PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रिमियर लिग : आर्सनलको पहिलो जित



पहिलोपोस्ट

प्रिमियर लिग : आर्सनलको पहिलो जित

नयाँ सिजनको सुरुवाती दुई खेल हारेको आर्सनलले प्रिमियर लिगमा पहिलो जित हात पारेको छ।

लिगअन्तर्गत शनिवार भएको खेलमा लण्डन क्लब आर्सनलले वेष्टहम युनाइटेडलाई ३-१ ले पराजित गर्दै ३ अंक जोडेको छ।

एक गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै आर्सनलले जित हात पार्‍यो। आर्सनलको घरेलु मैदान एमिरेट्स मैदानमा भएको खेलको २५औँ मिनेटमै मार्को अर्नाउटोभिचले गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए।

तर उक्त अग्रता लामो समय टिकेन। ३०औँ मिनेटमा नाचो मोनरेलले आर्सनलका लागि बराबरी गोल पर्काए। ७०औँ मिनेटमा वेष्टहमका इस्सा डिओपले आत्मघाती गोल गरेपछि आर्सनलले २-१ को अग्रता बनायो।

९०औँ मिनेटमा वैकल्पिक खेलाडी डानी वेलब्याकले गोल गर्दै आर्सनललाई ३-१ को जित दिलाए। आर्सनल अघिल्ला दुई खेलमा म्यानचेष्टर सिटी र चेल्सीसँग पराजित भएको थियो।

यस्तै शनिवारै भएको अन्य खेलमा लेस्टरले साउथह्याम्पटनलाई २-१ ले हरायो भने एभरटन र बर्नमाउथले २-२ र हडर्शफिल्ड टाउन र कार्डिफ सिटीले गोलरहित बराबरी खेले।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell