काठमाडौं : शनिबार नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्यो। २१ यात्रुसहित विमानले रन वे छाडेपनि ठूल दुर्घटना भने टर्यो। सबै यात्रु सकुशल थिए।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो।
यति एयरलाइन्सको नाइन एन - एएचडब्लु कल साइन भएको विमान नेपालगंजबाट चार्टर्ड भएर आएको थियो। 'सबै यात्रु सकुशल छन्,' विमानस्थलबाट नेपाल प्रहरीका एसएसपी देवबहादुर बोगटीले भने, 'जहाज पन्छाउन सुरक्षा निकाय परिचालन भइसकेको छ।'
दुर्घटनाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान/अवतरण राति साढे ११ बजेसम्म ठप्प छ। दुर्घटनामा परेको विमानको नोज ह्विल भाँचिएको हुनसक्ने बताइएको छ।
सात वर्षअघि यही विमान पोखरा विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको थियो। उडन लाग्दा यो विमानको दायाँ इन्जिनबाट आगो निस्किएको थियो। टेक अफ रोकेर विमानलाई सुरक्षित पार्किङमा राखेका कारण यात्रुहरु र चालक दलका सदस्यहरुलाई केही भएन।
फ्युल पम्पको खराबीका कारण इन्जिनमा आगो लागेको बताइएको थियो। फ्युल पम्प परिवर्तन गरेपछि विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको थियो।
यो ब्रिटिस जेटस्ट्रिम ४१ विमान २३ वर्ष पुरानो हो। यसको पहिलो उडान सन् १९९६ को जनवरी ४ मा भएको थियो। पहिले अमेरिकाको ट्रान्स स्टेट एयरलाइन्सले चलाएको यो विमान यति एयरले २००६ को जुलाईदेखि खरिद गरी चलाउन थालेको हो।
यति एयरले खरिद गर्नुअघि नै सन् १९९६ को नोभेम्बर १६ मा दुई वटा चरा विमानमा ठोक्किँदा दुर्घटनाबाट जोगिएको थियो यो विमान। न्युयोर्कको जेएफके विमानस्थलबाट उडेको विमानमा दुई वटा चरा ठोक्किँदा विन्डसिल्ड र इन्धन राख्ने ट्याङ्कीमा असर परेको थियो। त्यसैगरी क्याप्टेनको फ्लाइट इन्स्ट्रुमेन्ट निस्किएको थियो। ५० हजार घण्टा यो विमान ग्राउन्डेड भएको थियो भने ७८ हजार २८६ डलर खर्च भएको थियो बनाउन।
यद्यपि ११ यात्रु र दुई चालक दलका सदस्य सकुशल थिए।
यति एयरले खरिद गर्नुअघि यो विमानको कल साइन N562HK थियो। यही कलसाइन हुँदा यो विमानमा दुई चरा ठोक्किएको थियो।