PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

रिट्रिटको ठाउँबाहेक विम्स्टेकको सबै कार्यतालिका फाइनल, के के कहाँ हुँदैछ?



विधुर ढकाल

रिट्रिटको ठाउँबाहेक विम्स्टेकको सबै कार्यतालिका फाइनल, के के कहाँ हुँदैछ?

काठमाडौं : १४ र १५ भदौमा हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ। शिखर सम्मेलनको कार्यतालिका समेत परराष्ट्र मन्त्रालयले फाइनल गरेको छ। 

सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ गतेदेखि नेपाल आउन थाल्नेछन्। उनीहरुको स्वागतको तयारीसमेत सुरु भएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भदौ १२ गते म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आइपुग्नेछन्। यसअघि म्यानमारबाट राज्यपरिषद सदस्यको प्रमुख तथा विदेशमन्त्री आङ सान सूचीले नेतृत्व गर्ने बताइएको थियो।

त्यस्तै भदौ १३ गते श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन्। भुटानमा निर्वाचन चलिरहेका कारण प्रधानमन्त्रीको प्रतिनिधित्व गर्दै वाङचुक आउने भएका हुन्।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ मा काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। 
 

म्यानमार र श्रीलंकाका राष्ट्रपति लुम्विनी, मोदी पशुपति जाने

सम्मेलनमा सहभागी हुन नेपाल आउन लागेका म्यानमारका राष्ट्रपति मिन्ट र श्रीलंकाका राष्ट्रपति श्रीसेनाले भगवान गौतम वुद्धको जन्मभूमि लुम्विनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ। 

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपतिनाथको दर्शन गर्न जानेछन्। भदौ १६ गते उनले उनले पशुपति क्षेत्रमा भारतको सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्ने कार्यक्रमसमेत बनेको छ। 

राष्ट्रपतिको दिवाभोज शितल निवासमा, प्रधानमन्त्रीको रात्री भोज ह्यातमा 

यसैबीच विम्स्टेक सम्मेलनमा सहभागी हुने आउने विदेशी सरकार प्रमुखहरुको स्वागतमा राष्ट्रपति विद्यादेवि भण्डारीले दिवा भोजको आयोजना गरेकी छन्। भदौ १४ गते मध्यान्न १२:३० मा राष्ट्रपतिले भण्डारीले राष्ट्रपति कार्यालय शितल निवासमा दिवा भोज आयोजना गर्नेछिन्। दिवाभोजसँगै सबै सदस्य राष्ट्र प्रतिनिधि मण्डलका प्रमुखहरुसँग सामूहिक रुपमा राष्ट्रपति भण्डारीसँग भेट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सो दिवा भोजपछि विम्स्टेकको चौथो शिखर सम्मेलन उद्घाटन हुनेछ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख तथा डेलिगेट्सहरुको सम्मानमा होटल ह्यातमा रात्रीभोज आयोजना गर्ने छन्। गाला डिनरसँगै होटल ह्यायतमा साँझ ६:३० बजे देखि ९:३० बसेसम्म सांस्कृतिक कार्यक्रम समेत हुनेछ। 

कार्यक्रममा सदस्य राष्ट्रहरुबाट प्रतिनिधित्व गर्ने कलाकारहरुले समेत सांस्कृतिक प्रस्तुती दिनेछन्। 
 

यस्तो हुने छ उद्घाटन कार्यक्रम 

सम्मेलनको उद्घाटन भदौ १४ दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन्। सम्मेलनको मुख्य हलमा सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुख उनीहरुका जीवनसंगी/संगीनी तथा १० जना डेलिगेटस् सहभागी हुनेछन्। 

बाँकी डेलिगेट्सलाई लाइभ टेलिकास्टसहितको सुविधा भएका अन्य कोठामा व्यवस्था गरिएको छ। अध्यक्ष राष्ट्रका हैसियतले प्रधानमन्त्री ओलीले उद्घाटन मन्तव्य राख्ने छन्। र, बाँकी देशका प्रमुखहरुले वर्णानुक्रम अनुसार सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पहिलो दिनको सम्मेलन सबै सदस्य राष्ट्रका नेताहरुले सम्बोधन गरेसँगै सकिने छ। 

३ घण्टाको रिट्रिट 

सम्मेलनमा सहभागी देशका प्रमुखहरुका लागि भदौ १५ गते विहान ९ बजे देखि १२ बजेसम्म रिट्रिटको आयोजना गरिएको छ। रिट्रिटको लागि स्थान तय भइनसकेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए। यसअघि सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका प्रमुखहरुलाई धुलिखेल लगेर हिमाल देखाइएको थियो। 

यसपटक गोकर्णको चर्चा चलेको छ। तर, पनि टुंगो लागिसकेको छैन्। सम्मेलनमा सहभागी हुन आउने प्रमुखहरुका ‘स्पाउस’हरुका लागि साइट सिनको कार्यक्रम समेत तय भएको छ। रिट्रिट सकिएसँगै सम्मेलनको दोस्रो दिनको कार्यक्रम होटल सोल्टीमा सुरु हुनेछ। सम्मेलनको दोस्रो दिन विभिन्न सम्झौताहरुमा हस्ताक्षर हुनेछन्। 

त्यस्तै काठमाडौँ घोषणापत्रलाई अंगिकार गर्ने छ। सम्मेलनको अन्तिममा विम्स्टेकको अध्यक्ष राष्ट्र नेपालले आगामी अध्यक्षको रुपमा श्रीलंकालाई कार्यभार हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ। 

प्रधानमन्त्रीको उद्घाटन मन्तव्यसँग सुरु हुने सम्मेलन ओलीको मन्तव्यबाटै समापन हुनेछ। 

पूर्व सन्ध्यामा मिनिस्टेरियल र सिनियर अफिसियल मिटिङ

सम्मेलनको अघिल्लो दिन भदौ १३ गते १६ औँ मन्त्रिस्तरीय बैठक होटल सोल्टीमा बस्नेछ। बैठकमा सदस्य देशका विदेश/परराष्ट्र मन्त्रीहरु सहभागी हुनेछन्। बैठकले सम्मेलनका एजेण्डाहरुको मस्यौदा तय गर्नेछ। 

बैठकले विम्स्टेक महासभा/समझदारीपत्र र काठमाडौँ घोषणापत्रलाई हस्ताक्षरका लागि अन्तिम रुप दिनेछ। 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सदस्य राष्ट्रका विदेश/परराष्ट्रमन्त्रीहरुको सम्मानमा होटल याक एण्ड यतीमा १२ गते रात्रीभोज आयोजना गर्ने कार्यक्रम तय भएको छ। 

त्यस्तै १२ गते विम्स्टेक सदस्य राष्ट्रहरुका उच्च अधिकारीहरुको १९ औँ बैठक बस्ने छ। बैठकमा सदस्य राष्ट्र विदेश तथा परराष्ट्र मन्त्रालयका सचिवहरु सहभागी हुनेछन्। बैठकमा सहभागी डेलिगेट्सको सम्मानमा होटल सोल्टीमा परराष्ट्र सचिव शंकरदास बैरागीले ११ गते रात्रीभोज आयोजना गर्नेछन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell