PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

हिजो चिप्लिएको यति एयरको जहाज अब उड्न पाउला कि डिस्पोज होला?



वसन्तराज उप्रेती

हिजो चिप्लिएको यति एयरको जहाज अब उड्न पाउला कि डिस्पोज होला?

काठमाडौं : शनिबार दुर्घटनाबाट जोगिएको यति एयरलाइन्सको जेटस्ट्रिम जहाजले तत्काल उडान भर्न नपाउने भएको छ। प्रारम्भिक अध्ययनअनुसार जहाज अवतरण गर्दा चालकको त्रुटि भएको नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतले जानकारी दिएको छ।

प्रारम्भिक अध्ययनले ठूलो वर्षाका कारण चालकले धावनमार्गको यकिन गर्न नसक्दा जहाज छेउपट्टी पुगेको देखाएको स्रोतको दावी छ। स्रोतका अनुसार जहाजको ल्याण्डिङ गियरमा क्षति पुगेको छ। स्पिडमा रहेको जहाज अवतरण हुँदा थचारिएपछि क्षति पुगेको थप भागबारे अध्ययन हुन बाँकी रहेको स्रोतको दावी छ। 

जहाजको सम्पूर्ण भागहरुको एक्स रे अध्ययन हुन बाँकी रहेकाले यो जहाज तत्काल उडान भर्न सकिने/नसकिने यकिन भन्न सक्ने अवस्था नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए। 'जहाजको अगाडिको नोज ह्विल, दुवै इन्जिनको पंखा (रोटर) लगायतका भागमा क्षति पुगेको छ। जहाजको सम्पूर्ण भागको एक्स-रे गरिनेछ,' स्रोतले भन्यो, 'यो जहाजमा धेरै ड्यामेज भएको देखिएमा डिस्पोज गर्नुपर्ने हुन सक्छ।' 

जहाज धावन मार्गबाट करिब १५ मिटर चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। विमानले रनवेमा अवरोध भएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान तथा अवतरण करिब ११ घण्टा अवरुद्ध भएको थियो। 

'यसबारे सरकारले पनि अनुसन्धान टोली बनाउँछ होला, कम्पनीले पनि आफ्नो हिसाबले अध्ययन त गर्ला नै,' प्राधिकरण स्रोतले भन्यो, 'हामीले प्रारम्भिकरुपमा हेर्दा विमानको भित्री भागमा पनि क्षति पुगेको अनुमान गर्न सकिन्छ।' 

सात वर्षअघि यही विमान पोखरा विमानस्थलमा ठूलो दुर्घटनाबाट जोगिएको थियो। उड्न लाग्दा यो विमानको दायाँ इन्जिनबाट आगो निस्किएको थियो। उड्न लागेको विमानलाई रोकेर सुरक्षित पार्किङमा राखेका कारण यात्रुहरु र चालक दलका सदस्यहरुलाई केही भएन। 
त्यतिबेला फ्युल पम्पको खराबीका कारण इन्जिनमा आगो लागेको जनाइएको थियो। फ्युल पम्प परिवर्तन गरेपछि विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको थियो। 

ब्रिटिस जेटस्ट्रिम ४१ विमान २३ वर्ष पुरानो हो। यसको पहिलो उडान सन् १९९६ को जनवरी ४ मा भएको थियो। पहिले अमेरिकाको ट्रान्स स्टेट एयरलाइन्सले चलाएको यो विमान यति एयरले २००६ को जुलाईदेखि खरिद गरी चलाउन थालेको हो। 


यति एयरले खरिद गर्नुअघि नै सन् १९९६ को नोभेम्बर १६ मा दुई वटा चरा विमानमा ठोक्किँदा दुर्घटनाबाट जोगिएको थियो यो विमान। न्युयोर्कको जेएफके विमानस्थलबाट उडेको विमानमा  दुई वटा चरा ठोक्किँदा विन्डसिल्ड र इन्धन राख्ने ट्याङ्कीमा असर परेको थियो। त्यसैगरी क्याप्टेनको फ्लाइट इन्स्ट्रुमेन्ट निस्किएको थियो। ५० हजार घण्टा यो विमान ग्राउन्डेड भएको थियो भने ७८ हजार २८६ डलर खर्च भएको थियो बनाउन। 

पटक/पटक एउटै कम्पनीको विभिन्न जहाज इन्सिडेन्ट हुँदा समेत यो जहाजलार्इ सहजै उडान अनुमति दिइएको छ? यति एयर नेपालका शक्तिशाली व्यापारी आङछिरिङ शेर्पाको कम्पनी हो। उनी प्रधानमन्त्री केपीशर्मा ओली निकट व्यापारी हुन्। उनी शक्तिशाली भएकै कारण पटक/पटक ‘इन्सिडेन्ट’मा पर्दा समेत जहाज उडानको अनुमति मिल्छ।

गत अप्रिलमा कम्पनीको नाइन एन-एजेयु कल साइनको अर्को जेटस्ट्रीम जहाज तीन पटक दुर्घटना हुनबाट जोगिसकेको छ। स्रोतका अनुसार अप्रील १० तारिखमा जहाज ल्याण्डीङका क्रममा ह्विल लक(चक्का जाम) भएको थियो भने जुन पाँच तारिखमा जहाजको इन्डीकेटरमा समस्या आएको थियो। जुन १७ तारिख, आइतबार जहाजको हाइड्रोलिक फेल भएको थियो। 

हिजो यति एयरको विमानका कारण एउटा आन्तरिक र पाँच वडा अन्तर्राष्ट्रय उडान अन्यत्रै डाइभर्ट भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell