PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

यति एयरको विमान चिप्लिँदा काठमाडौँ विमानस्थल तीन घण्टादेखि बन्द, विमानहरु अन्यत्रै डाइभर्ट



वसन्तराज उप्रेती

यति एयरको विमान चिप्लिँदा काठमाडौँ विमानस्थल तीन घण्टादेखि बन्द, विमानहरु अन्यत्रै डाइभर्ट

काठमाडौँ : नेपालगंजबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा धावनमार्ग छोडेर घाँसे मैदानमा पुग्दा तीन घण्टादेखि विमानस्थल बन्द छ। २१ यात्रुसहित विमानले रन वे छाडेपनि ठूल दुर्घटना भने टर्‍यो। सबै यात्रु सकुशल थिए।  

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। विमानले रनवेमा अवरोध भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान/अवतरण यो समाचार तयार पार्दा राति साढे ११ बजेसम्म बन्द छ। विमान तान्ने प्रयास भइरहेको छ। 



यति एयरलाइन्सको नाइन एन - एएचडब्लु कल साइन भएको विमान नेपालगंजबाट चार्टर्ड भएर आएको थियो। 'सबै यात्रु सकुशल छन्,' विमानस्थलबाट नेपाल प्रहरीका एसएसपी देवबहादुर बोगटीले भने, 'जहाज पन्छाउन सुरक्षा निकाय परिचालन भइसकेको छ।'

राति १० बजे अवतरण गर्नुपर्ने क्याथे ड्रागनको हङकङबाट आएको विमान वीरगञ्ज र हेटौडाको आकाशमा होल्ड हुँदै घुमिरहे पनि अवतरण गर्न सक्ने अवस्था नदेखिएपछि दिल्ली डाइभर्ट गर्न सुझाव दिइएको छ। तर क्याथे ड्रागन मध्यरात १२ बजेसम्म पनि नेपाली आकाशमै होल्ड छ।

नेपाल वायुसेवा निगमको एयरबस ३३० दिल्ली फिर्ता पठाइएको छ भने चाइना सदर्न एयरको विमान ढाका डाइभर्ट गरिएको छ। फ्लाई दुबईको विमानलाई लखनउ डाइभर्ट गरिएको छ। 

त्यस्तै काठमाडौँबाट दोहा उड्नु पर्ने हिमालय एयरलाइन्सको उडानसमेत प्रभावित भएको छ।   

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell