११.३७ सेकेन्डमा दूरी पूरा गरे। यो स्पर्धाको राष्ट्रिय कीर्तिमान पनि शुभमकै नाममा छ। उनको नाममा १ मिनेट ११।२४ सेकेन्डको कीर्तिमान छ।

बिहीबार शिरीष गुरुङले १ सय मिटर फ्रिस्टायल र टीसा शाक्यले ५० मिटर ब्रेस्ट स्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन्।

 

तेक्वान्दो : वीर र भुपेन पराजित

पुरुष ६३ केजीमुनि नेपालका वीरबहादुर महरा प्रिक्वाटरफाइनलमै रोकिए। वीर काजाकिस्तानका खेलाडीसंग ३०-१९ ले पराजित भए। त्यसअघि वीरले अफ्गानिस्तानका खेलाडीलाई २४-१३ ले हराउँदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए।

पुरुष ८० केजीमा नेपालका भुपेन श्रेष्ठ अफ्गानिस्तानका रमेश हुसानीसंग २७-७ ले पछि परे। तेक्वान्दोको अन्तिम दिन बिहीबार नेपालका २ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। महिला ४९ केजीमुनि अस्मिता खड्का र पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

 

लनटेनिसमा चुनौती समाप्त

लनटेनिसमा नेपालको चुनौती समाप्त भएको छ। महिला डबल्समा बुधबार नेपालका मायांका राणा र माहिका राणाको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो। पालेम्वाङमा जापानका मोयुका उचिजिमा र इरिका हायासीको जोडीले मायांका र माहिकाको जोडीलाई ६-० र ६-० को सोझो सेटमा पराजित गरे।

 

भलिबल

पुरुष भलिबलमा नेपालले पराजय भोगेको छ। समूह चरणको आफ्नो पहिलो खेलमा नेपाल चाइनिज ताइपेईंसंग २५-२३, २५-१९ र २५-१५ को सोझो सेटमा पराजित भयो। नेपालले शुक्रबार दक्षिण कोरिया विरुद्ध खेल्नेछ।

 

कबड्डीमा पहिलो जित

पुरुष कबड्डीमा नेपालले चार खेलमा पहिलो जित हात पारेको छ। समूह ‘बी’ को लिगमा नेपालले मलेसियालाई २९-१७ ले पराजित गर्दै पहिलो जित हात पार्‍यो। सोही दिन इरान विरुद्धको खेलमा भने नेपाल ७१-२१ ले चुक्यो।

नेपाल यसअघि इन्डोनेसिया र जापानसंग हारेको थियो। समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

 

प्याराग्लाइडिङ

प्याराग्लाइडिङको पुरुष टिम एक्युरेसीमा नेपाल आठौं भएको छ। नेपाली टिमबाट विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ र युकेश गुरुङले प्रतिस्पर्धा गरेका थिए। यो इभेन्ट्समा आयोजक इन्डोनेसियाले स्वर्ण जितेको छ। दक्षिण कोरियाले रजत र थाइल्यान्डले कास्य पदक हात पारे।

महिला टिम एक्युरेसीमा नेपाल सातौं स्थानमा रह्यो। नेपाली टिमबाट त्रिसा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गरेका थिए। महिला टिम एक्युरेसीको स्वर्ण थाइल्यान्डले जित्यो। इन्डोनेसियाले रजत र दक्षिण कोरियाले कास्य प्राप्त गरे।

यता पुरुष व्यक्तिगत एक्युरेसीमा नवौं राउन्डको खेल सकिँदा नेपालका विजय गौतम १७ औं र सुशील गुरुङ २१औं स्थानमा छन्। यो स्पर्धाको फाइनल बिहीबार हुनेछ। शुक्रबारबाट क्रस कन्ट्री इभेन्ट सुरु हुनेछ।

 

उसु : सुस्मिता सातौं

महिला छान् छ्वानमा नेपालकी सुस्मिता तामाङ सातौं भइन्। ९ खेलाडी सहभागी उक्त स्पर्धामा सुस्मिताले ९.२५ अंक बटुलिन्। चीन पहिलो, मकाउ दोश्रो र भियतनाम तेश्रो भए। बुधबारको खेलसंगै उसु सम्पन्न भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell