PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

नेकपाभित्र विवाद कायमै : म्याद गुज्रियो, तर भएन तल्ला कमिटीको एकता



विधुर ढकाल

नेकपाभित्र विवाद कायमै : म्याद गुज्रियो, तर भएन तल्ला कमिटीको एकता
फाइल फोटो

काठमाडौं: तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा तीन महिनाभित्र सबै तहका कमिटीहरुको एकता गर्ने घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को तल्लो तहको एकता अझै टुंगिन सकेको छैन। 

पार्टी एकता गर्न गठन भएका कतिपय कार्यदलले अझै प्रतिवेदन बुझाउन सकेका छैनन्। प्रदेशका अधिकांश कार्यदलले प्रतिवेदन बुझाए पनि नेतृत्वको विवाद एकता अझै अन्यौलमा छ।
पार्टी सचिवालयले तल्ला तहको एकता भदौ ५ गते गर्ने निर्देशन दिएको थियो। साउन १५ गते सबै कार्यदललाई प्रतिवेदन बुझाएर पाँच गते पार्टी एकता र भदौ १५ गते एकतापछि पहिलो बैठक बस्ने गरी निर्देशन दिइएको थियो। 

यसरी दिइएको समयसीमा कटेर दुई दिन वितेको छ। तर बैठक त परै जाओस एकतासमेत हुन सकेको छैन। 

कार्यदलले बुझाएका प्रतिवेदनमाथि छलफल गर्न बस्ने भनिएको स्थायी समितिको बैठक पनि सर्दै आएको छ। प्रतिवेदनमाथि एकमत नहुँदा बैठक पनि सर्दै आएको छ। नेताहरुले प्राविधिक कारण भन्दै बैठक बस्न नसकेको बताउँदै आएका छन्। 

ने क पाका महासचिव विष्णु पौडेलले स्थायी कमिटीको बैठक नेताहरुको व्यस्तताका कारण बस्न नसकेको बताउँछन्। उनका अनुसार बिम्स्टेक सम्मेलनका कारण प्रधानमन्त्री तथा ने क पाका अध्यक्ष केपी शर्मा ओली तथा अन्य सचिवालयका सदस्य तथा स्थायी कमिटीका सदस्यहरुको व्यस्तताका कारण बैठक बस्न नसकेको हो।
 
पछिल्लो समय प्रदेश तथा जिल्ला कमिटी र जनसङ्गठनको एकीकरण प्रक्रिया जटिल बन्दै गएको छ। 

स्थायी कटिमीटको बैठक भदौ ८ गते बोलाइएको थियो। बिम्स्टेक सम्मेलनलाई देखाउँदै बैठक १९ र २० गतेका लागि बोलाइएको थिया सारिएको थियो। बैठक पुनः सारिएको छ। 
महासचिव पौडेलका अनुसार बैठक २६ र २७ का लागि बोलाइएको छ। यसपटक बैठक नेताहरुको कार्यव्यस्ततालाई देखाएर सारिएको छ। 

नेताहरु बिदेशतिरै व्यस्त


पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल यतिवेला अमेरिकामा छन्। त्यस्तै सचिवालय सदस्य तथा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि शुक्रबार लेवनान गएका छन्। 

अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि भारत भ्रमणको तयारीमा छन्। पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ पनि चीन जाने तयारीमा छन्। त्यसैले पनि बैठक सारिएको बताइएको छ। 

पेचिलो नेतृत्वको विषय

यता ने क पाभित्र तल्ला तहको नेतृत्वको विषय पेचिलो बन्दै गएको छ। कार्यदलले गरेको सिफारिसमा तल्ला तहबाट असहमति जनाउँदै पार्टी केन्द्रलाई दबाब सिर्जना भएको छ। 
अर्घाखाँची जिल्लामा कार्यदलले अध्यक्षमा पिताम्बर भुसाललाई सिफारिस गरे पछि त्यहाँ विवाद चुलिएको छ। हाल पार्टीका सचिव रहेका रामबहादुर चौहानलाई अध्यक्ष बनाउनुपर्ने भन्दै केन्द्रलाई दबाब दिएका छन्। 

प्रदेश पाँचमा पूर्व एमालेभित्रै विवाद चुलिएको छ। यहाँ पूर्व एमालेको संस्थापन पक्ष र माधव नेपाल पक्षबीच विवाद उत्पन्न भए पछि यस विषय थप पेचिलो बनेको छ। माधव नेपाल पक्षले प्रदेश पाँचको कार्यदलले सिफारिस गर्दा पूर्व एमालेले पाएको सात अध्यक्ष र पाँच सचिव मध्ये माधव नेपाल पक्षले कुनै पनि पद नपाएको भन्दै सार्वजनिक रुपमै असन्तुस्टी जाहेर गरेको छ। 

त्यस्तै गण्डकी प्रदेशमा समेत माधव नेपाल पक्षलाई अध्यक्षमा सिफारिस नगरिएको भन्दै विरोध भइरहेको छ। 

त्यस्तै नेपाल समूहले प्रदेशको अध्यक्षमा समेत भाग खोजेको छ। प्रदेश नेतृत्वको भागवण्डा गर्दा पूर्व एमालेले पाउने चार मध्ये दुई प्रदेशमा नेपाल पक्षले अध्यक्ष पाउनुपर्ने दाबी गर्दै आएको छ। स्रोतका अनुसार नेपाल पक्षले प्रदेश १ र प्रदेश ३ मा अध्यक्ष दाबी गरेको छ। 

नेपाल समूहले  नेतृत्व विवाद समाधान गर्न नेतृत्वको लागि मापदण्ड बनाउन समेत माग गरेको छ। 

ने क पाले यसअघि ‘एक व्यक्ति एक पद’ को नीति लिँदैसरकार र संसद्को भूमिकामा रहेकालाई पार्टी कमिटीमा कार्यकारी पद नदिने गरी सहमति गरेको थियो। त्यसलाई संस्थापन पक्षले उल्लंघन गरेको नेपाल पक्षको आरोप छ। 

यता तल्लो तहको एकता गर्दा पनि महिलालाई पाखा लगाइएको भन्दै ने क पाभित्र महिला नेतृहरुले विरोध जनाएका छन्।
 
पार्टी एकता गर्दा सचिवालमा महिलालाई स्थान नदिएको, स्थायी कमिटीमा र केन्द्रीय कमिटीमा समेत महिलाको संख्या ३३ प्रतिशन नभएको भन्दै विरोध जनाउँदै आएका महिला नेतृहरुले तल्ला तहको एकता गर्दासमेत महिलालाई पाखा लगाउन खोजेको आरोप लगाएका छन्। 

तल्ला तहको एकताका लागि गठन भएका कार्यदलले पेश गरेको प्रतिवेदनमा महिला नेतृत्व नपरेको आरोप उनीहरुको छ। सात प्रदेशका अध्यक्ष र सचिवमा महिला नपरेको तथा ७७ जिल्लाका अध्यक्ष र सचिवमा पनि महिलालाई स्थान नदिइएको भन्दै महिला नेतृहरुले असन्तुष्टि जनाएका छन्। 

यी विवादका कारण ने क पाको स्थायी कमिटीको बैठक सरिरहेको छ भने पार्टीका तल्ला तहको एकतासमेत पर धकेलिँदै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell