PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कञ्चनपुरमा ८ बजेबाट फेरि कर्फ्यू, बम दिदी बहिनीको बयान सुरु 



पहिलोपोस्ट

कञ्चनपुरमा ८ बजेबाट फेरि कर्फ्यू, बम दिदी बहिनीको बयान सुरु 

  • महेन्द्र बम ‍-
कैलाली : कञ्चनपुरको भीमदत्तनगरमा मंगलबार रातिबाट फेरि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले विगत पाँच दिनदेखि जारी कर्फ्यु मंगलबार बिहान हटाएको थियो। कर्फ्यु खुकुलो पारेपछि दिनभर स्थानीयको चहलपहल बढेको भीमदत्तनगरमा राति फेरि कर्फ्यु जारी गरिएको प्रशासने जनाएको छ। 

प्रशासनले मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ४ बजेसम्म कर्फ्यू आदेश जारी रहने जनाएको छ। भीमदत्त नगरपालिकाको वडा नम्बर ४, ६ र १८ मा जिल्ला प्रशासन कार्यालयले अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए।
 
कर्फ्यूका कारण गएको शुक्रबारदेखि बन्द रहेका शैक्षिक संस्था मंगलबारदेखि खुलेका छन्। दिउँसो पसल खुल्नुका साथै र गाडी पनि चलेको थियो। 

१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई कारबाही माग गर्दै आन्दोलन चर्किँदा स्थानीय प्रशासनले सदरमुकाम आसपासका क्षेत्रमा गएको शुक्रबारदेखि कर्फ्यू आदेश जारी गर्दै आएको छ।


बम दिदी–बहिनीको बयान सुरु

निर्मला पन्त हत्याको अनुसन्धानमा पक्राउ परेका रोशनी बम र बबिता बमको बयान सुरु भएको छ। मंगलबारदेखि उनीहरुको लिखित बयान सुरु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बम दिदी बहिनीलाई ६ दिन थुनामा राखेर अनुसन्धान गर्न सोमबार प्रहरीलाई अदालतले अनुमति दिएको थियो।  

साउन १० गते उनीहरुकै घरमा गएकी पन्तको हत्या भएको हो। तर, उनीहरुमाथि प्रहरीले राम्रोसँग अनुसन्धान नगरेको भन्दै मृतकका आफन्त प्रहरीसँग रुष्ट भई आन्दोलन गरेका थिए। रोशनी निर्मलाकी साथी हुन्, भने बबिता उनकी दिदी। 

अभियुक्त विष्टलाई काठमाडौं लगियो  

प्रहरीले पन्तको हत्या र बलात्कार आरोपमा पक्राउ गरेका दिलीपसिंह बिष्टलाई काठमाडौं लगिएको छ। डिएनए परीक्षण तथा थप स्वास्थ्य परीक्षणका लागि मंगलबार काठमाडौं लगिएको  प्रहरीले बताएको छ।  

उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ। पक्राउ गर्ने प्रहरी अधिकारीले पनि बिष्ट नै प्रमुख अभियुक्त भएको दाबी गर्दै आएका छन्। तर, स्थानीयले भने उक्त कुरा अस्वीकार गर्दै आएका छन्। 

डिएनए परिक्षणपछि विस्तृत विवरण खुल्ने प्रहरीको दावी छ। 

प्रहरीले मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई पक्राउ गरेर घटना ढाकछोप गर्न खोजेको भन्दै स्थानीयले गरेको विरोध प्रदर्शन हिंसात्मक बनेको थियो। आन्दोलनका क्रममा प्रहरीसँग झडप भएपछि एक बालकको ज्यान गएको थियो भने केही घाइते भएका  थिए।

निर्मला पन्त हत्या प्रकरणमा गम्भीर लापर्वाही गरेको आरोप लागेपछि सरकारले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई निलम्बन गरिसकेको छ।
अहिले गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा रहेको अनुसन्धान टोली कञ्चनपुर खटाएको छ। टोलीले नयाँ शिराबाट सुरुदेखि घटनाको अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell