PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

एसियाड प्याराग्लाइडिङमा रजत जित्ने नेपाली टिमका प्रत्येक खेलाडीले ५ लाख पाउने



पहिलोपोस्ट

एसियाड प्याराग्लाइडिङमा रजत जित्ने नेपाली टिमका प्रत्येक खेलाडीले ५ लाख पाउने

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८ औँ एसियाडमा पदककको खडेरी तोड्दै नेपाललाई रजत पदक दिलाउन सफल प्याराग्लाइडिङ पुरुष टिमले राष्ट्रिय खेलकुद परिषदबाट नगद ५/५ लाख प्राप्त गर्नेछन्।

एसियन गेम्समा टिम इभेन्टतर्फ रजत जित्नेले नगद ५/५ लाख पाउने राखेपको नियममा उल्लेख छ। व्यक्तिगत विधामा रजत जित्नेले भने १५ लाख पाउनेछन्।

प्याराग्लाइडिङ पुरुष टिम क्रस कन्ट्रीमा नेपालको ५ खेलाडी सम्मितिलत टिमले रजत पदक जितेको थियो।

नेपाली टिममा विमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन्। यस्तै प्रशिक्षकहरुमा योगेश भट्टराई र साबुबाबु सुनुवार छन्। मुख्य प्रशिक्षकले ३ र सहायक प्रशिक्षकले १ लाख ५० हजार पाउने प्रावधान छ।

यस्तै राखेपको नियमअनुसार पदक जित्ने खेलको संघले पनि नगद ६ लाख पाउनेछन्।

नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघ (नेफा) राखेपमा ५९ नम्बरमा दर्ता भएको संस्था हो।

इन्डोनेसियामा रजत पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको नेपाली प्याराग्लाइडिङ टोली यही आइतवार बेलुका नेपाल आइपुग्ने नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ संघका महासचिव तथा टिम म्यानेजर शैलेन्द्र रावतले जानकारी दिए।

रजत जित्ने नेपाली प्याराग्लाइडिङ टोलीलाई भव्य स्वागतसहित सम्मान गरिने भएको छ।

राखेपले ओलम्पिक, एसियन गेम्स र दक्षिण एसियाली खेलकुदमा स्वर्ण, रजत र कास्य जित्ने खेलाडीलाई नगद पुरस्कारबाट सम्मान गर्ने व्यवस्था गरेको छ।

केही समय अघिमात्र राखेपले ओलम्पियनहरुलाई आजिवन मासिक भत्ता प्रदान गर्न सुरु गरिसकेको छ भने एसियन गेम्समा पदक जित्ने र सागमा स्वर्ण जित्नेलाई पनि नगद प्रदान गरिसकेको छ।



 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell