PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाडमा बिहीवार नेपालको प्रदर्शन : ब्याड्मिन्टनमा नङशल प्रिक्वाटरफाइनलमा, तेक्वान्दोमा चुनौती समाप्त



पहिलोपोस्ट

एसियाडमा बिहीवार नेपालको प्रदर्शन : ब्याड्मिन्टनमा नङशल प्रिक्वाटरफाइनलमा, तेक्वान्दोमा चुनौती समाप्त

इन्डोनेसियमा जारी १८ औं एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी नङशल तामाङ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन्।

जीबीके इस्तोरामा भएको खेलमा नङशलले माल्दिभ्सकी खेलाडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा पराजित गरिन्। महिला सिंगल्सको अर्को खेलमा जेशिका गुरुङ थाइल्यान्डकी खेलाडीसंग २१–७ र २१–५ ले पछि परिन्।

पुरुष डबल्समा पनि नेपालका विकास श्रेष्ठ र नवीन श्रेष्ठको जोडीले मंगोलियाका खेलाडीलाई २१–१२ र २१–७ को सीधा सेटमा हराउदै प्रिक्वाटरफाइनलमा पुगे। सोही स्पर्धाको अर्को खेलमा भने पाकिस्तानी जोडीले नेपालका दीपेश धामी र रत्नजित तामाङको जोडीलाई २१–१९ र २२–२० को सोझो सेटमा पन्छाए।

मिक्स डबल्समा इन्डोनेसियाका खेलाडीले रत्नजित र नङशलको जोडीलाई २१–१३ र २१–२१–७ तथा हङकङले दीपेश धामी र जेशिका गुरुङको जोडीलाई २१–११ र २१–११ को सोझो सेटमा पाखा लगाए।

महिला डबल्समा थाइल्यान्डका खेलाडीले जेशिका गुरुङ र नङशलको जोडीलाई २१–७ र २१–५ ले निराश पारे। ब्याडमिन्टनमा नेपालले शुक्रबार ५ खेलमा प्रतिस्पर्धा गर्नेछ।

 

भारोत्तोलन : विकास १५ औं स्थानमा

भारोत्तोलनको पुरुष ७७ केजीमा नेपालका विकास श्रेष्ठले १५ औं स्थान हासिल गरेका छन्। २० प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा विकासले स्न्याचमा ११३ केजी र क्लिन एन्ड जर्कमा १३५ केजी गरी जम्मा २४८ केजी भार वहन गरे।

स्न्याचको पहिलो लिफ्टमा ११३ केजी वजन उठाएका १२ औं सागका रजतधारी विकासले दोश्रो र तेश्रो लिफ्टमा समान ११८ केजी उठाउने प्रयास गरेपनि सफल भएनन्। क्लिन एन्ड जर्कको पहिलो लिफ्टमा विकास १३५ केजी भार वहन गर्न असफल रहे। दोश्रो लिफ्टमा कमलले पहिलो लिफ्टकै जत्ति वजन उचाल्न सफल भएका थिए। तेश्रो लिफ्टमा १३७ केजी उठाउन आएका विकास सफल हुन सकेनन्।

भारोत्तोलनमा नेपालबाट ४ खेलाडी सहभागी छन्। दुई खेलाडी सन्जु चौधरी र कमलबहादुर अधिकारी राष्ट्रिय कीर्तिमान बनाउन सफल रहे। बाँकी एक खेलाडी तारादेवी पुनले अगष्ट २६ तारिखमा महिला ७५ केजी तौलसमूहमा भाग लिने छिन्।

 

पौडी : शिरीष ४०औं

पौडीको पुरुष १ सय मिटर फ्रिस्टायलमा नेपालका शिरीष गुरुङले ४० औं भएका छन्। यो स्पर्धाको राष्ट्रिय कीर्तिमानधारी शिरीषले निर्धारित दूरी ५७.९२ सेकेन्डमा पूरा गरे। उनको नाममा ५७.६९ सेकेन्डको राष्ट्रिय कीर्तिमान ६। उक्त स्पर्धामा ४७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

महिला ५० मिटर ब्रेस्टस्ट्रोकमा टीसा शाक्य सहभागी ३० मध्ये २६ औं भइन् । टीसाले निर्धारित दूरी तय गर्न ३९.४६ सेकेन्ड समय खर्चिन्।

शुक्रबार तीन खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। शुभम् श्रेष्ठले ५० मिटर ब्रेस्टस्ट्रोक तथा गौरिका सिंह र टीसाले ५० मिटर फ्रिस्टायलमा खेल्नेछन्।

 

तेक्वान्दो : नेपाल पदकविहीन

एसियाली खेलकुदमा नेपाललाई सर्वाधिक पदक दिलाएको तेक्वान्दोमा नेपाल पदकविहीन बेनको छ। एसियाडमा नेपालले हालसम्म १ रजत र १३ कांस्य गरी १४ पदक जितेको छ।

तेक्वान्दोको अन्तिम दिन दुई नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए। पुरुष ६८ केजीमुनि ज्ञानेन्द्र हमालले पहिलो चरणमा भुटानका जिग्मे वाङछुकलाई ३९–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए। प्रिक्वाटरफाइनलमा ज्ञानेन्द्र मलेसियाका रोजाइमी रोजालीसंग ३०–२ को फराकिलो अन्तरले चुके।

अर्की खेलाडी अस्मिता खड्का महिला ४९ केजीमुनि इरानकी नाहिद कियानीचान्देहसंग ४३–४ को भारी अन्तरले हारिन्।

 

पेनकेक सिलात : विवके पराजित

पेनकेक सिलातमा नेपालका विवेककुमार विकको चुनौती समाप्त भएको छ। विवेक इरानका मोहम्मद राहिमीबलादेजाइसंग ५–० ले पछि परे। पेनकेक सिलातमा नेपालबाट एक मात्र खेलाडीको सहभागिता रहेको छ।

 

कबड्डी : नेपाल पराजित

पुरुष कबड्डीमा २० वर्षपछि सहभागी नेपाल पाकिस्तानसंग पराजित भएको छ। समूह ‘बी’ को लिग खेलमा पाकिस्तानले नेपाललाई ३८–२० ले हरायो।

हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ। ६ राष्ट्र सहभागी यो समूहबाट इरान विजेता र पाकिस्तान उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ‘ए’ बाट दक्षिण कोरिया विजेता र भारत उपविजेताका रुपमा सेमिफाइनलमा पुगे।

पाँच खेलमा नेपालले ४ मा पराजय भोग्यो भने १ मा जित हात पार्‍यो। नेपाल पाकिस्तानसहित आयोजक इन्डोनेसिया, जापान र इरानसंग पराजित भएको थियो। मलेसियालाई भने नेपालले २९–१७ ले हराएको थियो। इन्डोनेसियासहित ४ फरक एसियाडमा सहभागिता जनाएको नेपालले कबड्डीमा मलेसिया विरुद्ध हात पारेको जित अहिलेसम्मकै पहिलो भएको कबड्डीका मुख्य प्रशिक्षक तारासिंह भाटले जनाएका छन्।

नेपालले १९९० को बेइजिङ, १९९४ को हिरोसिमा र १९९८ को बैंकक एसियाडमा सहभागिता जनाएको थियो।

 

प्याराग्लाइडिङ

प्याराग्लाइडिङको पुरुष व्यक्तिगत एकुरेसीमा नेपालका विजय गौतम आठौं भएका छन्। नेपालकै सुशील गुरुङ २४ औं भए। १० चरणको यो स्पर्धामा ३३ खेलाडीले सहभागिता जनाएका थिए। इन्डोनेसिया पहिलो, थाइल्यान्ड दोश्रो तथा दक्षिण कोरिया तेश्रो भए।

सोही स्पर्धाको महिलामा नेपालकी तृषा श्रेष्ठ बमजन तामाङ १४ औं र प्रतिभा भुजेल १५ औं स्थानमा रहे। १० चरणकै यो इभेन्टमा १८ खेलाडीले भाग लिएका थिए। थाइल्यान्डले स्वर्ण, दक्षिण कोरियाले रजत र आयोजक इन्डोनेसियाले कांस्य जिते। शुक्रबारबाट क्रस कन्ट्री स्पर्धाका खेलहरु सुरु हुनेछ।

 

स्क्वास : अरहान्त र अमृत पराजित

एसियाडमा नेपालले सहभागिता जनाएको २९ खेल मध्ये सबै भन्दा पछि समावेश गरिएको स्क्वासको पुरुष सिंगल्समा अरहान्तकेशर सिंह र अमृत थापा मगर पराजित भएका छन्।

पाकिस्तानका अस्लम तयबले अरहान्तलाई ११–६, ११–५ र ११–५ तथा हङकङका यि लिन होले अमृतलाई ११–१, ११–४ र ११–२ को सोझो सेटमा पराजित गरे।

 

स्पोर्ट्स क्लाइम्बिङ

पालेम्वाङमा भएको स्पोर्ट क्लाइम्बिङको पुरुष स्पिड्सको छनोट चरणबाट नेपाल बाहिरिएको छ। नेपालका पेम्बा शेर्पा र प्रणीलमान श्रेष्ठ २७ खेलाडी सहभागी स्पर्धामा क्रमशः २६ औं र २७ औं भए। शीर्ष १६ मा रहने खेलाडी पहिलो चरणबाट छनोट हुने प्रावधान छ।

पुरुष कम्बाइन छनोट चरण पनि नेपालले पार गर्न सकेन। पेम्बा २२ औं र प्रणील २१ औं भए। २३ खेलाडी सहभागी यो स्पर्धामा मंगोलिया पुछारमा रह्यो। शुक्रबार नेपालले पुरुष बोल्डरिङको छनोट चरण खेल्नेछ।

 

आर्चरी : तिलक प्रिक्वाटरफाइनलमा रोकिए

आर्चरीको पुरुष व्यक्तिगत रिकर्भमा नेपालका तिलक पुन मगर चीनका खेलाडीसंग प्रिक्वाटरफाइनलमा ६–४ ले पराजित भए। त्यसअघि उनले भुटानका खेलाडीलाई ६–० ले हराएका थिए। सोही स्पर्धामा नेपालका रोशन नगरकोटी श्रीलंकाका खेलाडीसंग ६–० ले हारे।

महिला व्यक्तिगत रिकर्भमा नेपालकी ज्ञानु अवाले हङकङकी खेलाडीसंग ६–२ ले पराजित भइन्। नेपालले शुक्रबार मिक्स टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell