PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बिम्स्टेकका भीभीआईपी पाहुनाको बास कता?



विधुर ढकाल

बिम्स्टेकका भीभीआईपी पाहुनाको बास कता?

काठमाडौं : यही भदौ १४ र १५ गते बिम्स्टेकको चौथो शिखर सम्मेलनका लागि सात देशका सरकार तथा राष्ट्रप्रमुखहरु नेपाल आउँदै छन्। उनीहरुको सुरक्षा र बासको व्यवस्थाको सरकारले तयारी पूरा गरेको छ। 

सम्मेलनमा सहभागी हुन आउने डेलिगेट्सहरुको ‘लोकल हस्पिटालिटी’को व्यवस्था आयोजक राष्ट्रले व्यहोनुपर्ने बिम्स्टेकको अभ्यास अनुरुप नेपालले सम्मेलनमा सहभागी हुन आउने भीभीआईपी तथा अन्य डेलिगेट्सहरुको बास, खानपिन तथा अन्य बन्दोबस्ती काठमाडौंका विभिन्न तारे होटलहरुमा गरेको छ। 

सम्मेलनमा सहभागी हुन आउने डेलिगेट्स प्रमुख (सरकार वा राष्ट्रप्रमुख), उनका प्रथम (महिला वा पुरुष) तथा अन्य दुई सहयोगीका लागि नेपालले भदौ १३ देखि भदौ १५ सम्मको बासको व्यवस्था गरेको छ। 

त्यस्तै मन्त्रिस्तरीय बैठकमा सहभागी हुने टोलीका लागि भदौ १२ गते देखि र उच्च अधिकारी (विदेश सचिव)को बैठकमा सहभागी हुने डेलिगेट्सहरुका लागि भदौ ११ देखि १५ भदौसम्मको लागि नेपाल बसाईको व्यवस्थापकीय खर्च नेपालले व्यहोर्ने छ। 

भीभीआईपीलाई ‘रेगल सुइट’


सरकारले बिम्स्टेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका प्रधानमन्त्री/राष्ट्रपति/प्रधानन्यायाधीश तथा उनका प्रथम महिला/पुरुषका लागि होटल सोल्टी क्राउन प्लाजाको भीभीआईपी भिल्लामा रहेको रेगल सुइटमा बस्ने व्यवस्था मिलाइएको छ। 

सम्मेलनमा सहभागी हुनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरु १२ गतेदेखि नेपाल आउन थाल्नेछन्। सम्मेलनमा सहभागि हुन् म्यानमारका राष्ट्रपति विन मिन्ट,  श्रीलंकाका राष्ट्रपति मैत्रिपाल श्रीसेना, भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान नेपाल आउँदै छन्। 

उनीहरु नेपाल बसाईका क्रममा सोल्टीको भीभीआईपी भिल्लाको रेगल स्वीटमा बस्ने छन्।

रेगल सुइटमा नेपालका सात वटा तालका नाममा सात कोठा छन्- रारा लेक, फेवा लेक, बेगनास लेक, गोसाइँकुण्ड लेक, फोक्सुन्डो लेक, इम्जा लेक र तिलिचोलेक। सुइटसँगै सहयोगीहरुका लागि क्वार्टरको पनि व्यवस्था छ। 

त्यस्तै मन्त्रीहरुका लागि होटल सोल्टी क्राउन प्लाजामै जुनियर सुइटको व्यवस्था गरिएको छ। सचिवहरुका लागि सोही होटलमा क्लब रुम बुक गरिएको छ। 

अन्य डेलिगेट्सहरुका लागि एक्ज्युकेटिभ रुम बुक गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

सरकारले लोकल हस्पिटालिटीको सुविधा नपाउने अन्य डेलिगेट्सहरुका लागि सोही होटलमा सुपथ दरमा बस्ने व्यवस्थाका लागि होटलसमक्ष समन्वय गरिदिएको छ। 

बिम्स्टेक सम्मेलनको सचिवालय तथा परराष्ट्र मन्त्रालयले डेलिगेट्सहरुको आग्रहमा सो होटलका थप कोठाहरु बुक गर्नका लागि आवश्यकता अनुसार समन्वय गरिदिने छन्। 

डेलिगेट्सहरुले नेपाल बसाईमा कस्तो सुविधा पाउने छन्?

नेपाल बसाईका क्रममा डेलिगेट्सहरुका लागि होटलको बास, खानपिन, यातायातको सुविधा, स्थानीय सञ्चारको सुविधासमेत पाउने छन्। 
अन्तर्राष्ट्रिय सञ्चार सम्पर्कका लागि अन्तर्राष्ट्रिय कल, टेलेक्स, फ्याक्स, हटलाइन तथा धूमपान, मद्यपान तथा सूर्तीजन्य वस्तुको खर्च भने नेपाल सरकारले व्यहोर्ने छैन। 

भीभीआईपीहरुको यातायातको सुविधासहित कारकेडको व्यवस्थासमेत नेपाल सरकारले गर्ने छ। त्यस्तै विदेशमन्त्रीहरु तथा विदेश सचिवहरुका लागि एउटा कारको व्यवस्था सरकारले गर्ने छ। 

अन्य डेलिगेटसका लागि एयरपोर्टदेखि होटेलसम्म र होटेलदेखि एयरपोर्टसम्मको यातायातको व्यवस्था सरकारले गर्नेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell