काठमाडौँ : अग्लो कद, गोरो वर्ण, खैरो कपाल। झट्ट हेर्दा जो कोहीले पनि ठान्थे - विदेशी रै’छ। विदेशी झै लाग्ने युवक प्रशन्न खाती। उनीसँग फेसबुकले जोड्यो पूजा (नाम परिवर्तन)लाई।
गोकर्णेश्वर नगरपालिका बस्ने २७ वर्षका प्रशन्न खाती र पूजाको करिब २ वर्षको फेसबुक सम्बन्धपछि भेट भयो।
‘अमेरिकाबाट काठमाडौँ आएपछि’ पूजासँग भेट गरेका थिए उनले। 'अमेरिकाको डिस्कवरी च्यानलको कर्मचारी हुँ तिमीलाई सजिलै अमेरिका लग्छु,' पहिलो भेटमा नै खातीले पूजालाई सुनाएका थिए। लामो समयसम्म भर्चुअल भेट अनि पछि अमेरिका जाने सपना। प्रेम सम्बन्ध झन बलियो भयो। बिहे गर्ने मनस्थिति बन्न समय लागेन।
अमेरिकामा राम्रो जागिर भएका युवकसँग सम्बन्ध राख्न पाउँदा पूजा खुसी नहुने कुरै भएन। प्रशन्नले पूजालाई अमेरिका लैजान प्रयास सुरु गरेपछि झन् खुशी थपियो। धेरैको सपनाको देश अमेरिका, पूजाका लागि रहरको शहर नहुने कुरै थिएन।
'मसँग डलरमात्र रहेकाले साट्न मिलेको छैन,' प्रशन्नले पूजालाई सुनाएका थिए। आफूलाई अमेरिका लैजाने प्रेमीलाई आपत् परेपछि पूजाले उदार भएर सहयोग गरिन्। उनीसँग रहेको २० लाख रुपैयाँ पटकपटक गरेर प्रशन्नको हातमा थमाइन्।
केही समयपछि अनायस प्रशन्न सम्पर्कविहीन भए। पूजाको खुशी दु:खमा परिणत हुन समय नै लागेन। पूजाले आफू ठगिएको बुझिन्। अनि पुगिन्, प्रहरीकहाँ।
‘ब्ल्याक’ डलरको खेलमा प्रशन्न
'ब्ल्याक डलर। कागजलाई केमिकलको सहायतामा डलर बनाउन सकिन्छ। थाइल्यान्डमा केमिकल किन्न पाइन्छ। अनि हामीलाई फाइदै फाइदा।'प्रशन्नले एक युवकलाई सुनाउँदै थिए। डलर तथा पाउन्ड स्टर्लिङको नोटको साइजमा रहेको कागज जस्तो देखिने कालो रङको वस्तु पनि उनको साथमा नै थियो।
थाइल्यान्डमा केमिकल १० देखि १५ लाखसम्म आउने प्रशन्नको दाबी थियो। केमिकल ल्याउन सके करोडौं फाइदा। ती युवकलाई लोभ पलायो। सहजै अपरिचित प्रशन्नको ठगी जालमा परे। उनले आफूसँग भएको पैसा दिए। त्यसपछि उनीसँग पनि सम्पर्कविहीन!
प्रोजेक्टको नाममा पनि ठगी
अर्को युवक प्रशन्नको ठगी जालमा बुन्दै थिए। ‘अमेरिकी दूतावासका उच्चपदस्थ कूटनीतिज्ञसँग मेरो राम्रो सम्बन्ध छ। अमेरिकन एम्बेसी अन्तर्गत रहेको कोषबाट प्रोजेक्ट सञ्चालनको सजिलै रकम निकास गर्न सक्छु।‘कार्टर सेन्टर नेपाल फाउन्डेसन अन्तर्गतको कार्यक्रममा १० लाख डलरको रकम रहेको र रकम आफूले निकासा गर्न सक्ने प्रशन्न दावी गर्थे। उनी मोबाइलबाट एम्बेसीका उच्च अधिकारीलाई फोन समेत गर्थे। एम्बेसीबाट पठाएको मेल समेत देखाउन भ्याउँथे।
प्रशन्नको जालमा एक अर्का युवक फसे। करोडौं रकमको लोभमा प्रोजेक्ट आफ्नो नाममा आउने आशामा ती युवकले २५ लाख रुपैयाँ हातमा थमाइदिए। पैसा पाएपछि प्रशन्नको काम सकियो फेरि भए, सम्पर्कविहीन।
अन्तिम गन्तव्य प्रहरीको हिरासत
प्रशन्नले ठगीका उजुरी प्रहरीकहाँ पुगेपछि उनी फन्दामा परे। ठगी गरेको पैसा लिएर भाग्नै लाग्दा केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले उनलाई नियन्त्रणमा लियो। प्रहरीले उनको शैली देखेपछि सजिलै ठम्यायो - नटवरलाल नै रहेछ। धेरै मानिसलाई धेरै तरिकाले ठगी गरेको भेटिएको व्यूरोका डिआइजी नारायणसिंह खड्काले बताए। ‘समयमा नै उजुरी नआएको भए दुई करोडभन्दा बढी रकम ठगेर विदेश भागिसकेको हुन्थ्यो,’ उनले भने।जिल्ला अदालत काठमाडौंमा खातीविरुद्ध ठगी मुद्दा चलिरहेको छ।