
काठमाडौं: बक्स अफिस लागू भएसँगै प्रदर्शनमा आएका फिल्महरु मध्ये 'नाईं नभन्नु ल ५' को सुरुवाती व्यापार राम्रो रह्यो। बक्स अफिस विज्ञ मनिष पण्डितले साउन १ देखी प्रदर्शनमा आएका नेपाली फिल्महरुको दाँजोमा यो फिल्मले राम्रो व्यापार गरेको बताए। साथै फिल्मले शनिबार ७० प्रतिशतको दर्शक अकुपेन्सी प्राप्त गरेको बताए।
प्रदर्शनको दुईदिनमा मोफसल र काठमाडौंबाट डेढ करोड संकलन गरेको फिल्मका लेखक सामिप्यराज तिमल्सेनाले जनाएको छ। काठमाडौं बाहिर शुक्रबार फिल्मले ५० लाख संकलन गरेको थियो। शनिबारको दिन काठमाडौंमा १ करोड २ लाख कमाएको फिल्मले दुई दिनमा डेढ करोडको व्यापार गरेको तिमेल्सिनाले जनाए।
हिट सिरिज फिल्मलाई विकाश राज आचार्यले निर्देशन गरेका हुन्। फिल्ममा स्वस्तिमा खड्का, निरुता सिंह, दिलिप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल लागयतको अभिनय रहेको छ। बालकलाकारमा अनुभव रेग्मी र सेड्रिना शर्माको अभिनय छ।
फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, बसन्त सापकोटाको संगीत, अर्जुन जिसीको सम्पादन, सामिप्यराज तिमल्सेना र बिकासको कथा रहेको छ।