.jpg)
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनालाई लिएर उच्चस्तरीय छानविन समिति गठन गर्ने बताएका छन्।
बिहीवार प्रदेश नम्बर सातका नेताहरुले घटनाको छानविन गर्न माग गर्दै दिएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले घटनाबारे सरकार गम्भीर भएको बताएका हुन्। गृहमन्त्रीले सरकार घटना बारे गम्भीर रहेको बताएका थिए। सरकारले अनुसन्धानका लागि समिति गठन गर्ने तयारी गरेको छ। बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासी चार दिनदेखि प्रर्दशन गर्दै आएका छन्। बिहीवार आक्रोशित समूहले ट्राफिक प्रहरी कार्यालय तोडफोड गर्न लागेपछि गोली चलाउँदा ४ जना प्रदर्शनकारी घाइते भएका छन्।
आज बिहानैदेखि स्थानीयवासी, व्यापारी, विभिन्न संघ-संस्थाका व्यक्तिहरु, विद्यार्थीहरू हत्याको सत्थतथ्य छानबिन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्। प्रदर्शनको कारण विद्यालय, बजार, यातायात बन्द छ। जिल्लाका विभिन्न स्थानमा प्रदर्शन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेतीले बताए।
गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयले गत सोमबार हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।
प्रदेश प्रहरीले बुधवारमात्र घटनाको छानबिन गर्न एसएसपी विक्रम चन्दलाई खटाइएको छ। प्रहरीको अनुसन्धान माथि नै चर्को विरोध हुन थालेपछि प्रहरीले विष्टको डिएनए परीक्षण गर्ने भएको छ।