
काठमाडौँ : मलेसियामा भइरहेको एसिया कप छनोट प्रतियोगितामा १२ खेल सकिसकेको छ। अब फाइनलसहित ४ खेल मात्र बाँकी छ। तर कुनै पनि टिमले फाइनलमा स्थान सुरक्षित गरिसकेका छैनन्।
छनोट प्रतियोगिता सुरु हुनुअघि युएई, नेपाल र हङकङलाई उपाधिको मुख्य दाबेदार मानिएको थियो। तर अप्रत्यासित रुपमा ओमान फाइनल नजिक पुगेको छ।
आइतवार भएको चौथो चरणको ओमान र हङकङबीचको खेल वर्षाका कारण रद्ध भएपछि ओमान ४ खेलबाट ७ अंकका साथ शीर्ष स्थानमा छ। ओमानलाई अब फाइनल पुग्न १ अंक आवश्यक छ।
यस्तै ४ खेलबाट ६ अंक जोडेको युएई दोस्रो तथा ५ अंकहसित हङकङ तेस्रो स्थानमा छ। उपाधि जित्ने लक्ष्यसहित मलेसिया पुगेको नेपाल ४ अंकका साथ चौथो स्थानमा छ।
आयोजक मलेसिया र सिंगापुर भने फाइनलको होडबाट बाहिरिसकेको छ।
अब राउण्ड रोविन लिगको ३ खेल मात्र बाँकी छ र यस्तोमा फाइन पुग्ने होडमा शीर्ष चार स्थानको टोली छन्।
अन्तिम चरणमा ओमानले युएई तथा नेपालले हङकङसँग खेल्नेछ।
यी खेलमा ओमान र हङकङ विजयी भए दुवै टोली फाइनल पुग्नेछन्। युएईले पनि ओमान विरुद्ध जित हात पारे फाइनलमा स्थान बनाउनेछ।
युएई र हङकङ विजयी भएमा भने युएई फाइनल पुग्नेछ र हङकङ र ओमानबीच राम्रो रनरेट हुने टोली फाइनल पुग्नेछ।
नेपालको हकमा भने फाइनल पुग्ने सम्भावना कठिन बनेको छ।
नेपालले फाइनलमा स्थान बनाउने अन्तिम खेलमा ओमानले युएईलाई फराकिलो रनअन्तरले पराजित गर्नुपर्नेछ भने नेपालले पनि हङकङमाथि फराकिलो जित हात पार्नुपर्नेछ। अहिले युएईको रनरेट १.५८३ छ भने नेपालको रनरेट ०.१७६ छ।
आइतवार भएको खेलमा युएईले मलेसियालाई ८ ओभरमै पराजित गरेपछि युएईको रनरेट १ भन्दा माथि पुगेको हो। त्यसले गर्दा नेपाललाई फराकिलो जितको आवश्यकता छ नै ओमानले पनि युएईलाई हराउनैपर्नेछ।
अहिलेसम्म खेलेका ४ मध्ये युएईले ३ खेल जितेको थियो भने हङकङसँग पराजित भएको थियो। यस्तै अपराजित एक्लो टिमको रुपमा रहेको ओमानले ३ खेल जितेको थियो भने १ खेलमा अंक बाँड्यो। उता पहिलो खेलमा मलेसियासँग अप्रत्यासित हार बेहवरेको हङकङले त्यसयता युएई र सिंगापुरलाई सजिलै हरायो भने ओमानसँग अंक बाँड्यो।
पहिलो खेलमै ओमानसँग पराजित भएको नेपालले युएईसँग पनि पराजय भोग्यो। त्यसपछि लगातार दुई खेल जित्दै ४ अंक जोडेको नेपालले पनि फाइनल पुग्ने आशा कायमै राखेको छ। अहिलेसम्म नेपालले राम्रो ब्याटिङ गर्न सकेको छैन। अब अन्तिम खेलमा राम्रो ब्याटिङ गर्दै हङकङलाई पराजित गर्ने चुनौती नेपालसामु छ।