PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

‘विम्स्टेक ग्रिड इन्टरकनेक्सन’ सम्बन्धि समझदारीपत्रलाई अन्तिम रुप दिँदै सकियो उच्च अधिकारीको बैठक



विधुर ढकाल

‘विम्स्टेक ग्रिड इन्टरकनेक्सन’ सम्बन्धि समझदारीपत्रलाई अन्तिम रुप दिँदै सकियो उच्च अधिकारीको बैठक

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलन अगाडि सम्पन्न वरिष्ठ अधिकारीहरुको बैठकले उर्जा सहायता अभिवृद्धि गर्नका लागि ‘विम्स्टेक ग्रिड इन्टरकनेक्सन’ स्थापना सम्बन्धी समझदारीपत्रलाई अन्तिम रुप दिएको छ। 

मंगलबार साँझ सम्पन्न सचिवस्तरीय उच्च अधिकारीहरुको १९ औं बैठकले समझदारीपत्रलाई अन्तिम रुप दिइ हस्ताक्षरका लागि शिखर सम्मेलनमा सिफारिस गर्ने निर्णय गरेको हो। योसँगै बिहीवार र शुक्रवार हुने विम्स्टेकको चौथो शिखर सम्मेलनमा सो समझदारीपत्रमा हस्ताक्षर हुने बाटो खुलेको छ।

‘समझदारी पत्रले सदस्य मुलुकहरुबीच उर्जा क्षेत्रमा साझेदारीका लागि थप बाटो खोल्ने छ,’ बैठक पछि परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा उल्लेख छ। 

आजको बैठकले भोलि बस्‍ने १६ औं मन्त्रिस्तरीय बैठकको एजेण्डा र प्रतिवेदनको मस्यौदालाई समेत अन्तिम रुप दिएको परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले जानकारी दिए। 

बैठकले विम्स्टेक अन्तर्गत साझेदारीका थप सम्भावनाहरुका विषय छलफल भएको पौडेलले बताए।

बैठकले विम्स्टेक विकास कोष स्थापनाको सम्भावनाको विषयमा समेत छलफल गरेको छ। त्यस्तै सदस्य राष्ट्रको सुझाव अनुसार साझेदारीका मुल प्राथमिकताको विषयमा समेत छलफल भएको उनले जानकारी दिए। 

त्यस्तै विम्स्टेकको सचिवालयलाई थप सशक्त बनाउँदै निर्णयहरुको कार्यान्वयनमा थप सहयोग गर्न बैठकले सहमति जुटाएको छ। त्यस्तै विम्स्टेक चार्टरको विषयमा समेत बैठकमा छलफल भएको थियो। त्यसतै विम्स्टेक मेकानिज्मको कार्यविधि र प्रक्रियाको विषयमा छलफल गरिएको प्रवक्ता पौडेलले जानकारी दिए। 

त्यस्तै बैठकले महासचिवको प्रतिवेदनको समीक्षा गर्दै अंगिकार गरेको छ। बैठकले भन्सार सहायता सम्बन्धि कार्यटोलीको नयाँ दिल्लीमा मे १० र ११ गते सम्पन्न पहिलो बैठकलाई अंगिकार गरेको छ।
 
सम्पर्क र सम्बन्ध विस्तारका लागि यातायात कनेक्टिभिटी सम्बन्धी कार्यटोलीको बैंककमा २०१७ नोभेम्वरमा सम्पन्न दोस्रो बैठकको प्रतिवेदन, सन् २०१७ नोभेम्वरमै नयाँ दिल्लीमा सम्पन्न विम्स्टेक कोस्टल सिपिङ एग्रीमेन्ट सम्बन्धि बैठकको प्रतिवेदन र २०१८ को अप्रिलमा नयाँ दिल्लीमा सम्पन्न विम्स्टेक मोटर भेइकल एग्रिमेन्ट सम्बन्धि कार्यटोलीको पहिलो बैठकको प्रतिवेदनलाई समेत अंगिकार गरेको छ।

प्रविधि हस्तान्तरण सम्बन्धि कार्यटोलीको श्रीलंकामा सम्पन्न बैठकको प्रतिवेदन, ढाकामा सम्पन्न विम्स्टेक राष्ट्रिय सुरक्षा प्रमुहरुको दोस्रो बैठक र प्रति आतंकवाद तथा अन्तरदेशीय अपराधसम्बन्धि विम्स्टेकको संयुक्त कार्यटोलीको ढाका बैठकको प्रतिवेदनसमेत बैठकले अंगिकार गरेको छ। 
त्यस्तै कृषि, गरिबी निवारण, जनस्वास्थ्यसम्बन्धि विभिन्न चरणमा भएका बैठकहरुको प्रतिवेदनलाई अंगिकार गर्दै मंगलबार सम्पन्न बैठकले सचिवलायको सुदृढीकरण र त्यसको बजेटसमेत अनुमोदन गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell