PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

म्यान्मारमा बाढी देखि सूचीको राजीनामासम्म : विश्वमा आज



पहिलोपोस्ट

म्यान्मारमा बाढी देखि सूचीको राजीनामासम्म : विश्वमा आज

म्यान्मारमा बाढी

म्यान्मारको बागो क्षेत्रमा अत्यधिक वर्षाका कारण एक नदीको बाँधमाथिबाटै पानी बग्न थालेपछि यहाँका ६३ हजारभन्दा बढी स्थानीयलाई अन्यत्रै सारिएको छ। बाढी गाउँतर्फ पस्न सक्ने त्रासका कारण उद्धार शुरु गरिएको हो। उनीहरुका अनुसार अहिलेसम्म उक्त बाँधभन्दा माथिबाट पानी बग्न थालेपछि कम्तीमा ६३ हजार व्यक्ति प्रभावित भएका छन्। दुई हप्ताअघि सोही बाँधबाट आएको बाढीका कारण कम्तीमा ३५ जनाको ज्यान गएको थियो । 



सूचीको राजीनामा ?

संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्का प्रमुख जेड राड हुसेनले म्यान्यमारकी विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सूचीले राजीनामा दिनुपर्ने बताएका छन्। नोबेल पुरस्कार विजेता म्यान्मारकी सूचीले रोहिंग्या समुदायमाथिको हिंसा रोक्न सरकारमा महत्वपूर्ण जिम्मेवारीमा रहे पनि केही काम गर्न नसकेको भन्दै हुसेनले त्यति बेला नै सूचीले राजीनामा दिनुपर्ने बताएका हुन्। संयुक्त राष्ट्रसंघले केही दिन अघि मात्र म्यान्मारका रोहिंग्या अल्पसंख्यकको जातीय नरसंहारमा म्यान्मारका सेना प्रमुख मीन आङ हाइङ सहित उच्च सैनिक अधिकारीमाथि मानवता विरुद्धको अपराध र युद्ध अपराधको मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको थियो। म्यानमारका रोहिंग्याहरु प्रति गरिएको हिंसा विरुद्ध आवाज नउठाएको भन्दै विश्वभरबाट सूचीको चर्को आलोचना हुँदै आएको छ 

चीनमाथि प्रहार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको सम्बन्ध बिग्रिनुमा चीन दोषी रहेको बताएका छन्। व्यापारका सम्बन्धमा चीनसँग अमेरिकाको विवाद रहेकाले चीनले उत्तर कोरियालार्इ दबाब दिइरहेको ट्रम्पले बताएका हुन्। चीनले भने ट्रम्पको भनाइ गैर जिम्मेवार र बुझ्न नसकिने किसिमको भएको प्रतिक्रिया दिएको छ। यस्तै ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग न्यानो सम्बन्ध रहेको बताउँदै दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास पुन थाल्नु आवश्यक नभएको बताएका छन्। ट्रम्पको यस प्रतिक्रियाले अमेरिकी अधिकारीहरु आश्चर्यमा परेको बताइएको छ। 

इराकमा आत्मघाती आक्रमण


इराकको उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दुवैजना प्रहरी रहेको प्रान्तीय सुरक्षा अधिकारीले जानकारी बताएका छन्। तेलका लागि धनी मानिएको किर्कुक राज्यको ग्रामीण इलाका हवीजाह क्षेत्रमा रहेको एक प्रहरी चौकीमा आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थ बोकेर विस्फोटन गराएको बताइएको छ। सुरक्षा अधिकारी, सर्वसाधारणको जम्मा हुने स्थल क्याफे, मस्जिद, बजार इलाकालाई लक्ष्यगरी बारम्बार आक्रमण गर्दै आएका इस्लामिक स्टटेस् (आइएस)ले आक्रमण गराएको हुनसक्ने सुरक्षा अधिकारीको दाबी गरेका छन् । 

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको कानकुन सहरमा एकजना टेलिभिजन पत्रकारको गोली हानी हत्या गरिएको छ। सञ्चार माध्यमका लागि धेरै खतरनाक मानिने मेक्सिकोमा पत्रकारमाथिआक्रमण भइरहन्छ। जाभियर एनरिक रोड्रिगेज भाल्लाडेर नामका ती पत्रकार क्यानल १० नामक टेलिभिजनमा क्यामेराम्यान र संवाददाताको रुपमा काम गर्दथे। क्वीन्टाना राज्यको सरकारले पत्रकार एनरिक सहित अर्को व्यक्तिको पनि गोली हानी हत्या गरिएको जनाएको छ। उनीहरु दुबैमाथि कानकुन नगरमा सकडमा हिँडिरहेको समयमा गोली प्रहार भएको थियो । कयान्ल १० टेलिभिजन स्टेशनले एनरिकले खासगरी दृश्य छायाँकनको काम गरेपनि कतिपय राजनीतिक विषयमा अन्तर्वार्ता लिने गरेको जनाएको छ । राज्य सरकारले पत्रकारको हत्या उनको पत्रकारिताको कार्यसँग जोडिएको प्रमाण तत्काल नपाइएको बताउँदै घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ । 

क्यापको विषयमा हातपात

अमेरिकामा एक विद्यालयकी छात्रालार्इ आफ्ना साथीको 'मेक अमेरिका ग्रेट अगेन' लेखिएको क्याप फालेको आरोपमा पक्राउ गरिएको छ। 'मेक अमेरिका ग्रेट अगेन' अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मुख्य चुनावी नारा हो। सो छात्राले आफ्ना साथीलार्इ अपशब्द बोलेको र एक शिक्षकलार्इ थप्पड हानेको आरोप पनि लगाइएको छ। आफ्ना साथीसँग क्यापमा लेखिएको विषयका बारेका उनको असहमति भएको र त्यही क्रममा उनले क्याप भुँइमा फालेको बताइएको छ। उनलार्इ विद्यालयले एक हप्ताका लागि निस्कासन गरेको छ। उनले आफूले आफ्नो राजनीतिक विचार अभिव्यक्त मात्र गर्न खोजेको बताएका छन्। छात्रालार्इ हाल बाल सुधार गृह पठाइएको अधिकारीहरुले बताएका छन्। 

सिएनएन विरुद्ध ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिएनएनका अध्यक्ष जेफ जक्करलार्इ बर्खास्त गर्नु पर्ने बताएका छन्। ट्रम्पले सिएनएन आफू प्रति 'घृणा फैलाउनुका साथै पूर्वाग्रही' भएकाले उक्त संचारमाध्यमले राम्ररी काम गर्न नसकेको बताएका छन्। राष्ट्रपति ट्रम्पले आफ्नो निर्वाचन अभियानको समयदेखि नै सिएनएन आफू प्रति नकरात्मक रहेको बताउँदै आएका छन्। सिएनएनले आफ्नो विरुद्ध 'फेक न्यूज' प्रशारण गरिरहेको ट्रम्पले सार्वजनिक रुपमै बताउँदै आएका छन्।

तस्विर:Ap/ AFP/ BBC/ REUTERS/ GETTY



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell