- महेन्द्र बम -
सुदूर पश्चिमेलीहरुको महान पर्व गौरा शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको हो। गौराको पहिलो दिन शुक्रवार बिरुडा पञ्चमी, घरघरमा बिरुडा भिजाउने गरिन्छ। गहत, गुराउस, केराउ, मास र गहुँ मिसाएर बिरुडा भिजाउने चलन रही आएको छ।
शुक्रवार भिजाएका बिरुडालाई षष्ठिका दिन नजिकका धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन रही आएको छ। सोही अन्तर्गत शनिवार बिरुडा धुनुका साथै विभिन्न धार्मिक तथा प्राचिन महत्वसँग जोडिएका धार्मिक गाथा, गीग, फाग, धमारी चाचरी, देउडा लगायातका गीत/गाथा गाउँनुका साथै भारी खेल खेलेर सुदूरवासी रमाएका छन्।
अमुक्ताभरण सप्तमीको दिन गौरालाई गौरा घरमा भित्र्याउने गरिन्छ। त्यो दिन ब्रतालु महिलाहरुले साँझ गौरा घरमा गौराको पूजा गर्ने चलन रही आएको छ।
सुदूर पश्चिमका पहाडी जिल्लाहरुमा गौराको रौनक अझ बढी हुने गर्दछ। विशेषगरी सुदूरपश्चिम क्षेत्रका सबै जिल्लामा र मध्य पश्चिमका केही पहाडी जिल्लाहरुमा मनाइने यो पर्व डेढ दशक यता तराईका जिल्लाहरूमा पनि मनाइन्छ।
बिरुडा भिजाइसकेपछि गणेश कलश स्थापना गरी आफ्नो कूल देवताको पूजा गर्ने तथा फाग गाएर गौरा पर्व मनाउने गरेको पहाड दार्चुला गोकुलेश्वर घर भइ हाल धनगढी तारानगर बस्दै आएकी जानकी देवी बिष्टले बताइन्।
गौरा पर्वमा ब्रतालु तथा श्रद्धालु महिलाहरूले गौराघरमा शिव र गौरीको पूजा अर्चनामा बिरुडालाई अक्षता र प्रसादका रूपमा प्रयोग गर्ने गर्दछन्। यस पर्वमा शिव र पार्वतीको प्रेम अनि बिवाहको स्मरण गर्दै विधिपूर्वक शिव पार्वतीको पुजा आराधना गरेर महिलाहरूले ब्रत बस्ने गर्दछन्। त्यस्तै पुरुष महिलाहरुले ५ दिनसम्म गौरा महेश्वरको पूजाआजा गरी धमारी, फाग, देउडा जस्ता गीत गाउने र देउडा खेल्ने गर्छन्। सांगीतिक पर्वको रूपमा पनि चिनिने यो पर्व शिव र गौरी अर्थात् गौराको पुजा आराधनाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख र सौभाग्य प्राप्त हुने मान्यता रहेको धनगढीका स्थानीय दीपा मल्लले बताइन्।
गौरा सात नम्बर प्रदेशका ९ ओटै जिल्लामा मनाइने पर्व हो। यसमा धर्म, संस्कृति, प्राचिन गाथा, सामाजिक सदभाव लगायतका पक्षहरु जोडिएकाले यसको विशेष महत्व रहेको गौरामै विद्यावारिधी गरेका डा. टीएन जोशीले बताए। पछिल्लो पुस्तामा यसको सांस्कृतिक महत्व प्रतिको मोहमात्रै बढ्दै गएकाले यसको क्षेत्र समेत संकुचित हुने खतरा बढेको उनको भनाइ छ।
गौरा पर्वको विशेष धार्मिक र संस्कृतिक महत्व छ। प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेको उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन्। सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउने धार्मिक प्रचलन रहेको संस्कृतविद पदमराज जोशीले बताए।
काम विषेशले घरबाहिर गएकाहरु पनि यस पर्वमा घर फर्किँने हुँदा गौरा पर्वलाई आपसी सद्धभाव र एकताको पर्वका रुपमा पनि लिने गरिन्छ। काम विशेषले विदेशीएकाहरु पनि गौराका लागि भनेर घर फर्किनेको लर्को नै लाग्ने गरेको छ। कैलाली, कंचनपुर र दार्चुलाका नाका भएर दैनिक ४ सयको हाराहारीमा कामका लागि भारत गएकाहरु फर्किने गरेको तथ्यांक छ।