PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

रक्सौल-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको सम्झौता हुँदै, प्रतिवेदन बनेपछि मोडालिटी टुङ्गिने



पहिलोपोस्ट

रक्सौल-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको सम्झौता हुँदै, प्रतिवेदन बनेपछि मोडालिटी टुङ्गिने
प्रतीकात्मक तस्विर

काठमाडौँः बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनका बेला रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन (प्रि फिजिविलिटी स्टडी) का लागि द्धिपक्षीय सम्झौता (एमओयु) हुने भएको छ।

विम्स्टेक सम्मेलनमा भाग लिनका लागि भारतीय पक्षसँग एमओयुको तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले जानकारी दिए।

भदौ १४ र १५ गते हुने विम्स्टेक सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आउँदैछन्। शर्माका अनुसार सम्झौताको फाइल तयार पारेर मन्त्रालय पठाइएको रेल विभागले जनाएको छ।

२०७३ सालमै रेल विभागले वीरगंज-काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो। पछि भारत आफैँले आर्थिक र प्राविधिक सहयोग गरेर रेलमार्गको सर्भे गर्ने भएपछि विभागले टेन्डर रद्द गरेको हो। एमओयु लगत्तै भारतीय पक्षले फिजिविलिटी स्टडी थाल्ने मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रक्सौल-काठमाडौँ रेलमार्ग भारतीय सहयोगमा निर्माण गर्ने सम्झौता भएको थियो। रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन एक वर्षमा सक्ने लक्ष्य लिइएको छ। पूर्व सम्भाव्यता अध्ययनले लागत, निर्माण गर्नका लागि लाग्ने समयावधि लगायतका प्राविधिक विषयहरू समेट्ने छ।

यो प्रतिवेदन तयार भएपछि दुर्इ देशका अधिकारीहरू बसेर मोडालिटी टुङग्याउँने छन्। भारतीय सहयोगमा रेलमार्ग निर्माण गर्ने सम्झौता भए पनि ऋण र अनुदान टुंगो लागेको छैन। विभागका अनुसार भारतको रक्सौलबाट निजगढ हुँदै काठमाडौँ आइपुग्ने रेल करिब १३० किलोमिटरको हुनेछ। यो रेलमार्गको २० प्रतिशत भाग पुल र टनेलमा निर्माण गर्नुपर्ने प्रारम्भिक अनुमान विभागको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell