काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसिया अन्तर्गत सोमवार करातेमा प्रतिस्पर्धा गरेका नेपालका दुई खेलाडी क्वाटरफाइनलमा पराजित भएका छन्।
पुरुष ८४ केजीमुनी तौल समूहमा सिधै क्वाटरफाइनल खेलेका नेपालका दिवस श्रेष्ठ इरानका जावीओलाह पुरशाबसँग ८-० ले पराजित भए।
महिला ५० केजीमुनी नेपालकी अनु अधिकारी क्वाटरफाइनलमा पराजित भइन्। प्रिक्वाटरफाइनलमा मकाउकी चिङ चेउङलाई ५-१ ले हराउदै अन्तिम ८ मा पुगेकी अनु क्वाटरफाइनलमा भने चाइनि ताइपेईकी सिअउसुआङसँग ७-२ ले पराजित भइन्।
यस्तै बक्सिङतर्फ पनि नेपालका दिपक श्रेष्ठ पहिलो खेलमै पराजित भए। पुरुष ७५ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका दिपक अन्तिम १६ को खेलमा चाइनिज ताइपेईका चिएवई कानसँग ५-० ले पराजित भए।
यसैगरी सोमवारै भएको एथ्लेटिक्स अन्तर्गत महिला ८ सय मिटर दौडमा नेपालकी सरस्वती भट्टराई क्वालिफिकेसन राउण्डबाटै बाहिरिएकी छिन्। हिट ३ मा दौडँदै २ मिनेट १२.८५ सेकेण्ड समय निकालेकी सरस्वती समग्रमा २० खेलाडी मध्ये १३औँ भइन्। आफ्नो हिटमा उनी ७ खेलाडीमध्ये छैटौँ भएकी थिइन्।
सेपाकताक्रो पुरुष रेगु प्रिलिमिनरी राउण्डमा नेपाल भारतसँग ३-० ले पराजित भयो।
स्क्वास अन्तर्गत पुरुष पुल राउण्डमा नेपाल दक्षिण कोरियासँग ३-० ले पराजित भयो।
टेबलटेनिस
टेबलटेनिसअन्तर्गत नेपालको महिला टिम समूह डी को प्रिमिलनरी राउण्डमा हङकङ र भियतनामसँग समान ३-० ले पारजित भयो। यस्तै नेपाली पुरुष टोली उत्तर कोरियासाग ३-० ले नै पराजित भयो।
प्याराग्लाइडिङ क्रस कन्टी टिम विधातर्फ तेस्रो राउण्डमा नेपालको पुरुष टोली चौथो तथा महिला टोली छैटौँ स्थानमा छ।