PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

दिल्ली र काठमाडौं सरकार मिलेरमात्र हुँदैन : भारतीय प्रम मोदी



पहिलोपोस्ट

दिल्ली र काठमाडौं सरकार मिलेरमात्र हुँदैन : भारतीय प्रम मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीचको सम्बन्ध जनस्तरमा नहुँदासम्म सफल नहुने बताएका छन्। शुक्रवार पशुपति क्षेत्रमा भारतीय सहयोगमा निर्माण भएको धर्मशालाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
 
हरेक नेपाली र हरेक भारतीय एक अर्कासँग नमिल्दासम्म दुई देशबीचको सम्बन्ध अगाडि बढ्न नसक्ने उनको भनाइ थियो। उनले दिल्ली र काठमाडौंको सरकार मिलेरमात्र दुई देशबीचको सम्बन्ध अगाडि नबढ्ने बताए।
 
उनले जनसम्बन्ध स्थापनामा पशुपतिमा बनेको धर्मशाला कोशेढुंगा सावित हुने बताए।

'यो धर्मशाला खाली एउटा बासबस्ने स्थान मात्र होइन्। यहाँ बास बस्ने सबैले भारत र नेपालको सम्बन्ध आफ्नो मनमा लिएर फर्कने छन्,' उनले भने।

पशुपतिनाथमा दर्शन गर्ने विश्वका हिन्दुहरुलाई सहयोग पुर्‍याउने गरी धर्म निर्माण गर्न पाएको भन्दै खुशी व्यक्त गरे।
 
उनले पशुपतिनाथको पुन: दर्शनको अवसर प्राप्त भएको भन्दै खुसी व्यक्त गरे। आध्यात्मिक दर्शनमा आस्था राख्नेलाई जीवनमा एक पटक पशुपतिनाथ दर्शन गर्ने अभिलासा राख्ने भन्दै पशुपतिनाथको महिमा व्याख्या गरे।
 
काठमाडौं हिन्दु र बौद्ध आस्थाको संगम भएको बताउँदै उनले वाग्मतीको आस्था, अन्नपूर्ण, धौलागिरी र सगरमाथाको महिमा पनि व्याख्या गरे। 

'नेपालको लुम्विनीले विश्वलाई गौतम दियो। भारतको बोधगयाले बुद्ध दियो। सबैको कल्याण दुवै देशको आस्था हो,' उनले भने।
 
भारतीय प्रधानमन्त्री मोदीले अटल बिहारी वाजपेयीको निधनमा प्रधानमन्त्री ओलीले फोन गरी समवेदना व्यक्त गरेको भन्दै दु:खमा नजिकको मित्रले सान्त्वना दिँदा राहत महसुस भएको सुनाए।
 
भारतमा 'सबका साथ सबका विकास' भन्ने नाराले नेपालीलाई पनि समेट्ने बताए। 'सबैको मंगल बनाउनका लागि विश्वासप्रति मित्र भारतको सहयोग यहाँहरुको साथमा रहने छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell