PahiloPost

Jan 8, 2025 | २४ पुष २०८१

कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुँदै, प्रथम हुने नाटकलाई डेढ लाख पुरस्कार



पी बी खड्का

कर्णालीमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुँदै, प्रथम हुने नाटकलाई डेढ लाख पुरस्कार

सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक राष्ट्रियस्तरको नाटक महोत्सव हुने भएको छ। सांस्कृतिक संस्थान काठमाडौंको मूख्य आयोजना एवं आरंग नेपालको संयोजन र स्थानिय  कला साहित्य तथा सांस्कृतिक संस्थाहरुसंगको सहकार्य, प्रदेश तथा स्थानीय सरकारहरुको संरक्षकत्वमा यही २०७५ मंसिर पहिलो सातामा प्रतियोगितात्मक राष्ट्रिय नाटक महोत्सवको आयोजना गर्न लागिएको आरंग नेपालका अध्यक्ष तथा महोत्सव सञ्चालन मुल समितिका संयोजक गणेशभक्त गौतमले जानकारी दिए।

वि.सं.१९९० तिरबाट जुरमुराएको सुर्खेती रंगमञ्चले करिव एक शताव्दीको अन्तरालमा राष्ट्रिय स्तरको नाटक महोत्सव गर्न लागेको संयोजक गौतम बताउँछन्। ‘वि.स१९९० सालमा जुर्मुराएको सुर्खेती रंगमञ्चले झण्डै एक शताव्दीमा राष्ट्रिय स्तरको नाटक महोत्सव गर्न लागेका छौँ।’ उनले भने,‘यस अघि पनि मध्यपश्चिम र सुदुर पश्चि स्तरिय नाटक प्रतियोगिता भएको थियो, तर यो राष्ट्रिय स्तरको पहिलो पटक हो।’

स्थानीय स्तरमा नाटक प्रदर्शनमात्र नभएर प्रतियोगितादेखि लिएर वि.सं.२०५४ सालमा सांस्कृतिक संस्थानको आयोजना र बागीना समूहको व्यवस्थापनमा मध्य तथा सुदुरपश्चिम स्तरीय नाटक प्रतियोगिता समेत सञ्चालन गरेको अनुभव संयोजक गौतमले सुनाए। 

कर्णालीको विकास, समृद्धि संगसंगै कला र संस्कृतिको पनि संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले राष्ट्रिय नाटक महोत्सवको आयोजना गर्न लागिएको उनको भनाई छ। विशेषगरी कर्णालीको लोकनाटक, लोक संस्कृतिको देशभरी र विदेशमासमेत प्रचार गरी भूमण्डलीकरण भइ यँहाको पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने संयोजक गौतमले बताए।
 
देशभर छरिएर रहेका रंगकर्मीहरु कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एकत्रित गर्ने र एकै थलोमा मुलुकभरका विभिन्न खालका लोकनाटक, आधुनिक नाटक प्रदर्शन गरी कलाको प्रवुर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।  महोत्सवले विशेष गरी युवा र किशोर वर्ग मौलिक नाटक, कला र संस्कृति प्रति मोह बढाउने विश्वास गरिएको छ। 

महोत्सव खर्च ५८ लाख 

नाटक महोत्सव आयोजना गर्न करिव ५८ लाख लाग्ने अनुमान गरिएको अध्यक्ष गौतमले जानकारी दिए। जसमा कार्यक्रममा सहभागीको लागि खर्च, रंगमञ्च तयारी खर्च, पुरस्कार, वर्कसप सञ्चालन खर्च लगाएत झाँकी र र्‍यालीको खर्च व्यवस्थापनमा ५४ लाख ४८ हजार लाग्ने अनुमान गरिएको छ। 

त्यस्तै, महोत्सवमा चित्रकला मूर्तिकला प्रदर्शनी समेत गरिने भएको छ। जसको व्यवस्थापनका लागि तीन लाख २० हजार लाग्ने अनुमान छ।
 

टिकटबाट साढे ६ लाख आम्दानी 

करिव ५ दिन सञ्चालन हुने महोत्सव करिव ६ लाख ३० हजार आम्दानी हुने अपेक्षा गरिएको छ। दिनमा दुई वटा नाटक प्रदर्शन हुने महोत्सवमा टिकट दुई सय र ५ सयको दर तय गरिएको छ।  

यसरी जुटाउँदै महोत्सव लगानी

महोत्सवका लागि प्रदेश सरकार र स्थानीय सरकारलगाएत विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले सहयोग गर्ने भएका छन्। आयोजकका अनुसार सांस्कृतिक संस्थान मार्फत नेपाल सरकारको अनुदान २० लाख, सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १५ लाख, वीरेन्द्रनगर नगरपालिकाले ५ लाख, अन्य पालिकाहरु बाट ८ लाख, मध्यपश्चिम विश्वविद्यालयले ३ लाख सहयोग गर्ने जनाईएको छ। त्यस्तै, उद्योग व्यापार संघ, प्याव्सन, एन प्याव्सन लगाएतले सहयोग गर्ने छ। 

पहिलो हुने नाटकलाई डेढ लाख  

महोत्सवमा सञ्चालन हुने प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने नाट्य समुहले एक लाख ५० हजार पुरुस्कार पाउने छ। त्यस्तै, दोस्रो स्थान प्राप्त गर्नेले एक लाख रुपैँया पाउने छ भने, तेस्रो स्थान प्राप्त गर्नेले ५० हजार रुपैँया पाउने छ। उत्कृष्ट नाटक निर्देशक, उत्कृष्ठ नायक र उत्कृष्ट नायिकाले जनही ५०/५० हजार पाउने आयोजकले जनाएको छ।

सहभागिताका लागि आह्वान

महोत्सवमा सहभागिताका लागि सातवटै प्रदेशका रंगकर्मीहरुले सहभागिता जनाउन सक्ने छन्। आयोजकले देशव्यापी नाट्य संस्थाहरुबाट खुलारुपमा दरखास्त आव्हानसमेत गरेको छ। सहभागी हुन चाहने नाट्य संस्थाले नाटकको स्क्रीप्ट र श्रव्यर्दश्य नमूना विद्युतीय माध्यमबाट पठाउनुपर्ने छ। संकलन भएका मध्यबाट प्रत्येक प्रदेशबाट नछुट्ने गरी एउटा नाटक छनौट गरिने भएको छ। 

व्यवस्थापन गर्न विभिन्न समिति 

आउँदो २०७५ मंसीर पहिलो साता हुन लागेको राष्ट्रिय नाटक महोत्सवलाई सफल बनाउन लागि विभिन्न समिति समेत गठन गरिएको छ। नाटक महोत्सवको मुल संयोजकमा गणेशभक्त गौतम रहेका छन् भने, सल्लाहकार समिति संयोजकमा प्रेमदेव गिरी रहेका छन्।  रंङ्गमञ्च व्यवस्थापनमा यामनारायण आचार्य, स्क्रिप्ट छनौट तथा समन्वयमा प्रकाश पौडेल, आर्थिक समितिमा ललित भट्टराई, प्रचार प्रसारमा भानुभक्त अधिकारी, कार्यशाला गोष्ठीमा केशव ढकाल, दर्शक व्यवस्थापनमा उत्तम शर्माले गर्ने छन्।

त्यस्तै, अतिथि सत्कारमा माया थापा, यातायात तथा आवासमा अकबर खान, सचिवालय व्यवस्थापनमा अशोककुमार सिंह, प्राविधिकमा दिपक नेपाली, झाँकी व्यवस्थापनमा खड्गबहादुर चन्द, अभिलेखिकरणमा सुरेन्द्र गिरी, भेषभुषा श्रृंगारमा सविता कोइराला, प्रायोजन व्यवस्थापकमा विशाल ढकाल, पुरस्कार तथा सम्मानमा खुमलाल न्यौपाने र सामाग्री उत्पादनमा तिलक पौडेल रहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell