काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन्। मंगलवार बसेको संसदको बैठकमा उनले संसदलाई विम्स्टेकको चौथो सम्मेलनको विषयमा जानकारी गराएका हुन्।
यही बिहीवारदेखि विम्स्टेकको चौथो शिखर सम्मेलन काठमाडौंमा हुँदैछ। प्रधानमन्त्री ओलीले संविधान निर्माण तथा तीनै तहका निर्वाचनपछि नेपालमा पहिलो क्षेत्रीय सम्मेलन हुन लागेको भन्दै अध्यक्ष राष्ट्रको हैसियतले सफल रुपमा आयोजना गरी अर्को राष्ट्रलाई अध्यक्षता हस्तान्तरण गर्ने दायित्व आफ्नो भएको बताए।
सम्मेलनका अन्त्यमा नेपालले श्रीलंकालाई विम्स्टेकको अध्यक्षता हस्ताक्षर गर्ने छ।
संसदमा नेपालले वुद्धिष्ट सर्किटलाई बंगलाको खाडीसम्म विस्तारको लक्ष्य लिएको जानकारी दिए। नयाँ सरकार गठनसँगै विम्स्टेकको तयारी भएको भन्दै २/२ वर्षमा हुनुपर्ने सम्मेलन नेपालको भूकम्प, संविधान निर्माण तथा निर्वाचनका कारण ढिलो भएको उनले जानकारी दिए। सन् २०१४ मा म्यानमारमा सम्पन्न तेस्रो शिखर सम्मेलनबाट नेपाल अध्यक्ष भएको थियो।
सम्मेलनमा विम्स्टेकका १६ वटा प्रथमिकताका विषयमा छलफल हुने बताए। 'व्यापार, कनेक्टिभिटी, संगठित अपराध विरुद्धको अभियान र वातावरणका विषयमा चौथो शिखर सम्मेलनले विशेष जोड दिँदै छ,' उनले भने। १४ वटा क्षेत्रहरु रहेको विम्स्टेकको सन् २०१७ मा सम्पन्न मन्त्रीस्तरीय बैठकले थप दुई व्लु इकोनोमी र माउन्टेन इकोनोमीलाई थप गरेको थियो।
विम्स्टेकलाई संगठनका लागि संगठन मात्र नभइ क्षेत्रीय सहयोगका क्षेत्रमा अगाडि बढाउनुपर्ने उनले बताए।
श्रीलंका र म्यानमारका राष्ट्रपतिको यो भ्रमण नेपालको औपचारिक सद्भाव भ्रमण पनि हुने उनले जानकारी दिए।
उनले नेपाल अध्यक्ष रहेको सार्कको शिखर सम्मेलन कतिपय सदस्य राष्ट्रहरुबीचको कतिपय समस्याले विलम्व भइरहेको बताए। उनले सार्कको सम्मेलन नभए पनि सार्कका अन्य अंगहरुले काम गरिरहेको जानकारी दिए।