काठमाडौँ : दीपेन्द्र सिंह ऐरीको शानदार शतक तथा सागर पुनको अलराउण्ड प्रदर्शन मद्दतमा नेपालले श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई डिएल मेथडमा १७६ रनले पराजित गरेको छ।
एसिया कप छनोटको तयारीमा रहेको नेपाललाई लगातार दवस्रो जित दिलाउने क्रममा दीपेन्द्रले १२१ रन प्रहार गरे। यस्तै ब्याटिङमा ९२ रन बनाएका सागर पुनले बलिङमा ३ विकेट लिए।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर ३२३ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्रले १२१ रन बनाए। यस्तै सागर पुनले ९२ रन जोडे। करण केसीले १२ बलमा २६ रन बनाउँदा कप्तान पारस खड्काले २३ रन जोडे।
बलिङमा सनोज धर्शिकाले ३ तथा लहिरु सन्जया फर्नान्डोले २ विकेट लिए।
३२४ रनको उच्च लक्ष्य पछ्याउ ब्लुमफिल्डले ब्याटिङ गरिरहेको बेला खराब प्रकाशका कारण ३८ ओभरमा खेल रोकिएपछि नेपाल डिएल मेथडमा विजयी भएको हो। त्यसबेलासम्म घरेलु टोलीले ९ विकेट गुमाएर १३४ रन बनाएको थियो। ब्लुमफिल्डका लागि धर्शिकाले सर्वाधिक ३८ तथा सचिन जयासुर्याले ३० रन बनाए।
नेपालका लागि बलिङमा सागर पुनले सर्वाधिक ३ विकेट लिए। ८ ओभर बलिङ गरेका सागरले१ मेडन राख्दै १६ रन मात्र खर्चे। यस्तै ललित भण्डारीले २ तथा कप्तान पारस र बसन्त रेग्मीले १-१ विकेट लिए।
नेपालले पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट क्लबलाई ६७ रनले पराजित गरेको थियो।
नेपालले अब तेस्रो तथा अन्तिम अभ्यास खेल आगामी आइतबार कल्ट्स क्रिकेट क्लबसँग खेल्नेछ। त्यसपछि सोमबार श्रीलंकाबाटै नेपाली टिम एसिया कप छनोट खेल्न मेलसिया जानेछ। हाल सीपीएल खेलिरहेका सन्दीप लिमछाने पनि उतैबाट सोमबार मलेसिया पुग्नेछन्।
नेपालले आगामी बुधबार (अगष्ट २९) ओमानसँग खेल्दै एसिया कप छनोट सुरु गर्नेछ।