
काठमाडौं : चार दिनदेखि १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको घटनालाई लिएर महेन्द्रनगर तनावग्रस्त थियो। स्थानीय, व्यापारीदेखि विद्यार्थीसम्म सडकमा ओर्लिएका थिए। कारण एउटै थियो - प्रहरीले निर्मलाको हत्यारालाई संरक्षण गरेर गैर अपराधी समात्यो। र, मुद्दालाई सामसुम पार्न आँट्यो।
यही घटनालाई लिएर प्रहरी र प्रदर्शनकारीबीच बिहवार दिउँसो झडप समेत भएको थियो। प्रहरीले बिहीवार पनि फायर खोलेको थियो। प्रहरीको गोली लागि अर्जुन भण्डारा घाइते भए। महेन्द्रनगरमा उनको उपचार सम्भव नभएपछि धनगढी हुँदै उनलाई शिक्षण अस्पताल काठमाडौं ल्याइयो। उनको उपचार जारी छ। बिहीवार साँझ ५ बजेदेखि शुक्रवार बिहान ५ बजेसम्म नै कर्फ्यु आदेश जारी भयो। आन्दोलनमा उत्रिएका र गोलीले घाइते हुनेसम्मका घटनालाई सशस्त्र रुपमा कर्फ्यु लागू गर्न उत्रिएका सुरक्षाकर्मीले नियन्त्रणमा लिए।
सरकारले घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्य टोली गठन गर्यो्। जिल्ला प्रहरी प्रमुख डिल्लीराज बिष्ट र प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालाई जिम्मेवारीबाट हटायो।
घटनालाई लिएर संसदमा संकल्प प्रस्ताव पनि पारित भयो। यी घटनाक्रमले महेन्द्रनगर केही समय शान्त बन्ने अपेक्षा थियो। प्रशासन ठानेको थियो - घटना अब मत्थर हुनेछ।
शुक्रवार बिहानैदेखि महेन्द्रनगरमा झरी दर्कियो। हिजोदेखि लागू भएको कर्फ्यु हटिसके पनि स्थानीय सडकमा निस्किने अवस्था रहेन। दिन ढल्दै जाँदा पानी पनि कम हुँदै गयो। २ बजेतिर पानी रोक्यो। तर, कर्फ्युमा हतियारसहित उत्रिएका सुरक्षाकर्मीका कारण बनेको ‘मुर्दा शान्ति’ एकाएक भत्कियो। आन्दोलनले फेरि चर्को रुप लियो। नेकपाका नेता भीम रावलले शुक्रवार बिहान ऋषि धमलालाई दिएको अन्तर्वार्ताले विद्यार्थी संगठन उग्र भए। रावलले बलात्कार र हत्या काण्डलाई नेपाली कांग्रेस आवद्ध केहीले उचालेको बताएका थिए अन्तर्वार्तामा।
‘अराजकता सिर्जना गर्ने, घटनाको छानविन राम्ररी हुन नदिने, अपराधीसँग पुग्नुसट्टा अन्त ध्यान मोडिदिने, आफ्नो निहीत स्वार्थ पूर्ति गर्न केही नेपाली कांग्रेस निकटका व्यक्तिहरु तल्लिन छन् भन्ने त्यहाँका जनताले मलाई जानकारी गराएका छन्,’ रावलले यसै भनेका छन् अन्तर्वार्तामा।
दिउँसो २ बजेदेखि नै प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भइ नै रहेको थियो। करिब साढे चार बजेतिर महेन्द्रनगरको ट्राफिक चोक रणभूमिमा बदलियो। प्रर्दशनकारीले ट्राफिक कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ढुङगामुढा गर्न थालेपछि प्रहरीले फायर खोल्यो। प्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको एसपी कुवेरबहादुर कठयातले दावी गरे।
प्रहरीले २० राउन्ड भन्दा बढी गोली चलाएको घटनास्थलमा नै रहेका पत्रकार लक्ष्मण तिवारीले पहिलोपोस्टसित बताए। प्रहरीको गोली लागि एक किशोर मारिएका छन्। प्रहरीको गोली लागि १२ जना भन्दा बढी घाइते भएका छन्। पत्रकार तिवारीले भने, 'दुई बजेपछि आन्दोलन चर्कँदै गएको थियो। चार बजेसम्म सामान्य प्रर्दशन तथा नाराबाजी भए। साढे चारबजे तिर एक्कासी गोली चलेको थियो।'
स्थानीयले घटनालाई प्रहरीले नै तोडमोड गरेर अन्य व्यक्तिलाई नै हत्यारा बनाएर सार्वजनिक गरेको आरोप लगाउँदै आएका छन्।
फेरि कर्फ्यू
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महेन्द्रनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। साँझ ८ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रहरी प्रमुख एसपी कुवेरबहादुर कठायतले जानकारी दिए।निर्मला बलात्कार र हत्या प्रकरणको आन्दोलनका क्रममा शुक्रवार महेन्द्रनगर तनावग्रस्थ बनेपछि प्रशासनले कफ्यू आदेश जारी गरेको हो। शुक्रबार प्रहरीको गोली लागि १४ वर्षीय बालकको मृत्यु भएपछि महेन्द्रनगर तनावग्रस्थ बनेको थियो।