
टी-२० क्रिकेटलाई ब्याट्सम्यानहरुको खेल भनिन्छ। यसमा विशेषगरी चौका र छक्का बढी प्रहार गरिन्छ। तर यहि फर्म्याटमा बलरहरुले पनि आफूलाई प्रमाणित गरिरहेका छन्।
विश्वका केही स्पीनरहरु रसिद खान, सुनिल नारिन, सन्दीप लामिछाने जस्ता खेलाडीले टी-२० मै उत्कृष्ट बलिङ गरिरहेका छन्।
यस्तै पाकिस्तानका फास्ट बलर मोहम्मद इर्फानले पनि टी-२० मै सबैभन्दा किफायती बलिङ गरे।
प्रसङ्ग हो क्यारेवियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्स र बार्बाडोस ट्रिडेन्ट्सबीचको खेल।
जहाँ इर्फानले टी-२० कै उत्कृष्ट बलिङ गर्ने क्रममा ४ ओभर बलिङ गर्दा ३ मेडनसहित जम्मा १ रन मात्र खर्चेर २ विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको इर्फानको टिम बार्बाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो।
क्रिस गेल, एभिन लेविस जस्ता टी-२० का उत्कृष्ट ब्याट्सम्यान भएको सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सका लागि यो स्कोर खासै ठूलो थिएन।
तर मोहम्मद इर्फानले आफ्नो पहिलो ओभरको पहिलो बलमै क्रि गेलको विकेट लिँदै शानदार सुरुवात गरे। उनले आफ्नो दोस्रो ओभरमा लेविसको विकेट लिए। सुरुवाती २ ओभरमा इर्फानले कुनै रन दिएनन्।
इफानले बार्बाडोसका लागि पाँचौ ओभरमा आफ्नो तेस्रो ओभर बलिङ गरे त्यसमा पनि कुनै रन दिएनन्।
पावर प्लेमा कुनै रन नदिएका इर्फानले पावर प्ले सकिनेबित्तिकै सातौँ ओभर पनि बलिङ गरे। उक्त ओभरको अन्तिम बलमा मात्र इर्फानले एक रन दिए।
चार ओभर बलिङ पछि इर्फानको स्पेश यस्तो थियो, ४-३-१-२।
पाकिस्तानी बलर मोहम्मद इर्फानको अर्को कीर्तिमान पनि छ। उनी विश्वकै सबैभन्दा अग्लो बलर हुन्। ३६ वर्षीय यी फास्ट बलर ७ फिट १ इन्चका छन्।
इर्फान उक्त स्पेशका बावजुत पनि बार्बाडोसले हार टार्न भने सकेन। प्याट्रिओट्सले ७ बल अगावै ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।