PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

श्रीलंकाका राष्ट्रपति काठमाडौंमा : यसरी बौद्ध धर्मले जोडेको छ दुई देशलाई  



विधुर ढकाल

श्रीलंकाका राष्ट्रपति काठमाडौंमा : यसरी बौद्ध धर्मले जोडेको छ दुई देशलाई  

काठमाडौं : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन श्रीलंकाका राष्ट्रपछि मैत्रिपाल सिरिसेना काठमाडौं आएका छन्। 

उनको यो भ्रमण नेपालको पहिलो सद्भाव भ्रमण पनि हो। उनी नेपाल भ्रमणका क्रममा भगवान बुद्धको जन्मभूमि लुम्विनी जाने कार्यक्रमसमेत तय भएको छ। 

साथै उनले विम्स्टेक सम्मेलनको साइडलाइनमा म्यानमारका राष्ट्रपछि विन मिन्टसँग द्वीपक्षीय भेटवार्ताको कार्यक्रमसमेत रहेको छ। 
सिरिसेना २०१५ को जनवरीमा श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनी श्रीलंकाका सातौँ राष्ट्रपति हुन्। अघिल्ला राष्ट्रपति महिन्दा राजपाक्षेको क्याविनेटमा मन्त्री रहेका सिरिसेनाले उनै राजापाक्षेलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए। 

राष्ट्रपति राजापाक्षेको पार्टीले संसदमा बहुमत सिट जिते पनि प्रत्यक्ष निर्वाचनमा सिरिसेनाले ५१ प्रतिशत मत प्राप्त गर्दै विजयी भए। उनले २०१५ मा राष्ट्रपतिको सपथ लिएसँगै राष्ट्रपतिमा रहेको अधिकार संसदलाई फिर्ताको घोषणा गरेका थिए। 

नेपाल-श्रीलंकाबीचका सम्झौताहरु

श्रीलंकाका अधिकांश जनसंख्या बौद्ध धर्मावलम्बी रहेका छन्। संविधानमा नै बौद्ध धर्मको बारेमा उल्लेख गरिए पनि बौद्ध देशका रुपमा भने उल्लेख गरिएको छैन। नेपाल भगवान गौतम बुद्धको जन्मभूमि भएसँगै दुई देशबीचको सम्बन्ध बुद्धकालीन समयदेखि रहेको छ। 
नेपाल श्रीलंकाबीचको कुटनीतिक सम्बन्धको स्थापना १९५७ जुलाई १ मा भएको हो। दुवै देशबीच आपसी समझदारी तथा साझेदारीका आधारमा सम्बन्ध स्थापित हुँदै आएको छ। 

दुई देशबीच उच्चस्तरीय भ्रमणले पनि निरन्तरता पाउँदै आएको छ। दुवै देशले संयुक्त राष्ट्रसंघ सहित एसिया प्रशान्त क्षेत्रमा सहकारी अर्थतन्त्र तथा सामाजिक विकासको क्षेत्रमा कोलम्बो प्लानमा सँगै काम गरेका छन्। दुवै देश असंलग्न मुभमेन्टमा सहभागी छन् भने दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा विम्स्टेकका सदस्य मुलुक हुन्। 

द्वपक्षीय सम्बन्ध स्थापनाको आधा शताब्दीसम्म दुवै देशले विभिन्न क्षेत्र र संयन्त्रहरुमा सहमति गर्दै अगाडि बढेका छन्। 

नेपालले सन् १९७५ मा श्रीलंकामा पहिलो पटक अनररी कन्सुलेट जेनरलको कार्यालय स्थापना गरेको थियो। सन् १९७७ फेब्रुअरी १९ मा दुवै मुलुकले एयर सर्भिस एग्रिमेन्टमा हस्ताक्षर गरेका थिए। यो सम्झौता २००९ मा नयाँ सम्झौता भएसँगै प्रतिस्थापन भएको छ। 

सन् १९७९ अप्रिल ९ मा दुई देशबीच व्यापार सम्झौता भएको थियो। त्यस्तै १९८६ मा श्रीलंका नेपाल फ्रेण्डसीप सोसाइटी स्थापना भयो। 

१९९३ मा श्रीलंकाले काठमाडौंमा आफ्नौ आवासीय दूतावास स्थापना गर्‍यो। त्यको दुई वर्ष पछि नेपालले १९९५ मे ११ मा कोलोम्बोमा नेपाली आवासीय दूतावास स्थापना गर्‍यो। 

सन् १९९९ जुलाई ६ मा दुई देशबीच सांस्कृतिक सम्झौतामा हस्ताक्षर भयो। त्यस्तै सोही दिन दुवै देशले बस्तु आयात निर्यातमा लाग्दै आएको ‘दोहोर कर’ हटाउने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। 

सन् २००२ मा नेपाल र श्रीलंका संसदीय मैत्री एसोसिएयन गठन भएको छ। सोही वर्ष श्रीलंका नेपाल बिजनेस काउन्सिलको समेत स्थापना भयो। 

२००३ मा दुवै देशका निजी क्षेत्रको प्रतिनिधित्व गर्ने सिलोन च्याम्बर अफ कमर्स श्रीलंका र नेपाल उद्योग वाणिज्य महासंघबीच साझेदारीसम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ। 

सन् २००७ अप्रिल २० मा दुवै देशले अध्ययनका लागि एक अर्का देशका विद्यार्थीलाई आफ्नो देशमा लाग्ने भिसा शूल्क मिनाह गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। 

नेपाल र श्रीलंकबीच परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोग गठन भएको छ। सन् २००९ मा यस्तो आयोग गठन सम्बन्धि सझदारीपत्रमा हस्ताक्षर भएको थियो। 

सन २०१६ को १ अक्टुबरमा दुवै देशबीच सिधा उडान सुरु भएको थियो। हिमालय एयरलाइन्सले यो सेवा दिइरहेको छ। नेपाली राष्ट्रिय ध्वजावहाक नेपाल बायुसेवा निगमको उडान भने रोकिएको छ। वायुसेवाले २०१७ को मार्च २५ मा अन्तिम उडान गरेको थियो। 
सन् २०१७को फेब्रूअरीमा कोलम्बोमा श्रीलंका नेपाल बिजनेस फोरमको आयोजना भएको थियो। 

धार्मिक सांस्कृतिक तथा शैक्षिक सम्बन्ध

नेपाल र श्रीलंका दुवै सांस्कृतिक रुपमा धनी राष्ट्र हुन्। दुवै देशले सांस्कृतिक साझेदारीको विषयमा सम्झौतामा हस्ताक्षर गरेका छन्। १९९९ मा श्रीलंकाकी राष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारातुंगाको नेपाल भ्रमणको क्रममा सो सम्झौतामा हस्ताक्षर भएको थियो। यो सम्झौताले दुवै देशबीच कला, संस्कृति तथा खेलकुदका क्षेत्रमा साझेदारी गर्ने सहमति भएको थियो। 

श्रीलंकाले बौद्ध धर्मको इतिहास, संस्कृति, कला क्षेत्रमा अध्ययन तथा अनुसन्धानका लागि सहयोग गर्दै आएको छ। त्यस्तै उसले कपिलबस्तुको उत्खनन तथा लुम्विनीको विकासमा सँधै चासो दिँदै आएको छ। दुई देशबीच यस सम्बन्धी संयुक्त कमिसन गठन सम्बन्धमा श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेत्रको नेपाल भ्रमणका क्रममा ३ मार्च २००९ मा समझदारी भएको थियो। 

दुई देशबीचको सांस्कृतिक सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापना पूर्व नै थियो। १९४० मा नेपालका विकु अमिरानन्दले श्रीलंकाको धम्म विद्यालयमा बज्रानन महानयाके महा तेरोसँग शिक्षा लिएका थिए। सन् १९४६ मा त्यहाँका धम्म विद्यालयका नारधा महा तेरो नेतृत्वको टोलीले नेपाल भ्रमण गरी प्रधानमन्त्री जंगबहादुर राणासँग भेट गरेको थियो। 

श्रीलंकाले नेपालमा त्रिवेदा बौद्ध शिक्षाको प्रचार तथा सम्वद्धनमा सहयोग पुराएको थियो। श्रीलंका सरकारले नेपालीलाई बौद्ध धर्म सम्बन्ध अध्ययनका लागि श्रीलंकामा निःशुल्क व्यवस्था गर्दै आएको छ। 

त्यस्तै हाल नेपालमा २०० बढी श्रीलंकाली विद्यार्थीहरुले एमबीबीएस अध्ययन गरिरहेका छन्। सन् २००७ मा भएको समझदारी अनुरुप उनीहरुलाई भिसा शूल्क लाग्दैन। 

श्रीलंकाले बुद्धभूमि लुम्बिनीमा बौद्ध चैत्य निर्माण गरेको छ। त्यस्तै २०७२ सालको विनासकारी भूकम्पले क्षति पुराएको आनन्दकुटी महाविहार र रातो मछिन्द्रनाथको मन्दिरको पुनःनिर्माणमा समेत श्रीलंकाले करिब २५ लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको छ। यी सम्पदाको पुनःनिर्माण यसै वर्ष सकिने अपेक्षा लिइएको छ। 

दुई देशबीच उच्चस्तरीय भ्रमण

दुवै देशबीच विभिन्न समयमा राजकीय भ्रमण तथा विभिन्न कार्यक्रम/सम्मेलनका दौरान उच्चस्तरीय भ्रमणहरु हुँदै आएको छ। दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएकै वर्ष सन् १९५७ राजा महेन्द्रसँगै बडा महारानी रत्नले श्रीलंकाको राजकीय भ्रमण गरेका थिए। 

त्यतिबेला राजा महेन्द्रले भनेका थिए, ‘दुवै मुलुक भौगोलिक रुपमा फरक र टाढा रहे पनि एसियाका दुई महान देशहरु नेपाल र श्रीलंका युगौदेखि मित्र रहँदै आएका छन्। श्रीलंकाका जनतामा भगवान बुद्धको चेतान छ जो नेपालमा जन्मिएका थिए। यसले दुई देशको सम्बन्धलाई उजागर गरेको छ। किनभने दुवै देशबीच सांस्कृतिक सम्बन्ध रहँदै आएको छ। हामी निरन्तर रुपमा हाम्रो मैत्री सम्बन्धलाई प्रगाढ बढाउँदै लैजान सक्षम रहँदै आएका छौँ।’

सन् १९६७ मा राजा वीरेन्द्रले श्रीलंकाको भ्रमण गरेका थिए। त्यतिवेला उनी युवराज नै थिए।  सन् १९७० मा श्रीलंकाका तत्कालीन गर्भनर जेनरल विलियम गोपालाले राजा वीरेन्द्रको विवाह समारोहमा सहभागिता जनाएका थिए। विवाह कार्यक्रम आनन्दकुटी बिहार स्वयम्भूमा भएको थियो। 

१९७५ फेब्रुअरीमा श्रीलंकाका राष्ट्रपति विलियम गोपाला वीरेन्द्रको राज्याभिषेक समारोहमा सहभागी हुन नेपाल आएका थिए। त्यतिबेला उनले रेडियो नेपालमा अन्तर्वार्तासमेत दिएका थिए। 

सन् १९७६ मा श्रीलंकामा आयोजना भएको असंलग्न राष्ट्रहरुको पाँचौ शिखर सम्मेलनमा नेपालका तर्फबाट राजा वीरेन्द्र सहभागी भएका थिए। श्रीलंकाले सोही अवसरमा वीरेन्द्रको नेपाल शान्ति क्षेत्र सम्बन्धि प्रस्तावलाई समर्थन गरेको थियो। सन्१९७८ मा श्रीलंकाका राष्ट्रपति जे आर जयवर्दनेले नेपालको राजकीय भ्रमण गरे। 

सो भ्रमणका क्रममा श्रीलंकाले लुम्विनीमा श्रीलंका धर्मशाला र लंका महा विहार निर्माणसम्बन्धी समझदारी भएको थियो। 

सन् १९८० को अगस्टमा राजा वीरेन्द्रले श्रीलंकाका राष्ट्रपति जयवर्दनेको निमन्त्रणामा राजकीय भ्रमण गरे। सन् १९८८ मा पुनः राजा वीरेन्द्रले सार्कको अध्यक्षको हैसियतले श्रीलंकाको भ्रमण गरेका थिए। 

१९८८ मै श्रीलंकाका तत्कालीन प्रधानमन्त्री रानासिंगे प्रेमादासेले नेपालको औपचारिक भ्रमण गरे। 

सन् १९९१ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सार्कको छैठौँ शिखर सम्मेलनमा सहभागी हुन श्रीलंका पुगे। सन् १९९२ मा प्रेमादासेले श्रीलंकाको राष्ट्रपतिको रुपमा पुनः नेपालको राजकीय भ्रमण गरे। १९९३ मा राष्ट्रपति प्रेमादासेको वम आक्रमणमा हत्या गरिएको थियो। उनको निधनमा नेपालले राष्ट्रिय झण्डा झुकाई एक दिन सार्वजनिक बिदा दिएको थियो। उनको अन्तिम संस्कारमा सहभागी हुन तत्कालीन गृहमन्त्री शेरबहादुर देउवा श्रीलंका पुगेका थिए। 

सन् १९९८ मा पुनः गिरिजाप्रसाद कोइराला प्रधानमन्त्रीको रुपमा सार्कको १० औँ शिखर सम्मेलनमा सहभागी हुन कोलम्बो पुगेका थिए। त्यसको एक वर्षपछि श्रीलंकाका राष्ट्रपति चन्द्रिका कुमारातुंगाले राजा वीरेन्द्रको निमन्त्रणामा नेपालको राजकीय भ्रमण गरिन्। 

सन् २००२ मा राष्ट्रपति कुमारातुंगाले सार्कको ११ औँ शिखर सम्मेलनमा सहभागी हुन् नेपालको भ्रमण गरिन्। सम्मेलनमा कुमारातुंगाले राजा वीरेन्द्रको निधेनमा शोक व्यक्त गर्दै एक मिनेट मौन धारणको प्रस्ताव गरेकी थिइन्। 

सन् २००३ मा प्रधानमन्त्री सूर्यबहादुर थापाले सार्कको अध्यक्षको रुपमा श्रीलंकाको भ्रमण गरे। 

सन् २००९ को मार्च २–३ मा राष्ट्रपति डा. रामवरण यादवको निमन्त्रणामा श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षेले नेपालको राजकीय भ्रमण गरे। उनले पुन: सोही वर्ष अक्टोवरमा लुम्विनीको भ्रमण गरी श्रीलंका मोनास्ट्र कम्प्लेक्सको उद्घाटन गरे। 

राजापाक्षेले पुनः २०१४ मा सार्कको १८ औँ शिखर सम्मेलनका क्रममा नेपालको भ्रमण गरे। राष्ट्रपति विद्यादेवी भण्डारीले गत वर्ष श्रीलंकाको राजकीय भ्रमण गरिन्।

श्रीलंका भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले गौतम बुद्धको दाँत राखिएको स्थान काण्डीको भ्रमण गरेकी थिइन्।

यसबीच दुई देशका मन्त्रीस्तरका भ्रमणहरु हरेक वर्ष जस्तै हुँदै आएका छन्। श्रीलंकाका राष्ट्रपति सिरिसेनाको यो पहिलो नेपाल भ्रमण हो। नेपालले उनको भ्रमणलाई सद्भाव भ्रमणको रुपमा पनि लिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell