काठमाडौँः फिल्म 'पासवर्ड' बन्ने अफिसियल घोषणा भएको छ। एबी इन्टरनेशनको ब्यानरमा फिल्म बन्ने भएको हो। फिल्मको ९८ प्रतिशत छायाँकन बेलायत र नेपालमा हुने निर्माण टिमले जनाएको छ। फिल्मले ऐतिहासिक एवं पुरातात्विक सम्पदाको संरक्षणका लागि हुने संघर्षको कथा समेट्ने छ।
'ह्याप्पी डेज'मार्फत अभिनयमा डेब्यू गरेका विक्की जोशी, परी राना, लिसा सुनार, छुल्ठिम गुरुङ, अनुप बिक्रम शाही, रविन्द्र झा, बुद्धि तामाङ फिल्मका मुख्य कलाकार हुन्। सस्पेन्स, एक्सन र थ्रीलर जानरामा बन्ने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन्। फिल्ममा अर्जुन पोखरेलको संगीत रहनेछ। फिल्मलाई नेपालको चलचित्र विकास बोर्डसहित व्रिटिस फिल्म इन्स्च्यिुटमा दर्ता गरेर निर्माण गर्न लागिएको निर्माण टिमले जनाएको छ।
छायाँकनका लागि नेपालबाट २० जनाको टोली लण्डन पुगिसकेको छ। लण्डन, बर्नमाउथ, ससेक्समा फिल्मको छायाँकन गरिनेछ। फिल्मका निर्मातामा अमित बस्नेत र हिरल जोशी रहेका छन्। फिल्ममा सौरभ लामाको छायाँकन रहनेछ।
फिल्मको आइटम डान्समा बलिउड अभिनेत्री सन्नी लियोनी फाइनल भएकी छिन्। गीतमा सन्नीले अभिनेता जोशीसँग स्क्रिन सेयर गर्ने बताइएको छ। केही दिनअघि अनुपले पनि फिल्ममा सन्नीसँग स्क्रिन सेयर गर्ने बताएका थिए। उता निर्माण टिमले भने फिल्ममा अनुप र सन्नीको भेट हुने कुनै दृश्य नरहेको बताए। तर अनुप सन्नीसँग एउटै सक्रिन सेयर गर्न उत्साहित छन्।