PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

डिजाइनमै डिफेक्ट : सडक विभागले नसच्याउँदा अलपत्र भयो पुल



पी बी खड्का

डिजाइनमै डिफेक्ट : सडक विभागले नसच्याउँदा अलपत्र भयो पुल

सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको (रामघाट) र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने पक्की (ट्रष्ट) पुलको डिजाइन ढिला हुँदा अलपत्र परेको छ। डिजाइन फल्ट भएको डेढ वर्ष बितिसक्दा समेत सडक विभागले रि–डिजाइन गर्न ढिलाइ गर्दा काम अघि सरेको छैन।
 
यस अघि विभागले पास गरेको स्थानमा कमजोर भाग देखिएसँगै सुरुको डिजाइन असफल भएपछि पुनः डिजाइनको काम अघि बढाइएको थियो। २०७३ फागुनमा रि–डिजाइनका लागि सडक डिभिजन कार्यालय सुर्खेतले विभागमा पत्राचार गरेको थियो। तर, विभागले काम भइरहेको भन्दै टार्ने गरेको डिभिजन कार्यालयको भनाई छ।
 
डेढ वर्ष बितिसक्दा पनि डिजाइनको काम अघि नबढ्दा काममा ढिलाइ भएको सडक डिभिजन कार्यालयका प्रमुख बेलबहादुर भुजेलले बताए। ‘हामीले शिलन्यास भएको एक महिनाभित्रै काम अघि बढाएका थियौँ, पुलको एकापट्टि फल्ट भए पछि रि–डिजाइनका लागि हामीले २०७३ फागुनमै विभागलाई पत्राचार गरिसकेको थियौँ,’ उनले भने,‘विभागमा पटक पटक ताकेता गरिरहेका छौँ, विभागले काम भइरहेको छ भन्छ।’

यसअघि दशरथपुर–रामघाट जोड्ने स्टील ट्रष्ट पुलको डिजाइन नेपाल इन्जिनियरिङ ट्रष्टले गरेको थियो। निर्माण जिम्मा पाएको निर्माण कम्पनी आशिष जेभीले काम गर्ने क्रममा दशरथपुर साइटको जमिन कमजोर (बोर्डर मिक्स सोइल) देखिएपछि फेरि पुलको नयाँ डिजाइनका लागि विभागमा पठाइएको थियो। 

‘शुरुमा डिजाइन गर्दा चट्टान छ भनेर डिजाइन भयो र त्यही अनुसार काम अघि बढ्यो,’ डिभिजन कार्यालयका सव–इन्जिनियर रेशम वलीले भने, ‘विभागमा पुलको नयाँ डिजाइन भइरहेको र केही समय पछि डिजाइन पास भए लगत्तै काम अघि बढ्छ।’ पिलरका लागि पुनः डिजाइन गर्न लागेको स्थान पहिले करिब साढे ३ मिटर उचाइ थियो भने अहिले १६ मिटर उचाइमा बन्ने उनले बताए।
 
उनका अनुसार पुलको दशरथपुर साइटमा पुलेको पिल्लर दायाँ वा वाया मात्रै सारेर बाँकी काम सोही स्थानमै हुनेछ।
 
उक्त पक्की पुल निर्माणका लागि २५ करोड ३२ लाख ४२ हजार ७ सय ७ रुपैयाँ लागत रहेको थियो। तर, यता सडक डिभिजन कार्यालय र निर्माण कम्पनीसँग २० करोड ९१ लाख पक्की पुल निर्माण गर्ने सम्झौता भएको थियो। अहिले पुनः गर्न लागिएको डिजाइनले गर्दा पहिलेको स्टिमेट भन्दा लागत बढ्ने जनाइएकोे छ। कुल १५४ मिटर लम्बाइ रहेको स्टिल ट्रष्ट पक्की पुल तीन वर्षमा निर्माण सम्पन्न हुने डिभिजन कार्यालयले जनाएको छ । 

रामघाट–दशरथपुरस्थित भेरी नदीमा निर्माण हुन लागेको यो पक्की पुल २ स्पानको हुने जनाइएको छ। यो पुलको चाडाई ७ दशमलव ५ मिटरको रहने छ। सडक डिभिजन कार्यालय सुर्खेत र आशिष निर्माण सेवा प्रालिसँग २०७३ माघ २० गते पुल निर्माणको लागि ठेक्का सम्झौता भएको थियोे। निर्माण कम्पनीले तीन वर्षमा उक्त पुल निर्माण कार्य सम्पन्न गरेर हस्तान्तरण गर्ने कार्यालयको भनाई छ।

२०७३ पुस महिनामा पूर्व मन्त्रीद्वय रमेश लेखक र पूर्णबहादुर खड्काले संयुक्तरुपमा रामघाट दशरथपुर जोड्ने पुलको शिलान्यास गरेका थिए।

पुल निर्माणभए पछि सुर्खतको पूर्वी क्षेत्रका दशरथपुर, गुमी, कल्याण, रजेना, खानीखोला, नेटा, लेखफर्सा, डाडाखाली, रानीवास, काफलकोट, घोरेटा, आग्रीगाउँ, बजेडीचौर लगायतका स्थानका नागरिकलाई सहज हुने छ।
 
यस क्षेत्रका नागरिक पैदल यात्रा गरेर वीरेन्द्रनगर सदरमुकाम आउनुपर्ने बाध्यता छ। त्यस्तै धुलियाविट भेडावारी सडकमा यातायातका साधन चल्न सुरु भए देखि यस क्षेत्रका नागरिकले उत्पादन गरेका तरकारी लगाएत अन्य वस्तुभाउ यसै सडकबाट अन्यत्रका लागि ओसारपसार गर्दै आएका छन्। निर्माणाधीन पक्की पुल निर्माण सम्पन्न भए नेपालगञ्ज लगायत अन्यत्र जिल्लामा आवतजावत गर्न सहज हुने आम नागरिकको अपेक्षा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell