PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

यस्तो छ बिम्स्टेकको चौथो शिखर सम्मेलनको आजको सेड्युल, गोकर्ण जाने बाटो नबन्दा रिट्रिट सोल्टीमै



विधुर ढकाल

यस्तो छ बिम्स्टेकको चौथो शिखर सम्मेलनको आजको सेड्युल, गोकर्ण जाने बाटो नबन्दा रिट्रिट सोल्टीमै

काठमाडौं : बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन आजबाट सुरु हुँदैछ। दुई दिनसम्म चल्ने सम्मेलनमा सहभागी हुन् सबै ६ सदस्य देशका राष्ट्र/सरकार प्रमुखहरु नेपाल आइपुगेका छन्। 

बिम्स्टेकमा नेपालसहित सात सदस्य रहेका छन्। सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा बिहीवार विहान काठमाडौं आइपुगेका छन्। श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवंम प्रधान न्यायाधीश दसो छिरिङ वाङचुक बुधवार नेपाल आइपुगेका थिए। त्यस्तै म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौं अवतरण गरेका थिए। 

सम्मेलनको उद्घाटन दिउँसो ३ बजे होटल सोल्टी क्राउन प्लाजामा हुने छ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनसँगै हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए। 

बिम्स्टेकको अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले सम्मेलनमा उद्घाटन् मन्तव्य व्यक्त गर्नेछन्। त्यसपछि सबै सदस्य मुलुकका राष्ट्र/सरकार प्रमुखले वर्णानुक्रम अनुसार सम्बोधन गर्ने कार्यक्रम छ। 

आजको कार्यक्रम सबै सदस्य देशका राष्ट्र/सरकार प्रमुखको सम्बोधनसँगै सकिने छ।

त्यसपछि प्रधानमन्त्री ओलीले विदेशी पाउनको सम्मानमा रात्रीभोज आयोजना गर्ने छन्। साँझ ६:३० बजे देखि ९:३० बजेसम्म रात्रिभोज चल्ने छ। बौद्धस्थित ह्यात होटलमा हुने गाला डिनरमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुनेछ। कार्यक्रममा सबै सदस्य मुलुकले आफ्नो लोक सांस्कित, गीत तथा नृत्य प्रस्तुत गर्नेछन्। 
 

गोकर्ण जाने बाटो नबन्दा रिट्रिट सोल्टीमै 

यसैबीच शुक्रबार विहान प्रधानमन्त्री ओलीले सदस्य राष्ट्रका सरकार प्रमुख/राष्ट्र प्रमुखको सम्मानमा ‘रिट्रिट’ आयोजना गर्नेछन्। यो रिट्रिट बिहान ८ बजे होटेल सोल्टीमै सुरु हुने परराष्ट्रका प्रवक्ता पौडेलले जानकारी दिए। 

यसअघि रिट्रिटका लागि अन्य कुनै स्थानमा लैजाने चलन भए पनि यसपटक सोल्टीमै रिट्रिट आयोजना गरिँदै छ। सन् २०१४ मा काठमाडौंमा आयोजित सार्क शिखर सम्मेलनमा सहभागी हुन आएका विदेशी पाहुनालाई धुलिखेल लगेर रिट्रिट दिइएको थियो। 

यसपटक रिट्रिट गोकर्णमा हुने चर्चा थियो। तर, अन्तिम समयमा सोल्टीलाई नै रिट्रिटको स्थान निर्धारण गरियो। 

रिट्रिट सकिएसँगै सम्मेलनको दोस्रो दिनको कार्यक्रम सुरु हुने छ। बिहान १०:३० बजे दोस्रो दिनको कार्यक्रम सुरु हुने छ। 

सम्मेलन अन्तर्गत सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुले काठमाडौं घोषणापत्र जारी गर्ने छन्। घोषणापत्रलाई हिजो बसेको मन्त्रीस्तरीय बैठकले अन्तिम टुंगो लगाएको थियो। 

त्यस्तै सम्मेलनकै दौरान भोलि शुक्रवार नै बिम्स्टेक ग्रिड इन्टर कनेक्सन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने छ। त्यस्तै शुक्रवार नै बिम्स्टेकको आगामी अध्यक्षको रुपमा श्रीलंकाका राष्ट्रपति सिरिसेनालाई प्रधानमन्त्री ओलीले अध्यक्षता हस्तान्तरण गर्नेछन्। बिम्स्टेकको पाँचो शिखर सम्मेलन आयोजनाको जिम्मा श्रीलंकालाई दिइने छ। 

बिम्स्टेकको चौथो सम्मेलन १२:२० बजे सामुहिक फोटो सेसनसँगै सकिने छ। 

कहिले फर्किन्छन् विदेशी पाहुना?

यसैबीच शुक्रवार सम्मेलनको समापनसँगै विदेशी पाउन फर्किनेक्रम सुरु हुने छ। शुक्रवार नै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने कार्यक्रम रहेको छ। 

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीसमेत शुक्रवार नै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। म्यानमारका राष्ट्रपति मिन्ट र थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा पनि शुक्रवार नै फर्किने छन्। 
भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक भने शनिवार स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्रका प्रवक्ता पौडेलले जानकारी दिए। 

त्यस्तै श्रीलंकाका राष्ट्रपति सिरिसेना आइतबार स्वदेश फर्किने छन्। उनी शनिवार लुम्विनी जाने कार्यक्रम रहेको छ। त्यस्तै उनले काठमाडौंमा रहेका विभिन्न स्तुपाहरुको समेत दर्शन गर्ने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell