PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एसियाड : २० वर्षपछि नेपालले जित्यो रजत पदक, प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक सफलता



पहिलोपोस्ट

एसियाड : २० वर्षपछि नेपालले जित्यो रजत पदक, प्याराग्लाइडिङमा नेपाललाई ऐतिहासिक सफलता
फोटो : NSJF

काठमाडौँ : एसियन गेम्स (एसियाड) मा नेपालले दोस्रो रजत पदक जितेको छ। इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत प्याराग्लाइडिङतर्फ पुरुष टिम क्रस कन्ट्री विधामा नेपालले रजत पदक जितेको हो।

यसै संस्करणदेखि एसियाडमा समावेश गरिएको प्याराग्लाइडिङमा नेपालले पहिलो सहभागितामै ऐतिहासिक सफलता हात पारेको हो।

नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जितेको हो भने यो समग्रमा दोस्रो रजत पदक हो।

यस्तै प्याराग्लाइडिङमा पदक जितेसँगै नेपालले १८औँ एसियाडमा पदकको खडेरी समेत तोडेको छ। यसअघिको एसियाडमा नेपालको लागि पदक जितेको तेक्वान्दो, बक्सिङ र करातेमा नेपालले यसपटक पदक जित्न सकेन।

वेष्ट जाभास्थित गुनुस मास पुनकेकमा बुधबार भएको अन्तिम राउण्डमा नेपालका ५ मध्ये ३ खेलाडीले टास्क पुरा गरेको नेपाली टिमका म्यानेजर शैलेन राउतले बताए।

नेपालले कूल ११ हजार ३६४ अंक जोड्दै दोस्रो स्थान हात पारेको हो। पहिलो भएको जापानले कूल ११ हजार ३९१ अंक जोड्यो। नेपाल स्वर्ण पदक जित्नबाट २७ अंकले मात्र पछि पर्यो। यस स्पर्धामा जापानले स्वर्ण, नेपालले रजत र इन्डोनेसियाले कास्य जित्यो।

अनुभवी पाइलट विमल अधिकारीको नेतृत्वमा रहेको नेपाली टिममा विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा छन्।

पुरुष क्रस कन्ट्रीको पहिलो र दोस्रो राउण्डमा तेस्रो भएको नेपाली टोली तेस्रो राउण्डमा चौथो भएको थियो। तर चौथो राउण्डमा नेपालका पाइलटहरुले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई दोस्रो स्थानमा पुर्‍याएका थिए। अन्तिम राउण्डमा पनि नेपालले उक्त प्रदर्शन कायम राख्दै पदक जिताएको हो।

महिला क्रस कन्ट्रीमा भने नेपाली टोली छैटौँ भयो।

प्याराग्लाइडिङमा रजत जितेपछि नेपालले एसियाडमा दुई रजत जितेको छ। र समग्रमा पदक संख्या २४ पुगेको छ। नेपालले यसअघि तेक्वान्दो, बक्सिङ र करातेमा मात्र पदक जितेको थियो।

यसअघि पुरुष र महिला दुवैको व्यक्तिगत र टिम एक्कुरेसीतर्फ भने नेपालले पदक जित्न सकेको थिएन।

१८औँ एसियाडका लागि नेपालबाट पुरुषमा ५ र महिलामा ३ गरी कूल ८ खेलाडी इन्डोनेसिया गएका थिए।

नेपालले अहिलेसम्म एसियाडमा जितेको पदक

सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो संस्करणको एसियन गेम्सदखि नै खेल्न थालेपनि अहिलेसम्म स्वर्ण जित्न थिएन। सन् १९९८ मा तेक्वान्दोकी सविता राजभण्डारीले जितेको रजत पदक नै नेपालले एसियन गेम्समा जितेको सबैभन्दा ठूलो पदक थियो।

पहिलो पदक जित्न १०औँ संस्करणसम्म कुर्नुपरेको नेपालले १७औँ संस्करणसम्म १ रजत र २२ कास्य गरी २३ पदक जितेको थियो।

सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ एसियन गेम्समा नेपालले एकैपटक ८ कास्य जितेको थियो। सन् १९९८ मा बैंककमा भएको १३औँ एसियन गेम्समा तेक्वान्दोकी राजभण्डारीले नेपाललाई पहिलो रजत दिलाएकी थिइन्।

नेपालले धेरै खेलमा भाग लिने गरेपनि यसअघि तेक्वान्दो, बक्सिङ र करातेले मात्र पदक जितेको थियो। १८औँ संस्करणमा नेपालबाट विभिन्न २९ खेलमा १८५ खेलाडीले सहभागिता जनाएका थिए।

 

नेपालको लागि एसियन गेम्समा पदक जित्ने खेलाडीहरु:

१०औं एसियन गेम्स (सोल, दक्षिण कोरिया) – १९८६

स्व. दलबहादुर रानामगर  (बक्सिङ)    कास्य

तुलबहादुर थापा          (बक्सिङ)    कास्य

सुशील पोखरेल          (बक्सिङ)    कास्य

मनोज बहादुर श्रेष्ठ       (बक्सिङ)    कास्य

राजकुमार राई           (तेक्वान्दो)  कास्य

विधान लामा            (तेक्वान्दो)  कास्य

रामबहादुर घर्ती क्षेत्री      (तेक्वान्दो)   कास्य

राजकुमार बुढाथोकी       (तेक्वान्दो)   कास्य

 

११औं एसियन गेम्स (बेइजिङ, चीन) – १९९०

चित्रबहादुर गुरुङ       (बक्सिङ)     कास्य

 

१२औं एसियन गेम्स (हिरोसिमा, जापान) –१९९४

मानबहादुर शाही      (तेक्वान्दो)    कास्य

सीता राई           (तेक्वान्दो)    कास्य

 

१३औं एसियन गेम्स (बैंकक, थाइल्याण्ड)– १९९८

सविता राजभण्डारी  (तेक्वान्दो)      रजत

किशोर श्रेष्ठ       (तेक्वान्दो)      कास्य

सपना मल्ल       (तेक्वान्दो)      कास्य

समरर बहादुर गोले  (कराते)         कास्य

 

१४औं एसियन गेम्स (बुसान, दक्षिण कोरिया)– २००२

दिपक विष्ट        (तेक्वान्दो)      कास्य

रेनुका रानामगर     (तेक्वान्दो)      कास्य

ऋतु जिमी राई      (तेक्वान्दो)      कास्य

 

१५औं एसियन गेम्स (दोहा, कतार)– २००६

दिपक विष्ट         (तेक्वान्दो)       कास्य

आयशा शाक्य       (तेक्वान्दो)       कास्य

मनिता शाही         (तेक्वान्दो)       कास्य

 

१६औं एसियन गेम्स (ग्वाङ्झाउ, चीन)– २०१०

दिपक महर्जन      (बक्सिङ)          कास्य

 

१७औं एसियन गेम्स (इन्चोन, दक्षिण कोरिया)– २०१४

विमला तामाङ        (कराते)          कास्य

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell