PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

'डनगिरीका' गुरुचेलाको सम्बन्ध : जेलभित्र नै चल्छ पिज्जा पार्टी 



बीपी साह

'डनगिरीका' गुरुचेलाको सम्बन्ध : जेलभित्र नै चल्छ पिज्जा पार्टी 

स्थानः सदर खोर डिल्लीबजार
समयः दिनको २ बजे
मिति : २०७५ भदौ ६

डिल्लीबजारस्थित सदरखोरमा 'क' र 'ख' दुईवटा ब्लक छन्। 'क' ब्लकमा एउटा कैदी र 'ख' मा अर्काथरी। उनीहरू बीच तारको मसिनो जालीले सीमा छुट्ट्याइएको छ।
 
फरक प्रकृतिका अपराधमा जेल सजाय कटाइरहेकाहरु यी दुई ब्लकमा विभाजित छन्। दिनभरको पट्यारलाग्दो जेल जीवन कटाउन उनीहरूका लागि तारको जाली बाधक भने बन्दैन। उनीहरू जाली नजिकै पुगेर मुखामुख गरी सहजै कुराकानी गर्छन्। दुःखसुख् साट्छन्। कसैले मीठो मसिनो ल्याए त्यही जालीबाट नै आदाप्रदान हुन्छ। एक किसिमको लेनदेन नै।

कारागारभित्रको यही सेटिङमा कैद जीवन विताइरहेका छन् दुई पात्र गुरु र चेला। 'डनगिरीका' गुरु दीपक मनाङ्गे र चेला अर्थात् गणेश लामा। 
मनाङ्गेको परिचय पछिल्लो समय गुन्डा नाइकेबाट माननीय सम्म पुगेको थियो। तर, माननीयको लोगो छातीमा लगाउन नपाउँदै उनको हातमा लाग्यो हतकडी। मनाङबाट प्रदेशसभामा चुनाव जिते पनि संसदको साटो उनी फरार अनि जेलको यात्रामा पुगे।
 
जेलभित्र मनाङ्गेलाई भेट्न आउनेको सङ्ख्या बाक्लै हुन्छ। साधारण कैदीलाई घेराभित्र राखेर भेटघाट गर्न दिइए पनि  मनाङ्गेलाई भने बाहिर पट्टीको चौरमा बसेर सहजै कुरा गर्न छुट छ। अरू भिआइपी कैदीले पनि यो सुविधा पाएका छन्।
 
मनाङ्गेलाई दैनिक औशत १० जनाभन्दा बढी भेटघाट गर्न आउँछन्। उनलाई भेट्न आउनेमध्ये अधिकांशको हात खाली हुँदैन। धेरै जसोले मनाङलाई मन पर्ने खानेकुरा ल्याउन छुटाउँदैनन्। जिल्लाबाट भेट्न आउनेको हातमा स्याउ हुन्छ। 

मनाङ्गेलाई साना व्यापारीदेखि ठूला उद्योगपतिसमेत भेट्न आउँछन्। उनीहरूको भने हातमा स्याउ हैन, हुन्छ पिज्जा। मनाङ्गेलाई पिज्जा मनपर्ने भएकाले आउनेले ल्याइदिन्छन्। 

मनाङ्गे उदार छन्। जेलभित्र आएको खानेकुरा उनी आफैमात्र खाँदैनन्। अन्य भिआइपी कैदीहरूलाई पनि खुवाउँछन्। 
बुधवार पनि यस्तै दृश्य देखियो। चौरमा गणेश लामा पहिलेदेखि नै आएर आफ्नोतिर बसेका थिए। लामा तीन जना युवाहरूसँग कुराकानी गर्दै थिए। मनाङ्गेलाई पनि केही व्यक्तिहरूले कुरिरहेका थिए। मनाङ आएपछि कुराकानी सुरु भयो।

केही बेरमा पाँच प्याकेट पिज्जा आयो। त्यो पिज्जा मनाङ्गेका लागि आएको थियो। मनाङ्गेले त्यही पिजा खाए। एक प्याकेट पिजा उनले आफ्ना चेला लामालाई पनि दिए। लामाले प्याकेट छेउमै राखे। उनी अरूसँग कुराकानीमा व्यस्त थिए। एक कैदीले सुनाए, 'उहाँहरूको बानी यस्तै हो बाँडेर खानुहुन्छ। गणेशलाई छुट्ट्याएर खाने गर्नुहुन्छ।'

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)बाट काभ्रेमा उम्मेदवार बनेका लामालाई भेट्नेहरूको भिड पनि बाक्लै हुन्छ। तर, लामालाई भेट्न उद्योगी व्यापारीभन्दा पनि युवा समूहका धेरै हुन्छन्।
 
मनाङ्गे र लामाले लागि अधिकांश समय बाहिरबाटै ल्याएको र मगाएको खाना खाने गरेका छन्। उनीहरू बाँडीचुढी खान्छन्। 

मनाङ्गे र लामाको सम्बन्ध

गणेश लामा दीपक मनाङ्गेका चेला हुन्। ‘डन गिरी’मा लामालाई ल्याउने मनाङ्गे नै हुन्। केही वर्ष अघिसम्म लामाले मनाङ्गेको गुटमा रहेर  काम गर्थे। तर, ग्याङमा विवाद भएपछि उनले अर्कै समूह बनाएर गुन्डागर्दी सुरु गरे।
 
२०६१ साल वैशाख ३१ गते पानीपोखरी स्थित एक रेस्टुरेन्टमा मिलन चक्रेको हात छिनाएको घटनामा ५ वर्ष कैद सजाय भएको थियो। मनाङेले अझै ३ वर्ष कैद भुक्तान गर्न बाँकी छ। लामा हातहतियार तथा खरखजाना मुद्दामा जेल परेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell