
काठमाडौं : निर्मला हत्या प्रकरणमा केही दिनदेखि तनावग्रस्त बनेको महेन्द्रनगर शान्त बन्दै गएको छ। स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश पनि दिउँसो हटेको छ।
मङ्गलवार बिहानदेखि नै बजार, चोकमा चहलपहल बढेको छ। महेन्द्रनगरमा विरोध प्रदर्शनका कुनै पनि कार्यक्रमहरू नभएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कुबेरबहादुर कठायतले बताए।
स्थानीय प्रशासनले आज साँझ ८ बजेदेखि बुधवार बिहान ४ बजे सम्म भने कर्फ्यु आदेश जारी गरेको छ।
प्रहरीले पक्राउ गरेका दुई दिदी बहिनीलाई अदालतबाट सोमबार म्याद थप गरी अनुसन्धान सुरु गरिसकेको छ। भीमदत्त नगरपालिका वडा नम्बर १८ का रोशनी बम र वविता बमलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको थियो। उनीहरूसँग आवश्यक सोधपुछ र बयान हुने एसपी कठायतले बताए।
गएको साउन १० गते १३ वर्षीया निर्मला पन्त खाना खाएर आफ्नै कक्षाकी साथी रोशनी भन्ने आँचल बमको घरमा सँगैपढ्नको लागि गएकी थिइन्। त्यसपछि भोलिपल्ट उनको शव नजिकैको उखुवारीमा भेटिएको थियो।
निर्मलाको हत्याको अभियोगमा प्रहरीले २४ दिनपछि मुख्य अभियुक्त बनाएर सार्वजनिक गरेका ४१ वर्षीय दिलीपसिंह बिष्टलाई उपचारको लागि काठमाडौँ पठाएको छ। प्रहरीले दिलीपसिंहलाई मानसिक रोगी भएको दाबी गरिएको छ।
दिलीपको स्वास्थ्य अवस्थाबारे जाँच गर्न काठमाडौं पठाइएको एसपी कठायतले बताए।