काठमाडौं : म्यानमारका राष्ट्रपतिको स्कर्टिङमा खटिएका एक प्रहरी बुधवार मोटरसाइकल दुर्घटनामा परी घाइते भए।
प्रहरी हवल्दार दिनेश श्रेष्ठ प्रहरी प्रधान कार्यालको सवारी महाशाखाबाट स्कर्टिङका लागि खटिएका थिए। कालिमाटी चोकमा आइसकेपछि उनले चलाएको मोटरसाइकल एक्कासी अनियन्त्रित भयो र दुर्घटना हुन पुग्यो।
बीच सडकमा पल्टिएको मोटरसाइकल घस्रिँदै सडकको किनारमा पुग्यो। दुर्घटनाबारे हवल्दार श्रेष्ठले पहिलोपोस्टसँगको कुराकानीमा भने, 'एक्कासी मोटरसाइकल अनियन्त्रित भइदियो। अगाडि स्कर्टिङ गरिरहेको बाइकको गति कम भएकाले मैले पनि गति कम गर्न खोज्दा दुर्घटना भयो।'
म्यानमारका राष्ट्रपति विन मिन्टलाई सोल्टी होटेलमा पुर्याउँदै गर्दा कालिमाटी चोकमा दुर्घटनामा परेको थियो। सडकमा केही पानी भएकाले पनि चिप्लिएको उनको भनाई छ। दुर्घटनामा परेका उनले हातमा सामान्य चोट लागेको जानकारी दिए।
‘खासै केही भएन। सामान्य दुर्घटनामात्र हो। हातको छाला भने केही पिल्सिएको छ,' हवल्दार श्रेष्ठले भने।
सामान्य उपचारपछि हवल्दार श्रेष्ठ आराम गरिरहेका छन्। उनी प्रहरी प्रधान कार्यालय नक्सालको क्वाटरमा बस्छन्।
हेर्नुस् कसरी चिप्लिएका थिए :