PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

आजबाट भीभीआईपी आउन थाल्ने, यस्तो छ काठमाडौं ओर्लिने सेड्युल



विधुर ढकाल

आजबाट भीभीआईपी आउन थाल्ने, यस्तो छ काठमाडौं ओर्लिने सेड्युल

काठमाडौं : बिहीवार र शुक्रवार काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनमा सहभागी हुनका लागि भीआइपीहरुको आगमन सुरु भएको छ। 

सदस्य मुलुकहरुबाट उच्च अधिकारीहरु काठमाडौं आइपुगेका छन्। सबै सदस्य मुलुकका परराष्ट्र सचिवसहितका उच्च अधिकारीहरु सोमवार नै काठमाडौं आइपुगेका हुन्। उच्च अधिकारीहरुको १९ औं बैठक होटल सोल्टीमा चलिरहेको छ। 

त्यस्तै सबै देशका विदेशमन्त्रीहरु आज साँझसम्म काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। आज विदेशमन्त्रीहरुको सम्मानमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले रात्रीभोजको आयोजना गर्नेछन्। बुधवार विदेशमन्त्रीस्तरीय बैठक बस्दै छ। 
 

म्यानमारका राष्ट्रपति आज आउँदै, कुन देशका भीभीआईपी कहिले आउने?

यसैबीच विम्स्टेक सम्मेलनमा सहभागी हुनका लागि म्यानमारका राष्ट्रपति आज काठमाडौं आउँदै छन्। 

म्यान्मारका राष्ट्रपति विन मिन्ट आज दिउसो २:४५ बजे काठमाडौं आइपुग्नेछन्। उनको स्वागतका लागि तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

त्यस्तै बुधवार भुटानका प्रधानन्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक पनि काठमाडौं आइपुग्ने कार्यक्रम छ। 
उनी भुटानको राष्ट्रिय ध्वजावहाकबाट विहान ८ बजे काठमाडौं ओर्लिने कार्यक्रम तय भएको छ। 

बुधवार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाल श्रीसेना काठमाडौं आउने छन्। उनी सवार विमान दिउसो २:३५ मा काठमाडौंमा अवतरण गर्ने सेड्युल तयार भएको छ। त्यस्तै थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान पनि बुधबार नै नेपाल आउने कार्यक्रम छ। उनी १०:१५ बजे काठमाडौं ओर्लिने छन्। 

त्यस्तै सम्मेलनको दिन भदौ १४ गते बिहीवार विहान ८:३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं ओर्लिनेछन्। उनीपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बिहान ९:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने छन्। 

विमानस्थल प्रवेशमा कडाई

यसैबीच विम्स्टेक सम्मेलनका लागि भीभीआईपीको आगमनलाई ध्यानमा राखी त्रिभुवन विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। साथै विमानस्थलमा प्रवेशमा समेत कडाई गरिएको छ। 

विमानस्थल प्रशासनले विमानस्थलमा हवाईयात्रुबाहेकलाई प्रवेशमा रोक लगाएको छ। 

विमानस्थल प्रमुख राजकुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै यात्रु स्वयम् सक्षम भएको अवस्थामा सहयोगी लैजान रोक लगाइएको जनाएका छन्। त्यस्तै विरामी तथा अशक्तको हकमा एक जना सहयोगीबाहेक अरुलाई प्रवेश रोक लगाइएको छ। 

रिङरोडबाट विमानस्थलको प्रवेश मुलद्वारा (गोल्डेन गेट) चेकिङबाट यात्रुवाहेक अरुलाई फर्काइने छ।

अशक्त तथा विरामीलाई लिएर विमानस्थल प्रवेश गरेका सहयोगी यात्रु डिपार्चरतर्फ प्रवेश गरेको १५ मिनेटभित्र विमानस्थलबाट बाहिरिसक्नु पर्ने छ। 

यसैबीच विमानस्थलमा भाडाका ट्याक्सीलाईसमेत प्रवेशमा रोक लगाइएको छ। विमानस्थल पास भएका तथा यात्रु लिइ गएका सवारी साधनलाई मात्र विमानस्थल प्रवेशको अनुमति दिइने छ। यात्रु लिइ विमानस्थल भित्र प्रवेश गर्ने सवारी साधनलाई विमानस्थलमा भित्र रोक्न निषेध गरिएको छ। 

विमानस्थलभित्र यात्रु र समान ओरालेसँगै पार्किङ स्थलमा प्रवेश नगरी विमानस्थलबाट बाहिरिन विमानस्थलले अनुरोध गरेको छ।
 
त्यस्तै यात्रु लिन जाने होटल तथा अन्य सवारी साधनलाई विमान अवतरणको १० मिनेट अगाडि मात्र विमानस्थल प्रवेश दिइने छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell