PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित



पहिलोपोस्ट

एसिया कप छनोट : नेपालको लगातार दोस्रो हार, युएईसँग ७८ रनले पराजित
फोटो : ACC

काठमाडौँ : एसिया कप छनोटको विजेता बन्ने लक्ष्यसहित मलेसिया पुगेको नेपालले लगातार दोस्रो हार बेहोरेको छ।

बिहीबार भएको दोस्रो खेलमा नेपाल युएईसँग ७८ रनले पराजित भयो। युएईले दिएको २५५ रनको लक्ष्य पछ्याएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो।

नेपाल र युएई दुवै ओडिआई नेशन भएकाले यो खेलले ओडिआईको मान्यता समेत पाएको छ। नेपालको यो तेस्रो ओडिआई खेल हो।

नेपालका लागि ओपनर सुबास खकुरेलले अर्धशतक प्रहार गरे। उनी नेपालका लागि अर्धशतक प्रहार गर्ने चौथो खेलाडी समेत बने। कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले नेपालका लागि ओडिआईमा अर्धशतक प्रहार गरिसकेका छन्। यस्तै दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे। सोमपाल कामी २७ रनमा नटआउट रहे।

युएई विरुद्ध मध्यम लक्ष्य पछ्याएपनि सुरुवात देखि नै लगातार विकेट गुमाउँदा नेपालले राम्रो ब्याटिङ गर्न सकेन।

ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै ४ रन बनाएर आउट भएपछि नेपालको विकेट पतन सुरु भयो। त्यसपछि कप्तान पारस खड्का १६, सागर पुन ३ रमा आउट भएपछि नेपालले ४३ रनमा ३ विकेट गुमायो।

चौथो विकेटका लागि सुबासले दीपेन्द्र सिंह ऐरीसँग अर्धशतकिय साझेदारी गर्दै नेपालको लागी केही आश दिलाएका थिए। तर ५० रन बनाएलगत्तै सुबास आउट भएपछि नेपाल सम्हालिन सकेन। त्यसपछि आरिफ शेख ३, रोहित पौडेल ९ रनमा आउट भए। करण केसीले खाता खोल्न सकेनन्।

सोमपाल कामी र बसन्त रेग्मीले आठौँ विकेटका लागि ३४ रनको साझेदारी गरे। बसन्त १२ रन बनाएर आउट भए। सन्दीप लामिछाने २ रनमा आउट भए। ३४ बल खेलेका सोमपाल १ चौका र १ छक्का प्रहार गर्दै २७ रनमा नटआउट रहे।

बलिङमा युएईका अहेमद राजाले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यस्तै मोहम्मद नभिदले ३ र अमिर हायतले २ विकेट लिए। अस्फाक अहेमदले १ विकेट लिए।

मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २५४ रन बनाएको हो।

युएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६५ रन बनाए। यस्तै एडनान मुफ्टीले नटआउट ५९ रन बनाए। अस्फाक अहेमदले ४५ तथा रमिज शहजादले ३५ रन जोडे।

बलिङमा नेपालक लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। १० ओभर बलिङ गरेका उनले २ मेडन राख्दै २६ रन खर्चेर ४ विकेट लिए। यस्तै बसन्त रेग्मीले १० ओभरमा ४९ रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए।

सागर पुनले नेपालको लागि ओडिआईमा डेब्यु गर्नु, सन्दीप लामिछानेले ४ विकेट लिनु र सुबास खुरेलले अर्धशतक प्रहार गर्नु बाहेक यस खेलमा नेपालको पक्षमा केही रहेन।

लगातार दुई हारपछि नेपाललाई अब शीर्ष दुईमारहँदै फाइनल पुग्न बाँकी ३ खेल जित्नैपर्ने दबाब छ। साथै अन्य खेलको नतिजा पनि आफूअनुकुल आउनुर्नेछ।

उता लगातार दुई खेल जितेको युएई भने ४ अंकसहित शीर्ष स्थानमा छ। यस्तै पहिलो खेलमा नेपाललाई हराएको मानले घरेलु टोली मलेसियालाई २ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। अर्को खेलमा हङकङले सिंगापुरलाई ५ विकेटले हरायो।

६ टिमले अंक जोड्दा नेपाल  र सिंगापुर भने लगातार दुई हारपछि अंकविहिन छ।

नेपालले अब तेस्रो खेल शनिवार मलेसियासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell