PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एसियाड : जुडोमा पनि नेपालको चुनौती समाप्त, शुक्रवार ३ नेपाली खेलाडी पहिलो चरणमै पराजित



पहिलोपोस्ट

एसियाड : जुडोमा पनि नेपालको चुनौती समाप्त, शुक्रवार ३ नेपाली खेलाडी पहिलो चरणमै पराजित

काठमाडौँ : १८औँ एसियाडमा पदकको आशा गरिएको मध्ये जुडोमा पनि नेपालको चुनौती समाप्त भएको छ। इन्डोनेसियामा भइरहेको एसियाडअन्तर्गत शुक्रवार नेपालका तीन खेलाडी पहिलो चरणमै पराजित भए।

यसअघि बुधवार दुई तथा बिहीवार तीन नेपाली खेलाडी पराजित भएका थिए। नेपालबाट कूल ८ खेलाडीले जुडोमा सहभागिता जनाएका थिए। तर कुनै पनि खेलाडी पदकको छेउसम्म पनि पुग्न सकेनन।

शुक्रवार भएको प्रतिस्पर्धामध्ये पुरुष १०० केजीमुनी तौल समूहमा नेपालका रविन श्रेष्ठ सेराली उज्वेकिस्तानका जुराएभसँग अन्तिम १६ मा पराजित भए।

यस्तै पुरुष ९० केजीमुनी नेपालका श्रीराम मकाजु ताजिकिस्तानका कोमरोशँख उस्तोपिरियोनसँग पराजित भए।

महिला ७८ केजीमुनी नेपालकी पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित भइन्। पुनमले रिपेचे खेल्न पाएपनि कजाखस्तानकी जारिनसँग पराजित भइन्।

रियो ओलम्पिक खेलेकी तथा दक्षिण एसियाली खेलकुदकी स्वर्णधारी फुपुल्हामु खत्री बिहीवार पराजित भएकी थिइन्। आइओसी सोलिडारिटी कोर्सअन्तर्गत जापानमा तयारी गरिरहेपनि उनले पदक जित्न सकिनन्।

जुडोबाट पदकको आशा सकिएसँगै १८औँ एसियाडमा नेपाले थप पदक जित्ने सम्भावना अब सकिएको छ। नेपालले प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्रीमा रजत पदक जित्नु बाहेक अन्य खेलमा पदकको नजिक समेत पुग्न सकेन। यसअघि नेपाललाई एसियाडमा पदक दिलाएका तेक्वान्दो, बक्सिङ र कराते लगायत पदकको आश गरिएको उसु, कुराँस, स्केटबोर्ड, स्पोर्ट्स क्लाइम्बिङ लगायत खेलमा नेपालले पदक जित्न सकेन।

प्याराग्लाइडिङमा जितेको रजत नै नेपालको लागि यसपटक साख जोगाउने माध्यम बन्यो। उक्त पदक २० वर्षपछि नेपालले एसियाडमा जितेको ठूलो पदक हो भने समग्रमा दोस्रो रजत पदक हो।

नेपालले एसियाडमा अहिलेसम्म २ रजत र २२ कास्यसहित कूल २४ पदक जितेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell