PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

रोहिंग्याको एक वर्षदेखि एसियाड खेलसम्म



पहिलोपोस्ट

रोहिंग्याको एक वर्षदेखि एसियाड खेलसम्म

रोहिंग्याको पीडा

बहुसंख्यक बौद्धमार्गी रहेको म्यान्मारका सेनाको चरम दमनपछि म्यान्मारबाट सात लाखभन्दा बढी रोहिंग्या मुस्लिम समूदायका मानिस भागेर बंगलादेश पुगेको एक वर्ष पुगेको छ। त्यसैक्रममा बंगलादेशको कुटुपालोङमा रहेको शरणार्थी शिविरमा म्यान्मारबाट विस्थापित भइ बंगलादेशमा शरण लिइरहेका रोहिंग्याहरुले न्याय पाउने पर्ने र स्वदेश फिर्तीको माग गर्दै प्रदर्शन गरेका छन्। म्यान्यमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सूचीले  रोहिंग्याहरु प्रति गरिएको हिंसा विरुद्ध आवाज नउठाएका भन्दै उनको आलोचना हुँदै आएको छ।  

पोम्पेओको भ्रमण स्थगित  

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन पछि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको छ। निशस्त्रीकरणका पक्षमा उत्तर कोरियाले भने बमोजिमको प्रगति हुन नसकेकोले तत्कालका लागि उत्तर कोरियाको भ्रमण गर्न उचित छैन भनेर भ्रमण स्थगित गरिएको जनाइएको छ। गत जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायद्वीपलाई परमाणु हतियारमुक्त बनाउने सहमति भएको थियो तर उत्तर कोरियाले भने उक्त प्रतिबद्धता बमोजिम काम गर्न नसकेको अमेरिकी बुझाइ रहेको छ। 

नानगाग्वाको पक्षमा फैसला

जिम्बाबेका राष्ट्रपति इमर्सन नानगाग्वामाथि निर्वाचनमा धाँधली गरेको भन्ने आरोप खारेज भएको छ। जिम्बाबेको संवैधानिक अदालतले गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन नानगाग्वा निर्वाचित भएको ठहर गरेको छ। अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर गरेको मुद्दाको विपक्षमा फैसला सुनाएको छ। फैसलामा निर्वाचनमा भएको धाँधली सम्बन्धी अध्ययनमा विपक्षीले लगाएका आरोपको पुष्टि हुने कुनै आधार नभएको जनाइएको छ। यता, विपक्षी दलका नेता नेलसन चमिसाले अदालतको निर्णयलार्इ अस्विकार गरेका छन्। 

चीनको रिसोर्टमा आगलागी

चीनको उत्तरपूर्वी क्षेत्रमा रहेको हार्बीनस्थित सन आइल्यान्ड रिसोर्टमा आगलागी हुँदा १९ जनाको मृत्यु भएको छ। यस्तै २३ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरुको हाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चीन सरकारले त्यहाँ होटल, रिसोर्ट, सपिङ मलहरुमा आगलागीका घटनाहरु घटिरहने हुँदा त्यसको न्यूनिकरणका लागि धेरै प्रयास गरेको जनाएको छ। तर लापरवाहीका कारण यस्ता घटनाहरु धेरै हुने गरेको बताइएको छ। 


अफगानिस्तानमा ३३ लडाकू मारिए

अफगानिस्तानको फार्याब प्रान्तमा सुरक्षा कारबाहीका क्रममा ३३ तालिबानी लडाकूको मृत्यु भएको छ। यस्तै अन्य १३ जना घाइते भएका सैन्य अधिकारीले जानकारी दिएका छन्। अफगानिस्तानको हवाइ सुरक्षाबलको सहयोगमा सेनाले सुरक्षा कारबाही गरेको थियो। मृत्यु हुनेहरुमा तालिवानी विद्रोहीका कमाण्डरसमेत रहेका सैन्य अधिकारीहरुले जनाएका छन्। 

एसियाडमा काटा कराते


इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना भइरहेको १८ औं एसियन गेम्स अन्तर्गत महिला काटा कराते खेलमा दक्षिण कोरियाकी अडा वङ आफ्नो खेल देखाउँदै। 

इसटोमिनलार्इ स्वर्ण


उज्बेकिस्तानका डेनिस इसटोमिनले एसियन गेम्स अन्तर्गत पुरूष एक टेनिस प्रतियोगितामा स्वर्ण पदक जितेका छन्। विजय समारोहमा पश्चात इसटोमिन पदकका साथमा तस्विर खिचाउँदै। 

मेसीविरुद्ध बोल्दा 

विश्व फुटबल महासंघ फिफाले प्यालेसटिनियन फुटबल एशोसिएसनका अध्यक्ष जिब्रिल रजोबलार्इ कार्वाही गरेको छ। लियोनल मेसीको सर्ट र तस्विरहरु जलाउन समर्थकहरुलार्इ आह्वान गरेका कारण उनलार्इ १२ महिनाका कुनै पनि फुटबल खेलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाइएको छ। यसका साथै उनले २० हजार अमेरिकी डलर जरिवाना  तिर्नु पर्ने भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell