PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

बिम्स्टेक ग्रीड इन्टरकनेक्सनमा हस्ताक्षर गर्ने मन्त्रीस्तरीय बैठकको निर्णय



विधुर ढकाल

बिम्स्टेक ग्रीड इन्टरकनेक्सनमा हस्ताक्षर गर्ने मन्त्रीस्तरीय बैठकको निर्णय
फोटो : रासस

काठमाडौं : ‘बिम्स्टेक ग्रिड इन्टरकनेक्सन’ सम्बन्धी समझारीपत्रमा हस्ताक्षर गर्ने निर्णयसहित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक सम्पन्न भएको छ। 

बैठकले मंगलबार सम्पन्न १९ औँ उच्च अधिकारीस्तरको बैठकको प्रतिवेदनलाई अंगिकार गर्दै ग्रिड इन्टरकनेक्सन सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्न तयार रहेको निष्कर्ष निकालेको हो। स्मरण रहोस्, मंगलबारको परराष्ट्र सचिव स्तरीय बैठकले सम्मेलनका क्रममा हस्ताक्षर हुने समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिएको थियो। 

समझदारीपत्रमा हस्ताक्षर गर्न नेपालले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई अख्तियारी दिएको छ। 

त्यस्तै बैठकले विम्स्टेकको चौथो शिखर सम्मेलनका एजेण्डाहरुलाई समेत तय गरेको छ। 

बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले विम्स्टेक यसको इतिहास, आपसी सम्बन्ध तथा महान सभ्यताको सम्बन्धका कारण यस क्षेत्रको पृथक क्षेत्रीय मञ्च भएको बताएका थिए। उनले यस क्षेत्रमा गरीबी, भोकमरी, पछौटेपन, असमानता, प्राकृतिक प्रकोप, वातावरणीय विनास, आतंकवाद, संगठित अपराध, लागू औषध, मानव बेचविखन लगायतका समस्याहरु साझा समस्या भएको बताउँदै त्यसलाई न्यूनिकरणका लागि गम्भीर रुपमा सोच्नुपर्ने बताएका थिए। 

बैठकमा नेपालका तर्फबाट परराष्ट्र मन्त्री ज्ञवालीले साझेदारीका क्षेत्रहरु बढाउँदै लैजानु भन्दा साझेदारीका क्षेत्ररुलाई थप मजबदु बनाउनुपर्नेमा जोड दिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। 

उनका अनुसार नेपालले बैठकमा विम्स्टेक फ्रि ट्रेड एग्रिमेन्टलाई सीघ्र निष्कर्षमा पुराउनुपर्ने धारणा राखेको थियो। त्यस्तै विम्स्टेक ट्रान्सपोर्ट कनेक्टिभिटी सम्बन्ध गुरुयोजना विकास भइरहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले सन्तोष व्यक्त गरेका थिए। 

साथै उनल विम्स्टेक ग्रिड इन्टरकनेक्सन सम्बन्धि सम्झौतामा हस्ताक्षरको तयारी भएको भन्दै खुसी व्यक्त गरेका थिए। 

आजको बैठकले विम्स्टेक अन्तर्गत भएका सबै साझेदारीका आयामहरुको समीक्षा गर्दै क्षेत्रीय साझेदारी प्रक्रियालाई थप मजबुद बनाउने निर्णय गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए।

बैठकले विम्स्टेकका महासचिवले प्रस्तुत गरेको प्रतिवेदनलाई अंगिकार गरेको छ। प्रतिवेदनमा विम्स्टेकका प्रगतिको बारेमा उल्लेख गरिएको छ। विम्स्टेकको सचिवालयको स्थापना, भुटानमा विम्स्टेक कल्चरल इन्डस्ट्री अव्जभेटरीको स्थापना, भारतमा विम्स्टेक मौसम तथा जलवायुसम्बन्धी केन्द्रको स्थापना लगायतको मुख्य उपलब्धी भएको प्रतिवेदनमा उल्लेख छ। 

यसबीच विम्स्टेक इनर्जी सेन्टर र विम्स्टेक टेक्नोलोजी ट्रान्सफर फेसिलिटी सञ्चालनको क्रममा रहेको महासचिवले बैठकलाई जानकारी दिएका थिए। 

त्यस्तै विम्स्टेकको ट्रेड नेगोसियसन कमिटीका २० औं चरणका बैठकका उपलब्धीहरुसमेत उनले जानकारी दिएका थिए। विम्स्टेक एफटीए फ्रेमवर्क सम्बन्धी सझदारी कार्यान्वयनका लागि ती बैठकहरु भएका हुन्। विम्स्टेक एफटीएमा सदस्य राष्ट्रहरुले २००४ मा हस्ताक्षर गरेका थिए। 

त्यस्तै बैठकमा महासचिवले भन्सार सम्बन्धि आपसी सहयोग सम्बन्धी सझदारीपत्रको मस्यौदा, विम्स्टेक मोटर भेइकल समझदारी, विम्स्टेक कोस्टल सिपिङ समझदारी पत्रको मस्यौदामाथि चरणगत रुपमा छलफल भइरहेको जानकारी गराउँदै छिट्टै सहमतिमा पुग्ने विश्वास व्यक्त गरे। 

त्यस्तै विम्स्टेक यातायात सम्पर्क सम्बन्धी गुरुयोजना यसै वर्ष सेप्टेम्बरसम्म तयार गर्ने गरी सदस्य राष्ट्रहरुबीच छलफल भइरहेका उनले जानकारी दिए। 

आजको मन्त्रीस्तरीय बैठकले गत वर्ष अगस्टमा काठमाडौंमा सम्पन्न १५ औं विम्स्टेक मन्त्रीस्तरीय बैठक पछिको प्रगतिको समीक्षा गरेको परराष्ट्रका प्रवक्ता पौडेलले जानकारी दिए। 

बैठकमा परराष्ट्र सचिव शंकरदास बैरागीले १८ र १९ औं उच्च अधिकारीहरुको बैठकको प्रतिवेदन प्रस्तुत गरेका थिए। 

त्यस्तै बैठकले विम्स्टेक सम्मेलनको काठमाडौँ घोषणापत्रको मस्यौदालाई सदस्य राष्ट्रका प्रतिनिधिलाई अनुमोदनका लागि प्रस्तुत गरिएको छ। घोषणपत्रको मस्यौदा उच्च अधिकारीस्तरीय बैठकले अन्तिम टुंगो लगाएको थियो।
 
यसैबीच नेपालले विम्स्टेकको मन्त्रीस्तरीय बैठकको अध्यक्षता श्रीलंकालाई हस्तान्तरण गरेको छ। नेपाल हाल विम्स्टेकको अध्यक्ष राष्ट्र हो। सम्मेलनले श्रीलंकालाई अध्यक्षको रुपमा चयन गर्दैछ। 

सोही क्रममा मन्त्रीस्तरीय बैठकको अध्यक्षता समेत श्रीलंकाका परराष्ट्र मन्त्रालयका उपमन्त्रीलाई हस्तान्तरण गरिएको हो। त्यस्तै १७ औँ बैठक श्रीलंकामा गर्ने सहमति समेत भएको छ। 

आजको बैठकको अध्यक्षता परराष्ट्रमन्त्री ज्ञवालीले गरेका थिए। त्यस्तै बैठकमा बंगलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतका विदेश राज्यमन्त्री भि के सिंह, म्यान्मारका अन्तराष्ट्रिय सहयोग सम्बन्धी संघीय मन्त्री क्याव तिन, श्रीलंकाका विदेशराज्य मन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय सहमागि थिए भने भुटान सरकारका विदेश सचिव तथा राजदुत सोनाम छोङ सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell