
झण्डै पाँच वर्षअघि फिफा विश्वकप फुटबलको ट्रफी विभिन्न राष्ट्रको भ्रमणका क्रममा नेपाल पनि आइपुगेको थियो। अब आइसीसी विश्वकप क्रिकेटको ट्रफी पनि नेपाल ल्याइने भएको छ।
सन् २०१९ मा इंगल्याण्ड् र वेल्समा हुने वान डे विश्वकपअघि २०१८ मा ट्रफी टुर हुनेछ र त्यसअन्तर्गत २०१८ को अक्टोबर २७ देखि २९ सम्म विश्वकप क्रिकेट ट्रफी नेपाल पनि आउने आइसीसीले जनाएको छ।
विश्व क्रिकेटको इतिहासमै क्रिकेट विश्वकपको ट्रफी पहिलो पटक नेपालमा ल्याइन लागेको हो।
आइसीसीको हेडक्वाटर युएईमा रहेको दुबईबाट २०१८ अगष्ट २७ बाट सुरु हुने ट्रफी टुर पाँच महादेशका विभिन्न ६० सहरमा पुर्याइने आइसीसीले जनाएको छ।
झण्ड ९ महिना जारी रहने ट्रफी टुर विश्वकप खेल्ने १० बाहेक क्रिकेटमा प्रगती र विकास गरिरहेको नेपाल, अमेरिका, जर्मनी जस्ता अन्य ११ देशमा पनि लगिने आइसीसीको मिडिया रिलिजमा उल्लेख छ।
ट्रफी टुर दुबईबाट सुरु भई ओमान, अमेरिका, वेष्टइन्डिज, श्रीलंका, पाकिस्तान, बंगलादेश, नेपाल, भारत, न्यूजिल्याण्ड, अष्ट्रेलिया, साउथ अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड्स, जर्मनी हुँदै २०१९ फेब्रुअरी १९ मा आयोजक इंग्ल्याण्ड र वेल्स पुग्नेछ। त्यसपछि विश्वकप सुरुहुनु अघि त्यहाँ १०० दिनको डोमेस्टिक टुर हुनेछ।