PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

विम्स्टेकका उच्च अधिकारीको आज बैठक, यी हुन् छलफलका एजेण्डा



विधुर ढकाल

विम्स्टेकका उच्च अधिकारीको आज बैठक, यी हुन् छलफलका एजेण्डा

काठमाडौँ: बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन अगाडि आज परराष्ट्र सचिवस्तरीय बैठक बस्दैछ। १९औँ उच्च अधिकारी स्तरीय बैठकले भोलि बस्ने १६औँ मन्त्रिस्तरीय बैठककको एजेण्डा तय गर्नेछ।

सम्मेलन भदौ १४ र १५ मा काठमाडौँमा बस्नेछ। सम्मेलनका एजेण्डा तय गर्नका लागि सचिवस्तरीय बैठक बस्न लागेको हो।

बैठकले मन्त्रिस्तरीय बैठकका एजेण्डा तय गर्ने छ र भोलिको मन्त्रिस्तरीय बैठकले ती एजेण्डालाई अन्तिम रूप दिने छ। यसरी मन्त्रिस्तरीय बैठकले सहमति जुटाएका एजेण्डालाई सम्मेलनले पारित गर्ने छ।

यसैबीच बैठकमा क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्यलगायतका विषयमा छलफल हुने परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए।

त्यस्तै बैठकले बैठकले गत साउन २५ र २६ गते काठमाडौंमा सम्पन्न बैठकको समीक्षा गर्ने छ। सो बैठकले विम्स्टेकको बडापत्रमाथि सहमति जुटाएको थियो। त्यस्तै १५ औँ मन्त्रिस्तरीय बैठकको प्रतिवेदनका विषयमा समेत छलफल हुने बताइएको छ।

यसैबीच यातायात तथा पारवहन सन्धिसम्बन्धी कार्यटोलीको समेत बैठक आजै छ। परराष्ट्र सचिवले नेतृत्व गर्ने बैठकमा सदस्य राष्ट्रबीच पारवहन सम्झौताको प्रोटोकलको विषयमा बैठकमा छलफल हुनेछ।

पारवहन सम्झौता यसपटकको सम्मेलनको एजेण्डा पनि हो। यसअघि नै सबै सदस्य मुलुकहरू यो सम्झौता गर्न सहमत भइसकेका छन्। तर सम्झौताको प्रोटोकलमा सहमति जुट्न सकेको छैन।

यस विषयमा बिम्स्टेकका मन्त्रिस्तरीय र उच्च अधिकारी स्तरीय बैठकमा विभिन्न चरणमा छलफल भइसकेको छ। तर सम्झौता हुन सकिरहेको छैन।

बैठकमा सबै सदस्य मुलुकका प्रतिनिधिले सम्झौताको मस्यौदामाथि आफ्ना धारणा राख्नेछन्। यो सम्झौता कार्यान्वयनमा आए नेपालले विम्स्टेकका अन्य ६ सदस्य राष्ट्रका सडकको निःशुल्क प्रयोग गर्न पाउने छ।

कार्यटोलीको बैठकले सम्झौतालाई अन्तिम रूप दिन सके सम्मेलनमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। सम्झौताका विषयमा भुटानसहित म्यानमार र थाइल्याण्डले फरक विचार राख्दै आएको छन्। भुटानकै कारण विविआइएन (भुटान बंगलादेश भारत नेपाल) यातायात सम्झौतासमेत कार्यान्वयनमा आउन सकेको छैन।

यसैबीच बैठकमा बिम्स्टेकले पहिचान गरेका १४ वटा सहयोगसम्बन्धी साझेदारीका क्षेत्रहरूका विषयमा समेत छलफल हुनेछ। विम्स्टेकको १९९८ नोभेम्बर मा ढाकामा सम्पन्न दोस्रो मन्त्रिस्तरीय बैठकले ६ वटा प्राथमिकताका क्षेत्र पहिचान गरेको थियो। दोस्रो बैठकले व्यापार तथा लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि र मत्स्यपालनलाई प्राथमिकताका क्षेत्र पहिचान गरेका थियो।

पुनः सन् २००५ डिसेम्बरमा ढाकामा सम्पन्न आठौँ मन्त्रिस्तरीय बैठकमा आइपुग्दा सातवटा साझेदारीका क्षेत्रहरू थपिए। विम्स्टेकको पहिलो सम्मेलनमा छलफल भए अनुरूप मन्त्रिस्तरीय बैठकले कृषि, जनस्वास्थ्य, गरिबी निवारण, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, वातावरण तथा विपद् व्यवस्थापन, जनस्तरमा सम्पर्क र सांस्कृतिक साझेदारीलाई साझेदारीका नयाँ क्षेत्रको रूपमा पहिचान गरेको थियो।

पछि सन् २००८ को नोभेम्बरमा नयाँ दिल्लीमा सम्पन्न ११ औँ मन्त्रिस्तरीय बैठकले जलवायु परिवर्तलाई समेत साझेदारीको क्षेत्रको रूपमा पहिचान गरेको हो। यी सबै साझेदारीका क्षेत्रहरूमा रहेर विविध आयामहरूमा सम्मेलनमा छलफल हुनेछ।

 

म्यानमारका राष्ट्रपति आज आउँदै

यसैबीच विम्स्टेकको सम्मेलनमा सहभागी हुनका लागि आज म्यानमारका राष्ट्रपति विन मिन्ट नेपाल आउँदैछन्।

त्यस्तै भदौ १३ गते भोलि श्रीलङ्काका राष्ट्रपति मैत्रीपाल श्रीसेना र भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउने छन्।

त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ गते बिहीबार काठमाडौँ आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell