PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

इन्जिनियरिङमा डिप्लोमा सकेर अभिनय : 'कुटुमा कुटु...'ले बनाएको स्वस्तिमाको पहिचान



रीना मोक्तान

 इन्जिनियरिङमा डिप्लोमा सकेर अभिनय : 'कुटुमा कुटु...'ले बनाएको स्वस्तिमाको पहिचान

फिल्म 'होस्टेल ‍रिटर्नस्’बाट डेब्यु गरे पनि अभिनेत्री स्वस्तिमा खड्काका लागि 'कुटुमा कुटु सुपारी दाना…' गीतको भिडियोमा देखिनु करियरको टर्निङ पोइन्ट बन्यो। 'सुपारी दाना…'ले नै उनलाई चिनायो।

पहिलो फिल्म सफल भए पनि त्यसमा स्वस्तिमाको बेग्लै पहिचान बनेन। लगत्तै उनी निर्देशक निश्चल बस्नेतसँग बैवाहिक बन्धनमा बाँधिइन्। बिहेले उनलाई करियरमा केन्द्रित हुन रोकेन।
 
'बिहेपछि करियर सकिन्छ भन्ने पक्षमा म थिइनँ। त्यसैले इच्छाले विवाह गरेकी हुँ। झन् परिवारको साथ सहयोगले बैवाहिक जीवन र करियर एकसाथ अघि बढ्न सहयोग गर्‍यो,’ उनी प्रष्ट पार्छिन्।

आर्मी बुवाको छोरी स्वस्तिमाले स्कुले जीवनका ७ वर्ष भक्तपुरको वीरेन्द्र सैनिक विद्यालयबाटै पूरा गरिन्। ‘अर्डर र डिसिप्लेन’ बीच हुर्किनु सामान्य भयो उनका लागि। 'आर्मी भन्ने बित्तिकै स्वभावैले रिसाह लाग्छ। त्यसैले होला मेरो व्यवहारमा त्यसको प्रभाव झल्कन्छ। म पनि झट्ट रिसाइहाल्छु,' मुस्काउँदै सुनाइन्। 

उमेर र संगतसँगै उनको रहरहरु पनि फेरियो। सानो छँदा नाच्न गाउन रमाउने स्वस्तिमाको लक्ष्य थियो- एयर होस्टेस। पछि लक्ष्य फेरिँदै सेकेण्ड लेफ्टिनेन्टतिर झुकाब बन्यो। परीक्षा पनि दिइन्। ‘तर, नाम निस्किएन। कति धेरै रोएथें त्यतिखेर,‘ उनले सम्झिइन्।

स्वस्तिमाले त्यसपछि पढाईलाई निरन्तरता दिइन्। प्लस टू सक्काएपछि उनले अङ्ग्रेजी साहित्य पढ्ने सोचिन्। बुवाको चाहना थियो – इन्जिनियर बनोस्। त्यसैले आर्किटेक्चरमा डिप्लोमा ‍गरिन्, भइन् सव-इन्जिनियर।

बुवाले देखेको सपना पूरा गरेकी उनको मन भने अन्तै भौतारिँदै थियो। औपचारिक शिक्षा लिए पनि आफूले नचाहेको ठाउँमा मन कहाँ टिक्थ्यो र? उनमा एकाएक अभिनयप्रतिको आकर्षण छिर्‍यो। परिवारको डरले तत्कालै नयाँ करिअरमा हामफल्ने हिम्मत जुटेन।

'हामी सामान्य मानिसका लागि अभिनय सपना मात्र हुन्छ जस्तो लाग्थ्यो। तर, त्यस्तो गाह्रो रहेनछ,'व्यङ्ग्यात्मक शैलीमा भनिन्, 'नेपाली फिल्म क्षेत्रमा आउन गाह्रो छैन। आएर टिक्न भने गाह्रो हो।' 

अहिले त म्युजिकल्ली लगायत सामाजिक सञ्जालले अभिनयको रहर पूरा गर्ने बाटो सहज बनाएको बताउँछिन् उनी।

अभिनयको यात्रा भने उनले भने ब्युटी कन्टेस्टको बाटो हुँदै मोडलिङको बाटोमार्फत् लिइन्। १८ वर्षको उमेरमा मिस टिन २०१३ मा सहभागी भएकी थिइन् उनी। त्यहाँ टप फाइभबाट बाहिरिइन्। बाहिरिएसँगै दुईवटा म्युजिक भिडियो गरिन्। त्यसपछि निर्देशक सुनिल रावलले ‘होस्टेल रिटर्न्स'का लागि छनोट गरे।

'दोस्रो म्युजिक भिडियो गर्दैगर्दा निर्देशक सुनिल रावलले प्रस्ताव राख्नुभयो। फिल्मको वर्कसपमा भाग लिएँ। फिल्ममा पक्का भइसकेछु। खुशीले भुइँमा खुट्टा रहेन,' फिल्म डेब्युको क्षण सम्झँदा उनको अनुहार चहकिलो देखिन्छ।
  

निश्चलसँग प्रेम अनि बिहे

फिल्मको प्रमोसनताका नै उनले निश्चललाई भेटेकी थिइन्। 'फिल्म क्षेत्रमा संघर्ष गर्दै थिएँ। निश्चल र म फेसबुकमा साथी थियौं। तर, खासै कुरा हुन्थेन,' उनले भनिन्।

तर, संयोग कस्तो जुर्यो भने 'होस्टल' फिल्ममा निश्चलका आफन्त पनि जोडिएका थिए। ‘उनैले मलाई निश्चल मनपर्ने कुरा पुर्‍याएकी रहिछिन्,' अफेयरको सुरुवाती दिनबारे उनी खुलिन्। 

२०७२ को भूकम्पपछि चाहिँ फेसबुकमा निश्चल र उनको कुरा हुन थाल्यो। ‘एक अर्कासँग नजिक भयौं। ५ महिना जतिको लभ पछि विवाह गर्‍यौं,' उनले सुनाइन्।

उनी आफूले डिजर्भ गर्ने जति खुशी पाएकोमा दङ्ग छिन्। खुशीहरुको सूचीमा पर्छ निश्चलसँगको सम्बन्ध। ‘करियर र वैवाहिक जीवनमा एउटा छान्न पर्ने अवस्था आउन सक्थ्यो। मैले दुवैलाई एकसाथ लग्न पाएँ,' उनले भनिन्।

निर्देशकसँग बिहे गरेपछि फिल्मको ओइरो लाग्छ भन्ने दृष्टिकोण मानिसहरुमा नभएको होइन। तर, उनले त्यो सबै कुरा सहनका लागि आफू तयार भएर नै बिहे गरेको बताइन्। सकारात्मक हुँदै भनिन्, 'म बच्चा हुँदा मैले पनि कति अभिनेत्रीलाई त्यस्तै सोच्थेँ। नाम नलिउँ, तर त अभिनेत्रीले फिल्मका लागि प्रोड्युसरसँग बिहे गरे भन्ने सोच्थेँ। आज मेरो हकमा त्यस्तै सोचिन्छ।' 

स्वस्तिमा अहिले २३ वर्षकी भइन्। घरमा निश्चलको बहिनी, आमा छन्। माइतीमा बुवा, आमा, दाइ र भाइ। घरपरिवारबाट उनलाई फिल्म गर्न सपोर्ट छ।

‘त्यतिखेर बिहे नगरेको भए आज म जहाँ छु त्यहाँ हुन्थिन होला। तर, बिहे गरेपछि पनि करियरमा गाह्रो भने हुन्छ। मैले २८ वर्षपछि बिहे गर्छु भन्ने सोचेको थिएँ। तर, म कुनै काम योजना बनाएर अघि बढ्नेहरुमा पर्दिन्,’ हाँस्दै सुनाइन्।

उनी चाहन्छिन् अभिनयमा करियर बनाउन चाहनेलाई अभिभावक र परिवारका सबैले साथ दिउन्, चाहे उ विवाहित होस् या अविवाहित।
पति निश्चल र उनका लागि फिल्म दैनिकी नै भएको छ। दुवै फिल्ममा व्यस्त छन्। बिहे गरेको तीन वर्षमा स्वस्तिमाले आफ्नो करियरलाई गजबले अगाडि बढाएकी छिन्। सुटिङको व्यस्ततासँगै परिवारका लागि समय मिलाउन भ्याउँछ उनको जोडी। 'सुटिङ गर्दा बाहिर रहे पनि अरु बेला समय दिन्छु,' उनले भनिन्। 

उनले 'होस्टेल रिटर्न्स', 'लभ लभ लभ', 'छक्का पञ्जा ३', 'जय भोले' र 'नाईं नभन्नु ल ५' जस्ता फिल्म गरिसकेकी छिन्। संयोग नै हो 'नाईं नभन्नु ल ५' उनको पाँचौं फिल्म बन्यो। 'नाईं नभन्नु ल ५' सफल ब्राण्ड भएकाले उनी त्यसमा जोडिइन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell